मन्दिरको जग्गामा कम्युन

नेपालगन्ज, १४ वैशाख । एकीकृत नेकपा माओवादीले रुकुमको प्रसिद्ध धार्मिकस्थल डिग्रे शाइकुमारी मन्दिरको गुठीको जग्गा बेचको छ । द्वन्द्वकालमा स्थानीय जनसत्ताले कब्जा गरेको मन्दिर गुठीको जग्गा किनबेचपछि बाँकी जग्गामा पार्टीले अहिले पनि कम्युन सञ्चालन गरिरहेको छ ।
स्यालापाखा–५ र ६ मा रहेको २७ रोपनी जग्गा माओवादीले कब्जा गरेको हो । कब्जा गरिएको जग्गामध्ये केही जग्गा स्थानीय सर्वजीत पुनलाई बेचिएको छ । ‘०६० मा माओवादी जनसरकारबाटै जग्गा पास गरेको हुँ,’ पुनले भने, ७० हजार रुपियाँ माओवादीलाई दिएपछि पक्की घर बनाएको छु र बाँकी खेतका रुपमा भोगचलन गरिरहेको छु ।’
मन्दिरको जग्गा गैरकानुनीरुपमा बिक्री गरिएका बारे  माओवादी रुकुमले प्रतिक्रिया दिन मानेन । सदरमुकामबाट १२ किलो मिटर उत्तरमा रहेको जग्गामा जनहित प्राथमिक विद्यालय स्थापना गरी कक्षा पाँचसम्म पढाइ हुँदै आएको स्थानीय प्रेमध्वज पुनले बताए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष द्रोणबहादुर खत्रीले माओवादीले कब्जा गरेको जग्गामा कम्युन सञ्चालनसँगै सहिद परिवारलाई प्रयोग गर्न दिएको बताए । ‘पटक पटक मन्दिरको जग्गा फिर्ता गर्न आग्रह गर्‍यौँ,’ अध्यक्ष खत्रीले भने, ‘माओवादीले हुन्छ भने तर फर्काएनन् ।’ ।
मन्दिरको जग्गा माओवादीको प्वाङ छिपखोलास्थित कम्युनको प्रमुख आम्दानी भएको छ । जग्गामा माओवादी कार्यकर्ताले गहुँ र आलु खेती गरेका छन । गुठीको जग्गामा धानगाएतका अन्नबाली पनि उत्पादन हुन्छ भने मन्दिरको जग्गामा सात सय सुन्तलाका बोट पनि छन् । जग्गामा तीन सय मुरी धान उत्पादन भइरहेको छ र त्यो माओवादीकै आम्दानी भएको छ । मन्दिरको जग्गामा कम्युन परिवार र १३ सहिद परिवार अस्थायी रुपमा बसोबास गरिरहेका छन् । द्वन्द्वकालमा कब्जा गरिएका अरु सम्पत्ति फिर्ता गरिए पनि मन्दिरको जग्गा फिर्ता नगरिएको एकीकृत नेकपा माओवादी रुकुमका इन्चार्ज सरुण बाठाले बताए । ‘अहिलेसम्म मन्दिरको जग्गा कसैले दाबी गरेका छैनन्,’ उनले भने, ‘कोही आधिकारिकरुपमा जग्गा माग्न आए प्रशासनमा बसेर सहमतिमा फिर्ता गर्न तयार छौं ।’

प्रतिक्रिया