व्यस्त ब्युटिसियन

कुमारीपाटीको ब्युटी क्लबमा पुग्दा पूरै व्यस्त देखिन्थिन् सिफाली पुरी । उनको हात पञ्जाले छोपिएको थियो । त्यसमाथि रङ पोतिएको । व्यस्तताबीच सुनाई पनि हालिन्– ‘हेयर कलर हाइलाइट गरिरहेको ।’ फोल्डिङ कुर्सीमा मोडेल सञ्जु राणा लमतन्न थिइन् । उनको कपालभरि कलर पोतिएको थियो । टसको मस नगरी राणा मूर्तिवत् बसिरहेकी थिइन् ।
सानोदेखि नै हात्तीवनकी सिफालीलाई आफू ‘सुन्दर बन्ने’ र अरूलाई पनि ‘सुन्दर बनाउने’ इच्छा रहेछ । त्यो सपना ब्युटिसियन बनेर पूरा गर्न लागेको सात वर्ष पुग्यो । ‘सानैदेखि म घरमै पनि शृङ्गारसँग खेल्थेँ । अहिले पेसा नै बनाएँ’ सिफालीले भनिन्, ‘पहिला–पहिला त ब्युटिपार्लर जानु, मेकअप गर्नुलाई नक्कल पारेको रूपमा हेरिन्थ्यो । अहिले त्यस्तो छैन ।’ अरू जोसुकैले जे भने पनि आफ्नो घरबाट भने उनलाई भरपूर ‘सपोर्ट’ रहेछ ।
आठ, नौ कक्षा पढ्दादेखि नै पार्लरसम्बन्धी तालिम लिएकी सिफालीले १२ पास गरेदेखि त पार्लर क्षेत्रलाई पेसा नै बनाइछन् । सातवर्षे यो यात्रामा कस्ताकस्ता सेवाग्राही भेटिन् त सिफालीले ? भनिन्, ‘कलाकार, डाक्टर, गायक, व्यापारी सबै आउँछन् ।’ आफ्नो ब्युटिक्लबमा करिस्मा मानन्धर, उषा खड्गी, झरना थापा, रेखा थापा, सभासद्, बी एन्ड बीका डाक्टर, पाइलट, एयरहोस्टेज सबै आउने गरेको उनले बताइन् ।
ब्युटिसियन पेसाबाट सिफाली आफू मात्र सन्तुष्ट छैनन्, सेवाग्राहीलाई पनि दंग पारेर पठाउँछिन् । सम्झिइन्,‘जसरी हामी बिरामी हुँदा डाक्टरकोमा समस्या भन्छौं, त्यसरी उनीहरू पनि हामीलाई आफ्नो समस्या भन्छन् ।’ उनका नियमित ग्राहकमध्ये करिस्मा, झरना, रामकृष्ण ढकाल, नम्रता र सञ्जु पर्छन् । कति त सेवा लिँदालिँदै निदाउँछन् रे †
अहिले हेयर स्ट्रट, हेयर पम्प, हेयर कलर, हेयर कर्ली र हेयर हाइलाइट बढी चलेको उनको अनुभव छ । ‘केही समय अघिसम्म त यसो गर्ने/गराउनेलाई ‘नक्कली’ भनिन्थ्यो’ सिफालीले भनिन्, ‘समयसँगै सबैले बुझ्दै गए । अचेल त्यस्तो धारणा भएकाहरू पनि सुन्दरतामा रुचि राख्छन् ।’
अनुहारमा फेस क्लिजिङ, फेसियल, थ्रेडिङ अचेल प्राय: सबैले गर्ने गरेको उनले सुनाइन् । भनिन्, ‘हातखुट्टामा मेनिकेयर, पेडिकेयर, नेलआर्ट, मेहेन्दी पनि गर्ने चलन बढेको छ ।’ यो सबै गर्नु स्वास्थ्यका दृष्टिले पनि राम्रो भएको उनको दाबी छ । सिफालीले तर्क राखिन्, ‘कपालमा गरिने विभिन्न आइटम, अनुहारको साजसज्जा वा नङ–छालाको हेरचाहले फोहोरमैलाबाट पनि बचाउँछ ।’ आजको जमानामा सुन्दरताप्रतिको चेतनालाई व्यक्तित्व विकासका रूपमा हेर्नुपर्ने राय उनको छ,‘यसले व्यक्तित्वमा निखार ल्याउँछ । व्यक्तित्वले जीवनमा सकारात्मक भूमिका खेल्छ ।’
किन समाजले ब्युटिसियनलाई ‘नराम्रो नजर’ले हेर्दो होला त ? यसको अनुमान उनले सजिलै गरिन्, ‘धेरै मानिससँग घुलमिल गर्नुपर्छ । समाज अझै सादा छ । सहरी क्षेत्रमा मात्रै हरेक सुविधाको पहुँचमा छ ।’ नारीहरू ‘भगवान्’को पालादेखि नै १६ शृङ्गारमा रमाउने गरेका दृष्टान्त सापटी लिँदै उनले सुनाइन्– ‘सुन्दर बन्नु, राम्रो लगाउनु, सजिनु, सिँगारिनु नारीहरूको अधिकारजस्तै भैसक्यो ।’
त्यही मान्यता बोकेकी उपासना थापा सिफालीको ब्युटिक्लबमा तालिम लिन थालेकी छन् । एसएलसी दिएर बसेकी धोबीघाटनिवासी उनले भनिन्,‘आफ्नो सेल्फ केयरका लागि पनि यो तालिम आवश्यक छ ।’ उपासना प्रतिनिधि पात्र मात्रै हुन् ।  व्यक्तिगत केयरका लागि होस् वा सिफालीले जस्तो अरूलाई राम्रो बनाएर आफू रमाउनका लागि, अहिलेका युवतीहरूको आकर्षण यस क्षेत्रमा असाध्यै बढेको छ । यसै भन्छिन् सिफाली ।

प्रतिक्रिया