सपनाबाट ब्युँझेका लडाकु

‘फूल फूल्न देऊ है
कलिलो जोवन नभुलाई देऊ है’
यो गीत पूर्वी पहाडका पाखा–भित्तामा श्रम गर्नेले गाउने गर्थे । केही वर्ष अघिसम्म यो गीत युवायुवतीबीच लोकप्रिय पनि थियो । माओवादी युद्ध सुरु भयो । कलिला जोवनहरू मुक्तिका लागि, समाज परिवर्तन गर्न युद्धमा होमिए । वर्ग संघर्षलाई आत्मसात् गर्दै किताब कलम फ्याँकेर कलिलो जोवन मार्न र मर्न हिँड्यो । हिंसात्मक युद्धप्रति विश्वास नगर्ने पहाडमा फूल्न थालेका कतिपय जोवन विदेश पलायन भए । कलिलो जोवनले नभुलाउन गरेको अनुरोध आफैँ बिचल्लीमा पर्‍यो । पहाडका ग्रामीण क्षेत्र युवाविहीन बन्यो । फूलको गीत गाउनेहरू बम, बारुद र बन्दुकको गीत गाउन थाले । गाउँहरू उजाड भए । पहाडहरू बन्दुकको आवाजसँगै आफ्नो अस्तित्व जोगाउन झोक्राइ रहे । यसरी एउटा लामो निष्ठुरी कालखण्ड समाप्त भयो ।
अवसर थिएन । अहिले पनि छैन । शिक्षित वर्गले समेत ज्ञानअनुसार काम पाएका छैनन् । त्यसताका पनि पाएका थिएनन् । युवा बेरोजगार उधुमसँग बढेको थियो । यसैको मूल्यांकन गर्दै माओवादीले सशस्त्र युद्ध घोषणा गरेको थियो । गरिबी, बेरोजगारी, उत्पादनका साधनमाथि पहुँच नभएका, राज्यद्वारा अपहेलित र सामन्त जमिनदारबाट तिरस्कृत समूहलाई लक्षित गरेर माओवादीले सपनाको बिस्कुन फिँजायो । त्यसलाई सतही दृष्टिले हेर्दै थुप्रै युवा बिस्कुनको वरिपरि थुप्रिए । एउटा झुन्ड तयार भयो । सपना बाँड्ने क्रममा नेताहरूले मन लोभिने गरी अभिव्यक्ति दिए । राष्ट्र र जनताको मुक्ति नजिकै भएको घोषणा गरे । मुक्तिका लागि हिंसाको मार्गबाट हिँड्नु पर्ने बाध्यतामाथि प्रवचन भयो । एकपटक मर्नै पर्ने जिन्दगी हो । महान् उद्देश्यका लागि गर्‍हौँ मृत्युवरण गर्ने कि कुकुर बिरालोजस्तो भएर मर्ने ? प्रश्नहरू उठे । गरिबी, उत्पीडन, बेरोजगारी र ठगिएकाहरूले मुठ्ठी बटारेर मुक्तिका लागि सशस्त्र युद्धमा होमिने निर्णय गरे । १६ वर्षमुनिका धेरै बालबालिकालाई युद्ध मोर्चामा सामेल गराउन ललाई–फकाई, धम्क्याई जसरी हुन्छ लगियो । एउटा ठूलै जमात तयार भयो र सशस्त्र युद्धमा मन, वचन र कर्मले होमियो । ती लडाकुको मनमा पाप थिएन, मुक्तिको चाहना थियो । समुन्नत नेपाल र नेपालीको उच्च, समृद्ध जीवनस्तरको परिकल्पना थियो । लडाकुमा सुक्षम्य विश्लेष्ण गर्न सक्ने खुबी थिएन । सफा मन र उत्तेजनापूर्ण सोच थियो । यसैलाई माओवादी नेतृत्वले ‘मटियामेट’ पारेर प्रयोग गर्‍यो । कलिलो जवानलाई माओवादीहरूले नराम्रोसँग भुलायो ।
हिंसात्मक युद्ध जुनसुकै बहानामा गरिए पनि अन्तत्वगत्वा त्यो घातक परिणामसहित विसर्जन हुन्छ । ‘जनयुद्ध’ नाम दिइएको त्यो १० वर्षे हिंसात्मक युद्ध अहिले ‘हात लाग्यो शून्य’ भएर सम्पन्न भएको छ । आफ्ना छोराछोरी टुहुरा बनाएर बाबुआमा मरे । आफ्ना बाबुआमालाई सहाराविहीन बनाएर छोराछोरी मारिए । आफन्त गुमाउनेहरू भग्न हृदय बोकेर न्यायको भीख माग्दै छन् । थुपै्र–थुप्रै युवा व्यक्ति घाइते, अपांग र विक्षिप्त बन्न बाध्य भए । तथापि त्यो पापविहीन लडाकुको जमात माओवादी नेताले देखाएको सपना छातीभित्र सजाएर युद्ध मैदानमा लडिरह्यो । आखिर सधैँ युद्ध भइरहँदैन । नेताहरूले दिल्लीमा पुगेर शान्ति–सम्झौता गरे । घोषणा भयो, युद्ध सकियो । त्यस बखत क्रम भंग भयो । क्रम भंगसँगै लडाकु र माओवादी कार्यकर्ताले देखिरहेको सपना भंग भयो तर त्यो कपोलकल्पित र भ्रामक सपनालाई विपना ठान्ने जमातले सपनालाई सपना नै हो भन्न सकेन । अथवा माओवादी नेताले सुकाएको सपने बिस्कुन र नेतृत्वप्रति आत्मैदेखि विश्वस्त त्यो जमात यसबेला पनि राष्ट्र र जनताको मुक्तिको कल्पना गर्दै थियो । जबकि नेताहरूले उनीहरूलाई शिविर नाम गरेको जेलमा हालेर आफू सत्ता सम्हाल्न पुगिसकेका थिए । केन्द्रमा सत्ताको तर मार्दै गर्दा कार्यकर्ता र लडाकुले नेतालाई विश्वासिलो समर्थन गर्न छाडेका थिएनन् । ती लडाकु यातनालयजस्तो शिविरमा निकै कष्टकर जीवन बिताउँदै थिए तर २८ चैतमा भने सपना, कल्पना, भावना र मुक्तिको चाहना चकनाचुर भयो । आफ्नै नेताका सेनाको बुटले अपमानजनक तरिकाले मनमा गम्भीर चोट पुग्ने गरी सपना कुल्चियो । स्वप्निल बिस्कुन सुकाइको एउटा अध्याय समाप्त भयो । त्यसबेला माओवादी कार्यकर्ता र शिविरमा रहेका लडाकु ब्युँझिए जतिबेला ढिलो भइसकेको थियो । यसरी १६ वर्षअघि डंका पिटेर राष्ट्र र जनताका लागि थालिए हिंसात्मक युद्धको पटाक्षेप भयो ।
युद्ध सिमलको भुवाजस्तो नरम र कोमल हुँदैन । त्यसमा पनि सशस्त्र युद्ध निकै घातक र पीडादायी हुन्छ । यस्ता युद्धले धेरैलाई सपना देखाउँछ र त्यो सपना आफ्नै बुटले कुल्चिएर युद्ध सम्पन्न भएको घोषणा गर्छ । विश्वमा भएका मुक्ति युद्धका धेरैजसो इतिहास यसरी नै लेखिएका छन् । नेपालका हकमा पनि त्यही भयो । जो हुनैपर्ने थियो । जब नेपाली सेना माओवादी लडाकुको शिविर कब्जा गर्न पुग्यो तब पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरूले सन्तोषको श्वास फेरे । दसौं वर्ष सँगै रहेर सशस्त्र युद्धमा होमिएका आफ्ना सहयोद्धाहरूको भन्दा नेपाली सेनाको विश्वास गर्ने माओवादी नेतृत्वले सत्ताका लागि ठूलो त्याग गर्‍यो । आफ्ना कार्यकर्ता, जनमुक्ति सेना, हतियार र लगभग पार्टीसमेत त्यागेर अब माओवादी नेतृत्व सत्तामा विराजमान छ । वास्तवमा ती नेताले कसैप्रति अपराध गरेका छैनन् । सत्ता उक्लने भर्‍याङ बनाउँदा को, कहाँ, कसरी प्रयोग भयो त्यो भिन्नै कुरा हो । अन्तिममा यही हुनु थियो, भयो । अब फेरि त्यस्तै सपना बाँड्न अर्को कोही आइपुग्ने छ र फेरि कलिला जोवन बहकाउमा परेर अर्को भर्‍याङ बन्नेछन् । यो निरन्तरता तबसम्म रहिरहन्छ जबसम्म नेपाली जनता सचेत हुँदैनन् ।
माओवादीको विद्रोह सुरु भएपछि नेपालमा थुप्रै हजार मानिस मरे । साना हतियार भरमार भित्रिए । लुट्ने, कुट्ने, काट्ने, भौतिक कारबाही गर्ने, अर्काको सम्पत्ति कब्जा गर्ने, अपहरण गर्ने फिरौती असुल्ने र फरक विचार राख्नेहरूको इहलीला समाप्त पार्ने कार्य सामान्य बने । यो कार्यले अहिले व्यापकता पाएको छ । वर्ग संघर्ष गर्न भूमिगत भएको माओवादी जातीय संघर्षको बीउ छरेर उदय भयो । सर्वहारा वर्गको नेता सामन्त भएर सत्ता सम्हाल्न आइपुग्यो । शोषक सामन्तको उछित्तो काढ्दै जंगल पसेका नेताले आफ्नै लडाकुको अत्यधिक शोषण गरे । भाइ मारेर गधा पोस्ने काम राम्रैसँग भयो । माओवादी युद्धको सकारात्मक र नकारात्मक पक्षको सुक्षम्य विश्लेषण इतिहासले गर्ला । अहिले भने सबैले विश्लेषण गरेका छन् । माओवादी युद्धले मुलुकलाई ५० वर्ष पछि धकेल्यो । राष्ट्रको सम्पत्ति सशक्त युवा पंक्तिको एउटा छिमल समाप्त पार्‍यो । शोषण, दमन, उत्पीडन र असमानता तोड्न हिँडेको माओवादी नेतृत्व मुलुक साथै शोषित, पीडित जनताका लागि अर्को बोझ बनेर आइलाग्यो । उनीहरू अथाह सम्पत्तिका मालिक बने । अत्यधिक लोभ र लालचले गर्दा आफ्नै लडाकुको समेत शोषण गर्न पुगे । शोषकलाई लडाकुले समाप्त पार्छन् भन्ने बुझेपछि अति हतार गर्दै आफ्नै सहयोद्धालाई सेनाको जिम्मा लगाए । यसरी डरलाग्दो वास्तविकता बनेको १६ वर्ष लामो कालखण्डको अन्त्येष्टि गरियो तर सिंयाँ बनेर त्यसको आत्मा घुमिरहेको छ । अझै निश्चिन्त भएर श्वास फेर्न नसक्नेहरू थुप्रै छन् । उनीहरू आफन्तहरूसँग जोगिएर अर्को कित्ता उबैर बनाउनु पर्छ ।

प्रतिक्रिया