फेसबुकले जुटायो सहयोग

दाङ, १३ वैशाख । सामाजिक सञ्जाल फेसबुकमार्फत घोराही–११ का १६ वर्षीय खिमबहादुर बस्नेतलाई सहयोग जुटेको छ । ब्लड क्यान्सरबाट पीडित बस्नेतलाई दक्षिण कोरियामा रहेका राप्ती अञ्चलवासीले एकलाख रुपियाँ सहयोग गरेका हुन् । शान्ति सुधा उच्चमाविमा कक्षा नौमा पढ्दै गरेका बस्नेतलाई उपचारका लागि आर्थिक अभाव भएपछि आमा पबीले सहयोगको याचना गरेकी थिइन् । स्थानीय पत्रिकामा समाचार आए पनि सहयोग उपलब्ध नभइरहेका बेला फेसबुकमा सेयर गरिएको समाचारका कारण सहयोग जुटेको हो ।

बस्नेतका लागि उपलब्ध भएको रकम दक्षिण कोरिया राप्ती सम्पर्क मञ्चका अध्यक्ष सुकबहादुर थापाले परिवारलाई हस्तान्तण गरेका छन् । झन्डै दुई महिना पहिले फेसबुकमा ब्लड क्यान्सर भएर बालक उपचारका लागि सहयोग खोजिरहेको अपिल फेला परेपछि दक्षिण कोरियामा बस्दै आएका नेपालीले सहयोग संकलन गरेको थापाले बताए । आफ्नो छोराको उपचार खर्चमा टेवा पुर्‍याउने कोरियावासी नेपालीलाई बस्नेतले धन्यवाद दिएकी छन् । उनले भारतमा लगेर छोराको उपचार गर्ने तयारी गरेकी छिन् । छोराका उपचारका लागि बस्नेत परिवारले पाँच लाख रुपियाँ सकाइसकेको छ ।

प्रतिक्रिया