क्लब छाड्ने म्याराडोनाको चेतावनी


दुबई, १४ वैशाख । डिएगो म्याराडोनाले यस सिजनपछि युएई क्लब अल वासल छाड्न सक्ने चेतावनी दिएका छन् । राम्रा खेलाडी भित्र्याए मात्र आफू बस्न सक्ने उनको सर्त छ । वासलका प्रमुख कार्यकारी अधिकृतसँग आगामी हप्ता हुने भेटघाटमा आफूले राम्रा खेलाडी भित्र्याउँदै क्लबलाई बलियो बनाउन धेरै पैसा माग्ने म्याराडोनाले बताए ।
गत वर्षको मेमा दुई वर्षका लागि म्याराडोना खाडी क्लब वासलसँग आबद्ध थिए । यी अर्जेन्टिनी फुटबल ‘लिजेन्ड’ले आफ्ना लागि क्लबसँग थप केही नमागेको तर क्लबले सर्त पालना नगरेको उनको आरोप छ । आफ्नो रोजाइका ६ खेलाडी भित्र्याउन दिने क्लबले गरेको सम्झौता पालना नभएकामा म्याराडोना दु:खी छन् ।
वासलले यो सिजनमा एउटा पनि उपाधि जितेको छैन र आगामी संस्करणको एसियन च्याम्पियन्स लिगमा पनि छनोट नहुने सम्भावना छ । ‘क्लबले मेरा केही माग पूरा गर्छ कि गर्दैन,त्यो पहिला हेर्छु ।’ उनले भने,‘यदि गरेन भने आपसी समझदारीमा म बिदा लिने छु ।’ ठट्यौली पारामा उनले यदि त्यसो भए आफू पर्यटकका रूपमा पुन: दुबई आउने बताए ।
म्याराडोनाले यसरी चेतावनी दिएको यो पहिलो पटक भने होइन । राम्रा खेलाडी नलिएको भन्दै उनले वासलसँग असन्तोष व्यक्त गर्दै आइरहेका छन् । उनले गत फेब्रुअरीमा पनि यस्तै चेतावनी दिएका थिए तर क्लबका प्रमुखसँग कुराकानी गरेपछि बस्न राजी भएका थिए ।‘यदि मेरो क्लब प्रतिस्पर्धीहीन भयो भने म यहाँ रहनाको अर्थ छैन ।’ उनको भनाइ छ ।
क्लबले खेलाडीमाथि पैसा खर्चनाको विकल्प नभएको म्याराडोनाको बुझाइ छ ।‘यदि खेलाडी धेरै महँगा भए अथवा क्लबसँग बजेट अभाव भयो भने त्यसमा म सम्झौता गर्दिन ।’ उनले भने,‘क्लबहरू खेलाडीमाथि लगानी गर्न सक्षम हुनुपर्छ । खेलाडीका आवश्यकता पूरा हुनुपर्छ ।’
म्याराडोनाले सन् २०१० को विश्वकपमा अर्जेन्टिनालाई प्रशिक्षण गरेका थिए तर यस प्रतियोगितामा टोलीले अपेक्षित नतिजा हात पार्न नसकेपछि उनलाई लगत्तै बर्खास्त गरिएको थियो ।
म्याराडोनालाई आबद्ध गरेसँगै वासल व्यवस्थापनले टोलीले लिग जित्ने विश्वास लिएको थियो तर त्यो पूरा हुन सकेन । क्लबको असफलतामा म्याराडोनाले व्यवस्थापनसँग असन्तुष्टि राख्दै आएका छन् । दुबईमा निकै धनी मानिएको वासलले सन् २००७ पछि एउटा पनि उपाधि जित्न सकेको छैन । दुबई शासकका भाइ शेख अहमद बिन रसिद अल मक्तोमको स्वामित्वमा रहेको वासलमा इरानका मोहम्मद रजा खलातबेरी र उज्वेकिस्तानका जुवान ओलिभेरासहित केही विदेशी खेलाडीको पनि उपस्थिति छ ।

प्रतिक्रिया