६ अर्ब आम्दानी गर्ने निगमको लक्ष्य

काठमाडौं, ११ वैशाख । जहाज अभावमा खुम्चिँदै गएको नेपाल वायुसेवा निगमले चालु आर्थिक वर्ष ०६८/६९ मा ६ अर्ब रुपियाँको कारोबार हुने प्रक्षेपण गरेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा तथा अन्तर्राष्ट्रिय उडानबाट हुने आम्दानीका आधारमा निगमले यो लक्ष्य राखेको हो ।
विदेशी विमान कम्पनीले नेपाल उडान वृद्धि गरेकाले ग्राउन्ड ह्यान्डलिङबाट हुने आम्दानी बढ्ने निगमको अनुमान छ । यो निगमको आम्दानीको मुख्य स्रोत हो । गत आवमा ग्राउन्ड ह्यान्डलिङबाट एक अर्ब ५० करोड रुपियाँ आम्दानी भएकामा चालु आवमा एक अर्ब ७० करोडको लक्ष्य लिइएको निगम प्रवक्ता तथा नायव महाप्रबन्धक राजुबहादुर केसीले बताए । निगमले थाई एयरवेज र इन्डियन एयरलाइन्सबाहेक सबै विदेशी वायुसेवा कम्पनीको ग्राउन्ड ह्यान्डलिङ गर्छ ।
अन्तर्राष्ट्रिय सेवातर्फ चालु आवमा चार अर्ब ४९ करोड ५७ लाख रुपियाँको कारोबार हुने निगमको अपेक्षा छ । निगमले बैंकक, हङकङ, दुबई, दोहा र क्वालालम्पुरमा उडान गरिरहेको छ । ‘दुईवटै बोइङ जहाज नियमित सञ्चालनमा रहेकाले लक्ष्य पूरा हुने देखिएको छ,’ प्रवक्ता केसीले भने । नाफायोग्य सेक्टरका रूपमा लिइने क्वालालम्पुर, हङकङ र दोहामा ९० प्रतिशत अकुपेन्सी रहेको उनले जानकारी दिए ।
गत आवमा सात करोड रुपियाँ नाफा गरेको निगमले जनाएको छ । यो करपछिको नाफा हो । करअघिको नाफा भने ६० करोड रुपियाँ थियो । निगमले गत आवमा पाँच अर्ब ६० करोड रुपियाँको कारोबार गरेको थियो ।
अन्तर्राष्ट्रियतर्फ सन् ०११ मा निगमले एक हजार ६ सय १९ उडानमार्फत दुई लाख दुई हजार ४१ यात्रु बोकेको तथ्यांक छ । एक वर्षमा यसले एक लाख एक हजार एक सय ७५ यात्रु नेपाल भित्र्याएको थियो भने एक लाख आठ सय ६६ यात्रु नेपालबाट बाहिर लिएर गएको थियो ।
आन्तरिकतर्फ चालु आवमा २८ करोड २३ लाख रुपियाँको कारोबार गर्ने निगमको लक्ष्य छ । दुर्गम क्षेत्रका विमानस्थलमा सेवा सञ्चालन गरिरहेको निगमको आन्तरिक सेवा भने घाटामा छ । गत आवमा आन्तरिक सेवामा १२ करोड रुपियाँ घाटा भएको निगमले जानकारी दिएको छ ।
यात्रु संख्याका हिसाबले निगम मुलुकको छैठौँ आन्तरिक वायुसेवा प्रदायक हो । यसले सन् ०११ मा दुई हजार ६ सय ५७ उडानमार्फत् ३७ हजार सात सय ९५ यात्रु बोकेको तथ्यांक छ । आन्तरिक सेवाका लागि हाल निगमका दुईवटा ट्विनअटर जहाज उडिरहेका छन् ।
गत आवमा पाँच अर्ब ५२ करोड रुपियाँ सञ्चालन खर्च भएको निगमले जनाएको छ । ‘सबैभन्दा धेरै खर्च अपरेसनमै हुन्छ । इन्धन तथा मेन्टेनेन्स मा पनि उत्तिकै खर्च हुन्छ,’ निगमका नायब महाप्रबन्धक केसीले भने । पुराना जहाज भएकाले मर्मत सम्भारमा बढी खर्च हुने गरेको उनले बताए ।
कुल खर्चमध्ये ४० प्रतिशत इन्धनमा, २५ प्रतिशत मर्मतसम्भारमा तथा १० प्रतिशत कर्मचारीका लागि हुने गरेको छ ।
निगमले वार्षिक करिब २५ करोड रुपियाँ सरकारलाई राजस्व तिर्छ । ‘धेरै सार्वजनिक संस्थान घाटामा गएर सरकारले खर्च उपलब्ध गराउनु परेको छ तर निगमले सरकारसँग एक पैसा लिएको छैन,’ केसीले भने । सरकारले ३९ करोड रुपियाँ लगानी गरेर ०१५ सालमा निगम स्थापना गरेको थियो । हाल निगमको सम्पत्ति १६ अर्ब रुपियाँ छ ।

प्रतिक्रिया