बर्सेनि २० अर्बको फर्निचर विदेशबाट

काठमाडौं, १३  वैशाख । मागअनुसार काठ आपूर्ति हुन नसक्दा बर्सेनि करिब २० अर्ब रुपियाँको काठ र आल्मुनियमका फर्निचर विदेशबाट आयात भइरहेको छ । वार्षिक करिब दुई करोड क्युबिक फिट काठ माग रहेकामा देशकै वनबाट आधामात्रै आपूर्ति हुने गरेकाले बाँकीका लागि विदेशमा भर पर्नुपरेको हो ।

सरकारले दुई वर्षअघि काठ उत्पादन हुने प्रमुख २४ जिल्लामा काठ दाउरा कटानी, बिक्री–वितरण र ओसारपसारमा प्रतिबन्ध लगाएपछि विदेशबाट फर्निचर र आल्मुनियम भित्रिन सुरु भएको थियो । वन पैदावार व्यवसायीका अनुसार असार ०६७ देखि एक वर्षसम्म लगाइएको प्रतिबन्धको अवधिमा न्युजिल्यान्ड, मलेसिया, म्यान्मार, चीन र भारतबाट ५० हजार क्युबिक फिट बराबर (करिब २० करोड रुपियाँ) को काठको फर्निचर नेपाल भित्रिएको थियो ।
त्यसयता पनि मागअनुसारको काठ आपूर्ति नहुँदा हाल वार्षिक एक करोड क्युफिटभन्दा बढी काठ र आल्मुनियमका फर्निचर आयात भइरहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले जनाएको छ, जसको प्रतिक्युबिक फिट दुई हजारका दरले २० अर्ब रुपियाँ हुन आउँछ । ‘वार्षिक दुई करोड क्युफिट काठ माग रहेकामा आधाभन्दा बढी अर्थात् २० अर्ब रुपियाँभन्दा बढीको फर्निचर विदेशबाट आयात भइरहेको छ,’ महासंघका अध्यक्ष कपिलप्रसाद अधिकारीले भने, ‘जसमा आधा काठका र आधा आल्मुनियमका छन् ।’
सहजै पाउने र देख्दा पनि आकर्षक भएकाले काठको सट्टा आल्मुनियमका फर्निचरका ग्राहक बढेको अधिकारीले बताए । उनले भने, ‘काठमाडौंमा त घरको बाहिरी ढोकाको चौकोस किन्न मात्रै ग्राहक स:मिल पुग्ने गर्छन्, बाँकी आल्मुनियम र विदेशी रेडिमेड फर्निचर राख्छन् ।’ पोखरा, विराटनगर, वीरगन्ज, भैरहवा, बुटवललगायतका सहरी क्षेत्रको अवस्था पनि उस्तै रहेको उनले जानकारी दिए ।
म्यान्मार र मलेसियाबाट भित्रिने सालका फर्निचर सबैभन्दा गुणस्तरीय मानिन्छन् । त्यस्तै न्युजिल्यान्डबाट सल्लाका फर्निचर भित्रिन्छन् । देशभित्रको जंगलबाट मागअनुसारको काठ आपूर्ति नहुनु मुख्य कारण भए पनि नेपाली काठभन्दा विदेशी काठ र आल्मुनियमका फर्निचर सस्तो हुने भएकाले पनि माग बढेको महासंघले जनाएको छ ।
अहिले बजारमा सबैभन्दा गुणस्तरीय नेपाली सालको बजारमूल्य प्रतिक्युफट करिब चार हजार पाँच सय छ भने उच्च गुणस्तरको म्यान्मार र मलेसियाको साल प्रतिक्युबिक फिट करिब तीन हजार रुपियाँमा पाइन्छ । न्युजिल्यान्डको सालको फर्निचर प्रतिक्युबिक फिट एक हजार पाँच सय रुपियाँ पर्छ ।
गुणस्तरीय, मध्यम र कमसल गरी सबै प्रकारको मिश्रित नेपाली काठ करिब दुई हजार रुपियाँ प्रतिक्युफिटमा पाइन्छ, जबकि विदेशबाट भित्रिएको मध्यम गुणस्तरको काठको फर्निचर पाँच सय रुपियाँ प्रतिक्युफिटमा उपलब्ध हुन्छ ।
भारत, चीन र मलेसियाबाटै काठको धुलो र कागज पेलेर बनाएको प्लाइउड, चीनबाट तयारी ढोका र बाथरुम एवं कोठाभित्रै स–साना खण्ड बनाउन प्रयोग हुने तयारी प्लास्टिकको ढोका बंगलादेशबाट आयात भइरहेको व्यवसायी बताउँछन् । बजारमा हाल प्रतिक्युफिट पाँच सय रुपियाँमा आल्मुनियम सजिलै पाइन्छ ।
दुई वर्षअघि सरकारले तराईका २४ जिल्लाका वनमा प्रतिबन्ध लगाएकाले बजारमा काठको हाहाकार भएको थियो । त्यतिबेला प्रतिक्युबिक फिट काठको मूल्य दुई हजारबाट बढेर ६ हजार पाँच सय रुपियाँसम्म पुगेको थियो । नेपालकै वनबाट माग पूरा गरेर बर्सेनि नौ करोड क्युफिटसम्म काठ निर्यात गर्न सकिने अध्ययनले देखाए पनि वन व्यवस्थापनको वैज्ञानिक प्रणाली नहुँदा बजारमा काठको हाहाकार रहेको वन प्राविधिक विजयराज सुवेदीले बताए ।
‘सन् १९९६ को वन सर्वेक्षणका आधारमा गरिएको अध्ययनले उमेर पुगेका काट््नैपर्ने रूख काट्ने र वैज्ञानिक व्यवस्थापन गर्ने हो भने बर्सेनि १२ करोड सिएफटीसम्म काठ उत्पादन हुने देखाएको छ,’ उनले सौर्यसँग भने, ‘तर कुनै पनि प्रकारको व्यवस्थापन नहुँदा बजारमा काठको हाहाकार छ ।’
अध्ययनअनुसार हाल देशभरको जंगलमा करिब १२ करोड क्युफिट काट्नैपर्ने उमेर पुगिसकेको काठ यत्तिकै छ  । सोअनुसार पूर्वाञ्चलमा २६ प्रतिशत, मध्यमाञ्चलमा २४, मध्यपश्चिमाञ्चलमा २१, सुदूरपश्चिमाञ्चलमा १७ र पश्चिमाञ्चलमा १२ प्रतिशत काट्नैपर्ने रूख छन् । काट्नैपर्ने रूख काट्ने र वैज्ञानिक व्यवस्थापन गर्ने हो भने सुरुवाती चरणमा वार्षिक करिब साढे ६ करोड, दोस्रोमा नौ करोड र तेस्रो चरणमा १२ करोड सिएफटीसम्म काठ उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया