सिर्जनाको अझ्गालोमा बेरिएका प्रशासक

‘नेपालीहरू देशका लागि कहिल्यै रोएनन्, नत्र देश धेरै अगाडि पुगिसक्थ्यो’, केही वर्षअगाडि नेपाल आएका एक १४ वर्षे कोरियाली विद्यार्थीले यस्तो टिप्पणी गरेछन् । यो टिप्पणी बहुत घत लागेको छ, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव दिनेश अधिकारीलाई । ‘वास्तवमै सही लाग्छ यो टिप्पणी’, २०१६ साल मंसिर २२ गते काठमाडौं, बानेश्वरमा जन्मिएका अधिकारीले सुनाए, ‘देशका लागि हामी रोएका भए, देश यहाँ हुन्थेन ।’
०३८ देखि नायब सुब्बाको हैसियतले स्थायी रूपमा सरकारी सेवा प्रवेश गरेका अधिकारी देश बनाउन कोही एक्लै लागिरहनुपर्ने देख्दैनन्, एक्लो प्रयास सार्थक होलाजस्तो पनि लाग्दैन । भने, ‘म बनाउँछु भनेर कोही छुट्टै गरी देश निर्माणमा लाग्छ भने ऊ मूर्ख हो, ढोंगी हो । हामी जहाँ छौँ त्यहीँनेर इमानदार भएर जिम्मेवारी पूरा गर्ने हो भने देश आफैँ बन्छ ।’
नन्दनहरि अधिकारी र शारदादेवी अधिकारीका सन्तान दिनेश जिम्मेवार सरकारी पदाधिकारी मात्र होइनन्, अर्को त्योभन्दा उज्यालो अनि अमर पाटो छ– स्थापित साहित्यकारको । बुबाले ओखलढुंगाको पुख्र्यौली घरजम सर्लाहीको हरिवन सारेपछि अधिकारीको बाल्यकाल कहिले यता, कहिले उता गर्दै बित्यो । उनले सर्लाहीकै पाटीमा सञ्चालित धुम्रबराह प्राविमा अक्षरारम्भ गरे । हरिवनको चतुर्भुजेश्वर माविबाट प्रवेशिका पास गरे । बीचमा एक वर्ष पढाइ गोलमाल भएछ । ०३४ सालमा नेपाल ल क्याम्पसमा आइएल भर्ना भएका अधिकारीले ०३९ सालमा बिएल सक्काए । पछि एमए पनि गरे ।
पढ्दापढ्दैको उमेरमा उनको जीवनले धेरै रङ देखिसकेको थियो । कति रङहरूले उनलाई राम्रैसँग आकर्षण गरे । ०३६ सालमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलिभुट्टोको हत्याको निहुँमा उनी पढ्ने ‘ल’ क्याम्पसबाट सल्किएको आन्दोलनको एउटा राँको अधिकारीले पनि समातेका थिए ।
एसएलसी दिएर राजधानी आउँदा दाजु धु्रव अधिकारीबाट प्रेरित भई उनले हुलाकबाट पठाएको कविता ०३२ सालमा ‘रत्नश्री’ मा प्रकाशित भइसकेको थियो । ०३५/३६ तिर ‘युवा साहित्य समाज’ गठन गरेर अधिकारी ‘पूर्वाद्र्ध’ गोजी पत्रिका निकाल्न सक्रिय भइसकेका थिए रे † ‘त्यही समाजको सक्रियता र दिनेश सत्याल ‘सौरभ’ को विशेष सहयोगमा मैले ०३७ मा ‘अन्तरका छिटाहरू’ कवितासंग्रह नै प्रकाशित गरेँ,’ उनले भने ।
त्यसको एक वर्षपछि त जागिरे नै भइसकेका थिए । अहिले देखिने सचिवको हैसियतसम्म आइपुग्न लामो कालखण्ड र ‘पदीय यात्रा’ गरेका छन् अधिकारीले । नायब सुब्बामा जागिर खाएको तीन वर्षपछि ०४१ मा अधिकृत भए । त्यसै साल उषा आचार्यसँग विवाह गरे, अहिले एक छोरी र एक छोरा छन् ।  त्यसको ६ वर्षपछि ०४९ मा उपसचिव अनि ०५४ मा सह–सचिव हुँदै त्यसको १२ वर्षपछि मात्रै सचिव भएका हुन् । जागिर प्रवेश गरेपछि उनले ०४१ देखि ०६१ सम्म २० वर्ष पूरै प्रशासन क्षेत्रमै केन्द्रित रहे । ‘त्यो क्रममा धेरै जिल्ला घुमेँ,’ उनले भने, ‘त्यहाँको जीवन, समाज र समयले मलाई गीत र साहित्य लेख्न मलजल गर्‍यो ।’  सचिव अधिकारी जागिरका सिलसिलामा सुदूरपश्चिमको बैतडीदेखि बारा, धनुषा, हेटौँडा, नेपालगन्जलगायतका ठाउँमा पुग्दा त्यहाँको वातावरणले उनको साहित्यिक मनलाई थप सिर्जनशील बनायो । सिर्जनाक्षमता थप उर्वर हुन पुग्यो । हालसम्मको ३१ वर्षे जागिरे जीवनमा उनले जिल्ला अदालत, पुनरावेदन अदालत अनि महान्यायाधिवक्ताको कार्यालयमा सहन्यायाधिवक्ता भएरसमेत सेवा गरे । ६ वर्ष त सहसचिवको हैसियतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै बित्यो ।
जीवनका मोड पनि गजबकै हुँदा रहेछन् । त्यस्तै मोडहरूमा जन्मने लहडैलहडले अधिकारीलाई गीतकार तथा कवि दिनेश अधिकारी बनाएका रहेछन् । त्यो पनि सामाजिक सरोकारप्रधान गीतका रचनाकार । एक दिन क्याम्पसमा ‘म पनि गीत लेख्छु नि †’ भनेर कलेजका साथी सुरेन्द्र रानालाई लगाएको फुर्तीले नै उनलाई गीतकार बनाइदियो । त्यसो त लेखाइपढाइकै माहोलमा हुर्किएका अधिकारी कविता पहिलादेखि नै लेख्थे रे † सुरेन्द्रले अधिकारीका दुईवटा गीत लगेर संगीतकार राम थापालाई दिएछन् । केही दिनपछि ०३९ को साउनमा तीमध्येको ‘निश्वास ए चाँडै थाकी नजा, मेरो आफ्नो भन्नु…’ बोलको गीत त सर्वोत्कृष्ट भएछ । अधिकारीले त्यो पल सम्झिए, ‘राम थापाले त संगीत भरेर मीरा राणालाई गाउन लगाउनुभएछ, म त सर्वाेत्कृष्ट गीतकार पो घोषित भएँ ।’ त्यति बेला रेकिर्डिङ रेडियो नेपालमा मात्रै हुन्थ्यो, पछि त्यो गीत पनि उसैले रेकर्ड गर्‍यो । उनको अर्को गीत ‘तिमी त्यसै लजायौ, म उसै धकाएँ..’ले पनि श्रोताको मन जितेछ ।
जागिरे जीवनमा शिविर व्यवस्थापन समन्वयकर्ताको कार्यालय, प्रशासन पुन:संरचना आयोग, नेपाल ट्रस्ट, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, संघीय मामिला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय हुँदै हाल भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा कार्यरत सचिव अधिकारीले कविता, गीत र एल्बम प्रकाशनको यात्रा पनि धेरै पर पुर्‍याइसकेका छन् । धर्तीको गीत, आदिम आवाज कवितासंग्रह, अविराम यात्रा, इन्द्रजात्रा काव्य, आफ्नै मन आफ्नै आँगन, मन मोडहरूलगायत उनका झन्डै एक दर्जन कृति बजारमा छन् । अधिकारीले भने, ‘एक दर्जन एल्बमहरू पुगे होलान् ।’ उनका लिपि, सुन्ने कविता (एकल कविता वाचनको सिडी) रचना, अनुभूति, यात्रा, बोलबोल पाखाहरू, बिरानो मन, शब्द, सुखदु:ख आदि एल्बम श्रोतामाझ छन् ।
रत्नश्रीमा छापिएको कविताका कारण तत्कालीन अञ्चलाधीश सुन्दरप्रसाद शाहले स्पष्टीकरण मागेछन् उनीसँग । ०४३ मा ‘राष्ट्रपुकार’मा दिएको अन्तर्वार्ताका कारण पनि केही अप्ठ्यारो झेल्नुपरेछ । तर, सिर्जनाको यो क्षेत्रले उनलाई कहिल्यै बिर्सन नसक्ने याद, माया, स्नेह अनि आनन्द प्रदान गरेको छ । ‘मैले कहिल्यै  जागिरे मानसिकतामा रचना गरिनँ । न त रचनात्मक गोष्ठीमा त्यो हैसियत देखाएँ,’ उनले भने, ‘मैले जागिरे धर्म, कर्तव्य र जिम्मेवारी उत्तिकै पालना गरेको छु ।’
शान्ति र संविधान नबनी सुखै नदेख्ने सचिव अधिकारी भन्छन्, ‘यसको विकल्प नै छैन । ढिलो–चाँडोको कुरा बेग्लै हो ।’ नेता मात्रै होइन, खराब कर्मचारी पनि भएकाले देश बन्न ढिला भएको घुमाउरो जवाफ दिने अधिकारी जागिरमा भोगे/परेका अप्ठ्याराहरूलाई रचनाको आधार बनाउन सजिलो भएको अनुभूति सुनाउँछन् । जागिरे जीवनले देशका झन्डै ६० जिल्ला र १५ देश भ्रमण गरेका उनले गीत रेकर्ड नहुँदै ‘उत्कृष्ट गीतकार’को सम्मान मात्रै पाएनन्, हालसम्म रत्नश्री स्वर्ण पदक, व्यथित काव्य पुरस्कार, २०५६ को मदन पुरस्कार, छिन्नलता, युगकवि सिद्धिचरण पुरस्कार, मानश्री पुरस्कारलगायत एक दर्जन सम्मान, पदक र पुरस्कार थापिसकेका छन् ।
वर्तमान अवस्थामा कर्मचारी उथलपुथल गर्ने र राजनीतिक दबाब अनि प्रभावमा मुलुक सञ्चालन भइरहेको विषयलाई राम्ररी बुझे/भोगेका अधिकारी यसप्रतिको असन्तुष्टिलाई यस्तो दृष्टान्तमार्फत व्यक्त गर्छन्, ‘चीनमा कसैले कसैलाई सराप्नुपर्‍यो भने ‘तैँले संक्रमणकालमा बाँच्नुपरोस्’ भन्छन् । हामी त्यही कालमा गुज्रिरहेका छौँ । यसलाई अहिले यही सन्दर्भमा हेर्‍यो भने न्याय होला कि ?’ सचिव अधिकारी यो सराप नटुंगिएसम्म सुखै नभएको दाबी गर्छन् ।
आफूलाई चिनाउनुपर्दा कर्तव्यले ‘सरकारको सचिव, राष्ट्रको सेवक’ अनि इच्छा, चाहना र साधनाका दृष्टिले एउटा सर्जक भन्न रुचाउँछन् । जाँदाजाँदै उनले  भने, ‘कर्तव्यको बोध गरेर एकपटक सबैले सोच्ने हो भने मुलुकको कायापटल हुन अहोरात्र खट्नै पर्दैन ।’

प्रतिक्रिया