केन्यालीले जिते लन्डन म्याराथन

लन्डन : विल्सन किप्साङ र म्यारी केटानीले उत्कृष्ट प्रदर्शन गर्दै ३२औं लन्डन म्याराथनको पुरुष तथा महिला उपाधि जितेका छन् । उनीहरू दुवैजना केन्याली हुन् र आसन्न ओलम्पिकको म्याराथन पनि उनीहरूले नै जित्ने अनुमान गरिएको छ ।
किप्साङ अन्तिम सात माइलमा सबैभन्दा अगाडि थिए तापनि उनी २:०४:४४ समयमा दौड पूरा गर्दै नयाँ कीर्तिमान बनाउन भने असफल रहे । महिलातर्फ २:१८:३७ को समयसहित केटानीले लगातार दोस्रोपटक उपाधि जितिन् ।
क्लेयर हेलिसे ११औंमा रहँदै उक्त म्याराथन पूरा गर्ने प्रथम ब्रिटन बनिन् । उनको २:२७:४४ को समय प्रतिद्वन्द्वी जो पाभेलाई पछाडि पार्दै आसन्न ओलम्पिकमा सहभागी हुन पर्याप्त छ । पाउला रेडक्लिफ र म्यारा यमाउची यसअघि नै ओलम्पिक म्याराथनका लागि छनोट भइसकेका छन् । विश्वभरिबाट करिब ३८ हजार धावक, खेलाडी र उत्साही व्यक्तिहरूको सहभागिता रहेको उक्त म्याराथनमा पूर्वी लन्डननिवासी १ सय १ वर्षीय फौजा सिंह सबैभन्दा बढी उमेरका थिए । समापन रेखानजिक पुग्न थाल्दा एकजना महिला धाविकाको मृत्यु भएको थियो । फौजा सिंहले ७ घन्टा ४९ सेकेन्डमा सो दौड पूरा गरेपछि भने, ‘यो मेरो अन्तिम म्याराथन हो । यसपछि म छोटो र मध्यम दूरीका दौडहरूमा मात्र सहभागी हुनेछु ।’ (एएफपी)

प्रतिक्रिया