शीर्ष नेताको आग्रहमा संविधानसभा बैठक स्थगित

काठमाडौं, ११ वैशाख । नयाँ संविधानका विवादित विषयमा छलफल गर्न दलहरूलाई थप समय दिँदै सोमबार बोलाइएको संविधानसभा बैठक सूचना टाँसेर स्थगन गरिएको छ । दलहरूबीच सहमति हुन नसकेका विषयलाई मतदान प्रक्रियाबाट टुंगो लगाउन सोमबार संविधानसभाको बैठक बोलाइएको थियो ।
अर्कोबैठक १४ वैशाखमा बस्ने संविधानसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रमुख दलका शीर्ष नेताहरूको आग्रहमा संविधानसभा बैठक स्थगन गर्ने निर्णय गरेको हो । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको विवाद समाधान उपसमितिले सहमति जुटाउन थप दुई दिनको समय माग गरेको थियो । संवैधानिक समितिले पनि उपसमितिलाई बुधबारसम्मको थप समय दिन कार्यव्यवस्थालाई आग्रह गरेको थियो । तर, कार्यव्यवस्थाले बाँकी विवादित विषयमा सहमति जुटाउन उपसमितिलाई मंगलबारसम्मको मात्र समय दिएको छ ।
कार्यव्यवस्थाको बैठकमा उपसमितिका संयोजक दाहालले दलहरूबीचको छलफल सकारात्मक ढंगले अगाडि बढिरहेको बताउँदै राज्य पुन:संरचना र शासकीय स्वरूपका विषयमा छलफल गर्न थप समय आवश्यक रहेको जिकिर गरेका थिए । संविधानसभामा मतदानबाट टुंगो लगाउनुको साटो छलफल र संवादबाटै सहमति कायम गर्न दलहरू केन्द्रित रहेको उनले बैठकमा बताएका थिए ।
‘सहमति नै नबन्ने स्थिति रहेको भए नियमित प्रक्रियामा जान हुन्थ्यो । अहिले हामी सहमतिको एकदम नजिक पुगेका छौँ र सहमति हुन्छ भन्नेमा विश्वस्त पनि छौं,’ स्रोतका अनुसार कार्यव्यवस्थाको बैठकमा उपसमितिका संयोजक दाहालले भनेका थिए । उनको भनाइमा एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र मधेसी मोर्चाका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले टाउको हल्लाएर समर्थन जनाए ।
बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले शीर्ष नेताहरूलाई विवादका विषयमा एकै ठाउँ उभिएर यथाशीघ्र सहमतिमा आउन आग्रह गरेका थिए । मंगलबारसम्म पनि दलहरूबीच सहमति जुट्न नसके बिहीबार बस्ने संविधानसभा बैठकमा विवादित विषयमा मतदान गरेर टुंगो लगाउने योजना छ ।

प्रतिक्रिया