फेवाताल संरक्षण कुरामै सीमितअनिल अधिकारी

पोखरा, १३ वैशाख । पोखराका व्यवसायी फेवाताल देखाएर डलर कमाउने धन्दामा लागेका छन् । भूमाफियाका कारण ३५ वर्षमा फेवातालको क्षेत्रफल ५५ प्रतिशतले घटेको छ ।

फेवाताललाई देखाएर दैनिक विदेशी डलर कमाउने तालछेउका पर्यटन व्यवसायीका कारण तालको क्षेत्रफल घटेको हो । विभिन्न बहाना बनाएर फेवाताल संरक्षणको नाम दिने पोखरेली पर्यटन व्यवसायीका कारण यस्तो अवस्था देखिएको हो ।
पोखरा उपत्यका नगर विकास समितिको तथ्यांकअनुसार ०१७ सालमा ९८४ हेक्टर क्षेत्रफलमा फैलिएको फेवाताल ०५५ मा आउँदा चार सय ४३ हेक्टरमा सीमित बनेको छ । तालवरिपरि रहेको जग्गामा अवैधानिक तरिकाले व्यक्तिले तीन हजार दुई सय रोपनीमा खेतीपाती गर्दै आएको तथ्यांक छ ।
फोहोर मात्र नभएर तालवरिपरि रहेको जग्गामा अवैधानिक तरिकाले व्यक्तिले ३२ सय रोपनीमा खेती गर्गै आएको फेवाताल संरक्षण समितिका संयोजक तथा नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले बताए ।
लामिछाने पनि फेवाताल बनाउनका लागि धेरैपटक विभिन्न समितिमा रहेर काम गरिसकेका छन् तर कार्यान्वयनमा केही पनि आएको छैन । सन् ००२ पछि मात्रै सरकारले तालवरपर ६५ मिटर कायम गरेको हो । यद्यपि त्यसअघि व्यक्तिहरूले लालपुर्जा आºना नाममा बनाइसकेका हुँदा मापदण्ड कायम गर्न उचित मुआब्जा दिँदा २५ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान पोखरा उपत्यका नगर विकास समितिको छ ।
विशेषगरी क्षेत्रीय प्रहरी कार्यालयबाट प्रत्यक्ष रूपमै ताल दुर्गन्धित बनेको छ । बाराही घाटभन्दा माथि बनाइएको वातावरण सुधार अनुसन्धान अन्तर्गतको फिल्टरेसन ढल भनिए तापनि फिल्टर नभई सिधै तालमै ढल मिसाइएको छ । फोहोर व्यवस्थापन गर्न पर्यटन बोर्ड र पोखरा उपमहानगरपालिकाले वसुन्धरा पार्क र कोमागाने पार्कमा ४० वटा डस्टबिन राख्ने प्रतिबद्धता व्यक्त गरे पनि यो भाषामा मात्रै सीमित बनेको छ ।
पोखरा पर्यटन फेवातालकै नाममा धानिएकाले त्यसको संरक्षणका लागि व्यवसायीहरूले पनि ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष बच्चुराम तिवारी बताउँछन् । यसअघिका कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद कोइरालाले केही सक्रियता देखाएर फेवातालको माटो फाल्ने काम गरेका थिए तर त्यो कामले निरन्तरता पाउन सकेन ।

प्रतिक्रिया