बार्सिलोना चेल्सीसँग भिड्दै

म्याड्रिड । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता सेमिफाइनलको दोस्रो लेगमा मंगलबार बार्सिलोना र चेल्सी भिड्दै छन् । गत साता पहिलो लेगमा १–० ले पराजित भएको साविक विजेता बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा इङलिस प्रतिद्वन्द्वी चेल्सीको सामना गर्न लागेको हो ।
स्तरीय र दबदबापूर्ण प्रदर्शन गरे पनि आफ्ना पछिल्ला दुई खेलमा हार व्यहोरेको बार्सिलोनालाई यस प्रतियोगिताको फाइनल यात्रा तय गर्न मंगलबार कम्तीमा दुई गोलअन्तरमा जित आवश्यक छ । सन् २००८ को संस्करणमा उपविजेता भएको चेल्सीलाई भने कम्तीमा बराबरीको नतिजा नै फाइनल प्रवेशका लागि पर्याप्त हुनेछ ।
बितेको एक सातामा दुई महत्त्वपूर्ण खेलमा पराजयको सामना गरेको बार्सिलोनालाई घरेलु मैदानमा हुने यो खेल पुनरागमनको राम्रो अवसर बन्नेछ । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा चेल्सीविरुद्ध र स्पेनिस लिगमा रियल म्याड्रिडविरुद्ध दबाबपूर्ण प्रदर्शन गरे पनि बार्सिलोनाले हार व्यहोरेको थियो ।
यद्यपि, बार्सिलोनाले घरेलु मैदानमा खेलिएका च्याम्पियन्स लिगका पछिल्ला सात खेलमा हार व्यहोरेको छैन । नोउ क्याम्पमा सन् २००९ को सेमिफाइनलमा चेल्सी र बार्सिलोनाबीच गोलरहित बराबरी भएको थियो । चेल्सीविरुद्ध हार व्यहोरे बार्सिलोनाले सन् २००३ पछि पहिलोपटक लगातार तीन खेलमा पराजय व्यहोर्नेछ । सन् २००३ मा बार्सिलोना लगातारका तीन भिडन्तमा भ्यालेन्सिया, एथलेटिको म्याड्रिड र सेल्टा भिगोविरुद्धको खेलमा पराजित भएको थियो । पछिल्ला दुई खेलमा बार्सिलोनाका लिओनेल मेसीले गोल गर्न सकेका छैनन् । उनले जारी सिजनमा ६३ गोल गरेका छन् ।
चेल्सीविरुद्धको पहिलो लेगमा बार्सिलोनाको फिनिसिङ कमजोर रहयो । त्यसमा चेल्सीका डिफेन्डरले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । चेल्सी यो समय राम्रो लयमा छ । चेल्सीले पछिल्ला १४ खेलमा हार व्यहोरेको छैन । लिग प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीविरुद्धको खेलमा चेल्सी पछिल्लोपटक पराजित भएको थियो । एफए–कपको समेत फाइलनमा पुगेको चेल्सी बार्सिलोनाविरुद्ध कम्तीमा बराबरीको नतिजा निकाल्न सफल भए युरोपियन फुटबल प्रतियोगिताको उपाधिनजिक पुग्नेछ ।
चेल्सी र बार्सिलोनाबीचको भिडन्तमा मेसी र चेल्सीका डिडियर ड्रोग्वा प्रमुख आकर्षण बन्नेछन् । पहिलो लेगमा आइभरिकोस्टका ड्रोग्वाले खेलको एक मात्र गोल गरेका थिए । पछिल्लो एक साताका बाहेक जारी सिजनका अन्य खेलमा उत्कृष्ट प्रदर्शन गरेका मेसीका लागि लगातार चौथोपटक फिफा वर्षखेलाडी बन्न राम्रो सहयोगी हुन सक्नेछ– बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको फाइनल प्रवेश । (एजेन्सी)

प्रतिक्रिया