पश्चिमसेती आयोजना : आम नेपालीको चाहना

‘पश्चिमसेतीको काम रोकिनु हुँदैन’

राज्यबाट सधैँ सौतेनी व्यवहारमा पर्दै आएको सुदूरपश्चिम पश्चिमसेती आयोजना मामिलामा पनि केही तत्त्व यसलाई तुहाउन लागिपरेका छन् । यसले ती व्यक्तिहरूमा रहेको सुदूरपश्चिममा कुनै पनि आयोजना हुनुहुँदैन भन्ने कुविचारलाई संकेत गर्छ । १७ वर्षसम्म अस्ट्रेलियाको स्मेक कम्पनीका नाममा हातमा लाइसेन्स राखेर आयोजनास्थलका बासिन्दालाई विकास निर्माणबाट बञ्चित गर्ने काम गरियो । अहिले फेरि चीनको थ्री गर्जेज कम्पनीले बनाउने सम्झौता भइसक्दा पनि त्यसमा केही जल तथा पेट्रोमाफियाले आयोजना नबनोस् भनेर चलखेल गरिरहेका छन् । यसमा सुदूरपश्चिम तथा राष्ट्रकै हित नचाहने तत्त्व लागिपरेका छन् । अब सुदूरपश्चिमवासीले समयमै सचेत भएर खबरदारी गर्नुपर्ने बेला आएको छ । लेखासमितिले लगानी बोर्डमार्फत काम गर्न निर्देशन दिएपछि अब आयोजना बन्छ भनेर सुदूरपश्चिमवासी ढुक्क भएका थिए । सरकारले आयोजना निर्माण गर्ने कम्पनीलाई औपचारिक पत्र पठाउन ढिला गरेर कतै आयोजना नबन्ने हो कि भनेर शंका उब्जाएको छ । सकारले थ्री गर्जेजलाई समयमै औपचारिक पत्र पठाएर आयोजनाको काम सुरु गर्न दिनुपर्छ । देशकै सबैभन्दा ठूलो जलाशययुक्त आयोजना निर्माण गरेर दैनिक १८ घन्टा भइरहेको लोडसडिङबाट मुलुकलाई मुक्त गर्नुपर्छ । यसको निर्माणपछि सुपको विकास निर्माणमा ठूलो सहयोग पुग्ने देखिन्छ । यस्तो फाइदाजनक आयोजनाबाट सरकारले पनि माफियाको जालोमा नपरेर ठोस निर्णय लिनुपर्छ । यसैमा सबैको हित हुन्छ । यसअघि भएका गल्ती अब कसैले दोहोर्‍याउनु हुँदैन ।
विष्णु चन्द
प्रभावित क्षेत्रका बासिन्दा, बैतडी

 

‘पश्चिमसेती निर्माणको विकल्प छैन’

सुदूरपश्चिममा निर्माण हुने भनिएको बहुचर्चित तथा बहुप्रतिक्षित पश्चिमसेती जलविद्युत् आयोजना निर्माणको विकल्प छैन । यो आयोजना केवल सुदूरपश्चिमका लागि मात्रै नभई समग्र मुलुककै हितका दृष्टिले महत्त्वपूर्ण कोसेढुंगा सावित हुन सक्नेमा दुई मत छैन । सात सय ५० मेगावाटयुक्त उक्त आयोजना समयमै बन्नसक्यो भने हाल नेपालमा जारी ऊर्जासंकट धेरै हदसम्म न्यून हुनेछ । हाल हामीलाई आवश्यक पाँच सयदेखि सात सय मेगावाट जलविद्युत् यसै आयोजनाले पूर्ति गर्नेछ । पश्चिमसेती आगामी पाँच वर्षमै बन्नसक्यो भने मुलुकमा विद्यमान लोडसेडिङ अन्त्य हुनेछ तर निर्माण कार्यमा ढिलाइ भइरहे ऊर्जासंकट त बर्सेनि बढ्दै गइरहने छ । पश्चिमसेती बनाउन स्मेक कम्पनीले लाइसेन्स लिएर पनि डेढ दशकसम्म होल्डमा राखिरह्यो । यो आयोजना बन्ने आशमा प्रभावितक्षेत्र डोटी, बझाङ र डडेल्धुरालगायत आसपासका बासिन्दाले विकासका धेरै काम रोक्दै आए । यसले सुदूरपश्चिम क्षेत्रको विकास निर्माणका कार्य सयौं वर्ष पर धकेलिएका छन् । प्रभावित क्षेत्रमा स्थानीयले यो आयोजना बन्छ भन्ने आशमा दीर्घकालीन उपलब्धी हुने खालका रूखविरुवा, विकास निर्माण र आर्थिक उपार्जनका कामहरू गरेका छैनन् । आयोजना बन्यो भने विकासका ती उपलब्धि गुम्ने खतरा उनीहरूमा रहेको छ । यसले सुदूरपश्चिमको अवस्था निरन्तर ओरालो लाग्दै गइरहेको छ । पश्चिमसेती यस क्षेत्रका बासिन्दासँग प्रत्यक्ष जीवनसँग जोडिएकाले अविलम्ब कार्यान्वयन हुनैपर्छ ।
कर्ण शाही,
नागरिक समाज प्रतिनिधि
धनगढी, कैलाली

‘स्वाभिमानमा कुनै आँच नआओस्’

पश्चिमसेती जलविद्युत् आयोजना सुदूरपश्चिम क्षेत्रका लागि एउटा प्रमुख विकासको ढोका हो । यो विकासको ढोका बन्द गर्नका लागि होइन, यतिबेला सुदूरपश्चिम क्षेत्रको विकास चाहने सबैले यो ढोका खोल्न लाग्नुपर्ने मैले देखेको छु । पश्चिमसेतीको पर्खाइमा रहेका यस क्षेत्रका जनतालाई अस्ट्रेलियाको स्मेक कम्पनीले झन्डै २० वर्षसम्मको पर्खाइपछि निरास बनायो । यसअघि नै स्मेकले पश्चिमसेती आयोजनाबाट प्रभावित हुनसक्ने क्षेत्र तथा अन्य वातावरणीय मूल्यांकनलगायत आवश्यक काम गरिसकेको थियो । यस्तो अवस्थामा आयोजना बनाउन अब थ्री गर्जेजलाई पनि रोक्नु हुँदैन । आयोजनामा बनाइदिनु पर्‍यो भनेर गुहार्ने तर कसरी आयोजनाको काम अघि बढाउन सकिन्छ भनेर वातावरण नमिलाउने सरकारले आयोजना नबनोस् भनेर सुपवासीलाई ढाँटेजस्तो भएको छ ।
अहिले पश्चिमसेती निर्माण हुने खबरले सुदूरपश्चिमवासी निकै हर्षित छन् । सुदूरपश्चिमवासीमा पलाएको यो आशालाई चिनियाँ कम्पनी थ्री गर्जेजले पनि धोखा नदेओस् भन्ने चाहना सबैमा छ । अहिले सबैको आँखा र कान पश्चिमसेतीको विकसित अवस्थाको समाचार पढ्न र सुन्न आतुर देखिन्छन् । साँच्चै नेपाली स्वाभिमानमा कुनै आँच नआओस्, कसैले व्यक्तिगत फाइदा लिन पनि नपाओस् । यही भावनाका साथ पश्चिमसेती आओस् । राजनीतिक दलहरूले विगतमा देखाएको जस्तो हरकतबाजी यसपाली चाहिँ नदोहोरियोस् ।
उमीद बागचन्द
सञ्चारकर्मी
धनगढी, कैलाली

प्रतिक्रिया