‘लोकतान्त्रिक फोरमका नेता भण्डारीको बिरोध’

काठमाडौं, १४ वैशाख । नवलपरासी जिल्लाको गैडाकोट–१ मा निर्माण गरिएको ‘मौलाकालिका हेलिप्याड’को उदघाटन गर्ने बिषयलाई लिएर पूर्व रक्षामन्त्री तथा फोरम लोकतान्त्रिकका नेता शरतसिंह भण्डारीको चर्को बिरोध भएको छ ।
मुलुक टुक्राउने अभिब्यक्तिका कारण आलोचित बनेका फोरम लोकतान्त्रिकका नेता भण्डारीको स्थानीय राजनीतिक दल र बिभिन्न क्षेत्रका अगुवाले आज संयुक्त विज्ञप्ती जारी गरेर बिरोध जनाएको हुन् । भण्डारीले मधेशका २२ जिल्ला टुक्राउने अभिब्यक्ति दिएपछि रक्षामन्त्रीको जिम्मेवारीबाट हटाईएको थियो ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले लुम्बिनी भ्रमण बर्षका अबसरमा आउने शनिबार मौलाकालिका हेलिप्याडको उद्घाटन गर्ने तयारी गरेको छ । हेलिप्याड निर्माणमा फोरम लोकतान्त्रिकका नेता भण्डारीले केही नगद सहयोग गरेका छन् । सोही आधारमा हेलिप्याड उद्घाटन गर्न दिने समितिले तयारी गरेपछि स्थानीय राजनीतिक दलहरुले बिरोध गरेका हुन् ।
एकीकृत माओवादी, कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चा, राप्रापा नेपाल, नेपाल जनमुक्ति पार्टी र नेपाल आदिवासी जनजाति महासंघले संयुक्त विज्ञप्ती जारी गरेर बिवादास्पद व्यक्तिलाई हेलिप्याडको उद्घाटन गर्न नदिने समितिसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया