कांग्रेसमा नेतृत्वको आलोचना

काठमाडौं, १४ वैशाख । कांग्रेस केन्द्रीय सदस्यहरूले देशले धान्ने नसक्ने गरी नेताहरूले पुन: जम्बो संसद् बनाउन लागेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । उनीहरूले केन्द्रीय संसद्को आकार घटाउन पार्टी नेतृत्वलाई सुझाब दिएका छन् ।
संविधानसभा भवनमा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा बोल्ने अधिकांश नेताले देशले धान्नै नसक्ने गरी केन्द्रीय संसद्को आकार बढाइएको बताए । ‘केन्द्रीय संसद्को संख्या ठूलो भयो, धान्न सकिँदैन भन्नेमा धेरैको मत छ,’ बैठकपछि केन्द्रीय सदस्य मानबहादुर विकले भने, ‘मुलुकले धान्न सक्ने गरी सानो आकारको संसद् बनाउनुपर्ने धेरैको राय छ ।’
त्यस्तै, उनीहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा सहमति नजनाउन पनि नेतृत्वलाई दबाब दिएका छन् । उनीहरूले सुधारिएको संसदीय पद्धतिबाट कांग्रेस पछि हट्न नहुने धारणा राख्दै राष्ट्रपति वा प्रधानमन्त्री दुवै प्रत्यक्ष निर्वाचित हुने व्यवस्थाको विपक्षमा उभिन नेतृत्वलाई सुझाब दिए । राष्ट्रपति वा प्रधानमन्त्री जो प्रत्यक्ष निर्वाचित भएर आए पनि तानाशाह हुने उनीहरूको दाबी थियो । केही सदस्यले त राष्ट्रपति जनताबाट प्रत्यक्ष चुनिएर आए ऊ सबैभन्दा बढी तानाशाह हुने उल्लेख गरे । उनीहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिभन्दा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री केही ‘लिवरल’ हुने तर्क गरेका थिए । ‘संसदीय प्रणाली नै हुनुपर्छ भन्ने धेरै साथीको मत छ,’ केन्द्रीय सदस्य अर्जुननरसिंह
केसीले भने ।
बैठकमा तुलसी सुब्बा, सूर्यमान गुरुङ, ललिता किङरिङलगायत आदिवासी जनजाति नेताले पहिचानका आधारमा राज्य पुन:संरचना हुनुपर्ने माग गरे । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने नेताले उत्तर–दक्षिण चिर्ने गरी संघीयतामा गए स्वीकार गर्न नसकिने धारणा राखेका थिए । बैठकपछि केन्द्रीय सदस्य महेन्द्र यादवले भने, ‘उत्तर–दक्षिणका आधारमा संघीयतामा जानुहँुदैन, तराईमा दुईदेखि तीनवटा प्रदेश बनाउनुपर्छ भनेका छौँ ।’
केन्द्रीय सदस्य विकले भने जातीय राज्य मान्न नसकिने उल्लेख गर्दै जातीय राज्य दिने हो भने दलितका लागि पनि छुट्टै राज्य चाहिने धारणा राखे ।
बैठकमा सभापति सुशील कोइरालाले दलहरूबीच भइरहेको छलफलबारे जानकारी गराएका थिए । मंगलबार बोलाइएको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष उपस्थित नभएपछि बुधबार संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाइएको थियो ।

प्रतिक्रिया