कांग्रेसका दुई समूहका छुट्टै बैठक

काठमाडौं : प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने कि नजाने भन्ने विषयमा छलफल गर्न मंगलबार नेपाली कांग्रेसका दुई समूहको बेग्लाबेग्लै बैठक बसेको छ । संस्थापन पक्षले बोलाएको केन्द्रीय समिति बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको थियो भने वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको बैठक देउवा निवास बूढानिलकण्ठमा ।
भ्रातृ संगठन विघटन गर्ने निर्णयपछि केन्द्रीय समितिको बैठक बहिष्कार गर्दै आएको देउवा पक्षले मंगलबारको बैठक पनि बहिस्कार गरेको हो । बानेश्वरमा बसेको संस्थापन पक्षको बैठकमा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताले दलहरुबीच भएको छलफल र अहिलेसम्म भएका उपलब्धिका विषयमा जानकारी गराएका थिए । उनीहरुले पार्टीले अडान नछाडी संविधान नबन्ने भएकाले सम्झौता गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका थिए ।
बैठकमा बोल्ने अधिकांश सदस्यले संसदको सुप्रिमेसी रहने गरी शासन व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । केही केन्द्रीय सदस्यले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जान नहुने भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमै अडान लिन आग्रह गरेका थिए । उनीहरुले संसद्को संख्या घटाउनुपर्नेमा पनि जोड दिए ।
बैठकमा कांग्रेस नेता डा. रामशरण महतले समानुपातिक निर्वाचनबाट चुनिने एक सय ४५ जनाको माथिल्लो सभा बनाउनुपर्ने प्रस्ताव गरेका थिए  । विभिन्न जातजाति र समुदायका लागि सिट संख्या तोकेर प्रदेशहरुबाट नै निर्वाचित हुने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव थियो । तर, अन्य नेताले विगतको राष्ट्रियसभाजस्तै हुने भन्दै त्यसमा समर्थन जनाएनन् ।
केन्द्रीय सदस्य गगन थापाले आफूहरुलाई साक्षी राख्नका लागि मात्र बैठकमा बोलाइएको गुनासो गरे । उनले पार्टी नेतृत्वलाई जथाभाबी सहमति नगर्न चेतावनी पनि दिएका थिए । बैठकमा अर्जुननरसिंह के.सी., डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, मो. आफ्ताब आलम, चन्द्र भण्डारी र अजयकुमार चौरसियाले संसदीय व्यवस्थालाई पार्टीको बटमलाइन बनाउनुपर्ने बताए  ।
उही समय र उही एजेन्डामा छलफल गर्न बूढानीलकण्ठमा देउवा पक्षधर नेताको बैठक बसेको थियो । सो बैठकमा देउवा र विमलेन्द्र निधिले दलहरुबीच भएको छलफलका बारेमा केन्द्रीय सदस्यहरुलाई जानकारी गराएका थिए । प्रत्यक्ष निर्वाचित तर आलंकारिक राष्ट्रपतिमा सहमतिनजिक पुगेको देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुलाई बताए ।
बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने र त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने विषयमा दलहरुबीचको छलफल सकारात्मक रहेको बताइएको थियो । केन्द्रीय सदस्य किशोरसिंह राठोर, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, सुरेन्द्र पाण्डे, पूर्णबहादुर खड्कासहितका नेताहरुले बैठकमा सभापति कोइरालासहित संस्थापन पक्षका नेताको तीव्र आलोचना गरेका थिए ।
केन्द्रीय सदस्य राठोरले आफ्नो पक्षका नेताहरुप्रति समेत आक्रोश पोखे । केन्द्रीय सदस्य श्रेष्ठ र पाण्डेले भ्रातृ संगठनका विषयमा सहमति पालना नभएको उल्लेख गर्दै संस्थापन पक्षका विरुद्ध लड्दा उल्टो कुरा आएको गुनासो गरेका थिए ।
देउवा पक्षका तीन संस्थापनतिर
देउवा पक्षले बानेश्वर बैठकमा सहभागी नहुन आग्रह गरे पनि तीन केन्द्रीय सदस्य सहभागी भएका छन् । देउवासहित विभिन्न नेताको आग्रहविपरीत केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, अजयकुमार चौरसिया र पुष्पा भुसाल संस्थापन पक्षको बैठकमा सहभागी भएका हुन् । चौरसिया र भुसाल केन्द्रीय सदस्य खुमबहादुर खड्कानिकट मानिन्छन् । रिजालले भने पछिल्लो समय सभापति कोइरालासँंग सम्बन्ध बढाएका छन् । उनले देउवा पक्षधर नेताहरुलाई भने बानेश्वर पुगेर बूढानीलकण्ठको बैठकमा पनि सहभागी हुन आउने आश्वासन दिएका थिए ।
नेता निधिले केन्द्रीय समितिको बैठकमा सहभागी नहुने तर संयुक्त बैठक भए सहभागी हुने बताएपछि बुधबार संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक राख्ने कांग्रेसले तयारी गरेको छ ।

प्रतिक्रिया