फेरि पेट्रोलियम अभाव

काठमाडौं, १३ वैशाख । नेपाल आयल निगमले मागअनुसार पेट्रोलियम आपूर्ति गर्न नसकेपछि बजारमा अभाव सुरु भएको छ । भारतीय आयल निगम
(आइओसी) लाई तिर्नुपर्ने बक्यौता रकम बढी भएकाले मागअनुसार आपूर्ति गर्न नमानेपछि राजधानीलगायत मुलुकका प्रमुख सहरमा सोमबारदेखि पेट्रोलियम पदार्थको अभाव सुरु भएको हो ।
राजधानीका अधिकांश पेट्रोल पम्पमा उपभोक्ताको लाइन देखिन थालेको छ । पेट्रोलियम नभएपछि राजधानीका कतिपय पेट्रोल पम्पहरू मंगलबारदेखि बन्द भएका छन् ।
निगमले इन्डियन आयल कर्पोरेसनलाई अहिले एक अर्ब ६० करोड रुपियाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ । सो रकम भुक्तानी नभएसम्म कर्पोरेसनले मागअनुसार आपू्र्ति नगर्ने निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले जनाए । उनका अनुसार अहिले कर्पोरेसनले साविकको भन्दा करिब ३० प्रतिशत आयात कटौती गरेको छ । यसले बजारमा अभाव देखिएको उनले बताए । यसअघि पनि आइओसीले समयमै भुक्तानी नपाएपछि पटक–पटक आपूर्ति कटौती गर्दै आएको थियो ।
कतिपय पेट्रोल पम्पले तत्कालै पेट्रोलियम पदार्थको मूल्य बढ्ने आशंकामा लुकाएर पनि अभाव देखाएको उनको आशंका छ । ‘कर्पोरेसनलाई तिर्न बाँकी बढी भएकाले मागअनुसार आपूर्ति गर्न सकेका छैनौँ,’ कामु कार्यकारी निर्देशक अग्रवालले भने, ‘यद्यपि कतिपय पम्पले मूल्य समायोजन हुने आशंकामा पनि अभाव सिर्जना गरेका छन् ।’
अग्रवालले वैशाखसम्म तेल आपूर्ति सहज बनाउन निगमलाई तत्काल दुई अर्ब रुपियाँ आवश्यक रहेको बताए । सो रकम सरकारसँग माग भएको तर नआएमा अभाव चर्किने जनाएका छन् । ‘अहिलेको आपूर्ति व्यवस्थालाई सहज बनाउन दुई अर्ब रुपियाँ आवश्यक छ,’ उनले भने, ‘अर्थ मन्त्रालयले तत्काल सो रकम नदिए थप समस्या हुनेछ ।’ उनले दुई अर्ब रुपियाँ सरकारले दिएर मूल्य समायोजन भए आगामी महिनासम्म आपूर्ति सहज हुने दाबी गरे ।
निगमका अनुसार उपत्यकामा दैनिक दुई सय ५० किलोलिटर पेट्रोल र तीन सय किलोलिटर डिजेल खपत हुने गरेको छ । यो परिमाणमा नआए बजारमा अभाव देखिन सुरु गर्ने व्यवसायीको भनाइ छ । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष सरोज पाण्डेले भारतीय आयल कर्पोरेसनले आपूर्ति कटौती गरेपछि अभाव सुरु भएको र तत्काल सहज आपूर्ति नभए पम्पहरू बन्द हुने जनाए ।
निगम भने महँगोमा खरिद गरेको पेट्रोलियम र एल्पी ग्यास सस्तोमा बेच्नुपर्दा बक्यौता र घाटा बढ्दै गएको जनाउँदै आएको छ । अहिले निगमको मासिक घाटा एक अर्ब ५६ करोड रुपियाँ पुगेको छ ।
यस्तै, पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि निगमले विभिन्न समयमा लिएको ऋणको भार २३ अर्ब १७ करोड रुपियाँ पुगेको जनाएको छ । पटकपटक मूल्य समायोजन गरे पनि आपूर्ति व्यवस्थापन गर्न नसक्दा निगमले सरकार र वित्तिय क्षेत्रबाट ऋण लिने गरेको र यसको भार थपिँदै गएको हो । अहिले सरकारको १० अर्ब ७४ करोड १० लाख, नागरिक लगानी कोषको चार अर्ब १३ करोड, कर्मचारी सञ्चय कोषको ६ अर्ब ४० करोड र अन्य वाणिज्य बैंकको एक अर्ब ९० करोड ऋण रहेको निगमले जनाएको छ । सो ऋणको मासिक १५ करोड १७ लाख ९० हजार रुपियाँ ब्याज भुक्तानी गरिरहेको निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले जनाए ।
उनले पेट्रोलियम पदार्थमा हुने गरेको घाटाका कारण निगमको समग्र घाटासमेत चुलिँदै गएको बताए । अप्रिल महिनामा डिजेलमा प्रतिलिटर १२ रुपियाँ ४८ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर आठ सय दुई रुपियाँ घाटा रहेकाले यो महिना निगमको कुल घाटा एक अर्ब ५५ करोड पुगेको अग्रवालले बताए ।

प्रतिक्रिया