पार्टीको पूर्व अडान नछोडः कांग्रेस

काठमाडौं, १३ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसमा माथिल्लो सदन र तल्लो सदनमा रहने सदस्य र संघीय राज्यको संख्यालाई लिएर नेतृत्वको आलोचना भएको छ ।

कांग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको आज राजधानीमा बसेको संयुक्त बैठकमा धारणा राख्ने अधिकांश सदस्यले संख्यालाई लिएर नेतृत्वको आलोचना गरेका छन् । उनीहरुले मुलुकले धान्नै नसक्ने गरेर सदस्यहरुको संख्या र संघीय राज्य बनाउन नहुने धारणा राखेका छन् ।

प्रमुख दलहरुलाई सहमतिमा संघीय राज्य र सदनमा रहने सदस्यको संख्या कम गराउन आग्रह गरेका छन् । धेरै सदस्य र संघ भएमा राज्यले धान्न नसक्ने उनीहरुको धारणा छ ।

त्यसै गरेर कांग्रेसका सभासद र केन्द्रीय सदस्यहरुले जातीय राज्यको समेत बिरोध गरेका छन् । उनीहरुले राज्य पुनर्संरचना गर्दा जतिसक्यो थोरै राज्य बनाउन सुझाव दिएका हुन् ।

प्रस्तावमा आए जस्तो धेरै संघीय राज्य बनाए त्यसले मुलुकलाई दुरगामी असर पर्ने उनीहरुको बुझाई छ । मुलुक संघीय लोकतान्त्रिक राज्यमा प्रवेश गरेको भन्दै कांग्रेस नेताहरुले शासकीय स्वरुपमा शक्तिसन्तुलनलाई ध्यानमा राखेर द्वन्द्व ननिम्तने संसदीय व्यस्था बनाउन सुझाव दिएका छन् ।

शासकीय स्वरुपका विषयका बारेमा कांग्रेसमा संसदीय व्यवस्थालाई नै अडान राख्ने सुझाव आएको उपसमिति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘शासकीय स्वरुप, निर्वाचन प्रणाली, राज्य पुनर्संरचनामा पार्टीको पुरानै अडानलाई यथावत राख्ने सुझाव आएको छ ।’

सहमतिका लागि दलहरुवीच भएका छलफल र परामर्शका बारेमा कांग्रेसले आज आफ्ना केन्द्रीय सदस्य र सभासदलाई जानकारी गराएको हो ।

प्रतिक्रिया