आठवटा गाडी किन्दै त्रिवि

काठमाडौं, ११ वैशाख । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको ढाड सेक्नेगरी बढाएको शुल्कबाट संकलित रकमले आठवटा गाडी किन्ने तयारी गरेको छ । विद्यार्थीलाई शुल्क वृद्धिको भार बोकाएर त्रिविका पदाधिकारी आºनो सुविधा बढाउन लागिपरेको भन्दै विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।
दुई वर्षअघि त्रिविमा व्यापक सुधार गर्ने भन्दै विभिन्न तहमा हजार प्रतिशतसम्म शुल्क वृद्धि गरिएको थियो । तर, हालसम्म सुधारको कुनै कार्यक्रम त्रिविले अघि सार्न सकेको छैन । बरु शुल्क बढाएर उठेको पैसाले पदाधिकारीहरू राम्रैसित लाभान्वित हुने भएका छन् । त्रिवि कर्मचारी स्रोतका अनुसार आठवटा गाडी खरिदका लागि कार्यकारिणीबाट बोलपत्र आह्वान गर्ने निर्णय भइसकेको छ । ‘सरकारबाट शिक्षक, कर्मचारीको तलब–भत्ताका लागि मात्र अनुदान आउँछ,’ ती कर्मचारीले भने, ‘विद्यार्थीको शुल्क बढाएपछि संकलित रकमबाट गाडी किन्न लागिएको हो ।’
विद्यार्थी प्रवेश, मासिक शिक्षण, परीक्षालगायतमा दुई वर्षअघि हजार प्रतिशतसम्म शुल्क बढाइएको थियो । वृद्धि गरेको रकम गुणस्तरीय शिक्षाका लागि खर्च गर्ने भनिए पनि हालसम्म त्यस्तो कुनै कार्यक्रम त्रिविले अघि सारेको छैन ।
त्रिविका रजिस्ट्रार डा. चन्द्रमणि पौडेलले आन्तरिक स्रोतबाट गाडी खरिद गर्न लागिएको बताए । उनले भने, ‘विद्यार्थीको शुल्क, परीक्षालगायत शुल्कबाट गाडी किन्न लागिएको हो ।’ उनले धेरै गाडी परीक्षाका लागि प्रयोग हुने बताए ।
अहिले एउटा गाडी मात्र भएका पदाधिकारी, डिन र परीक्षा नियन्त्रण कार्यालयका अधिकारीका लागि आठवटा गाडी खरिद गर्न लागिएको हो । उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले नियमविपरीत दुईवटा गाडी लिएका छन् । एउटा मात्र गाडी भएका रेक्टरलाई थप एउटा जिप उपलब्ध गराइनेछ । व्यवस्थापन संकायका डिनलाई एउटा र बाँकी ६ वटा परीक्षा नियन्त्रण कार्यालयले प्रयोग गर्ने बताइएको छ । पनिकालाई चारवटा पिकअप भ्यान, उत्तरपुस्तिका बोक्न एउटा ट्रक र अधिकारीलाई एउटा जिप खरिद गर्ने तयारी छ ।
स्रोतका अनुसार एउटा गाडीका लागि १५ लाखदेखि २४ लाखसम्म पर्ने अनुमान गरिएको छ । खरिद प्रक्रियाका लागि केही दिनमै बोलपत्र आह्वान गर्ने तयारी रहेको स्रोतले बतायो ।
त्रिविले विद्यार्थीबाट चर्को शुल्क उठाए पनि कुनै सुधार गर्न नसकेको विद्यार्थी संगठनको आरोप छ । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले गुणस्तरका निम्ति भन्दै दस गुणा शुल्क बढाए पनि उल्लेखनीय सुधार नभएको बताए । ‘पदाधिकारीले सुविधा लुटेको लुट्यै छन्, तलब पचाउने काम मात्र गरेका छन्,’ अध्यक्ष शर्माले भने, ‘सुधारका लागि शैक्षिक क्यालेन्डरसमेत लागू गर्न सकेका छैनन् ।’
स्नातक र स्नातकोत्तर तहको प्रवेश शुल्क ५० रुपियाँबाट बढाएर पाँच सय बनाइएको थियो । त्यसैगरी, स्नातकको मासिक शिक्षण शुल्क ५० बाट दुई सय ५० र स्नातकोत्तर तहको ६२ रुपियाँबाट तीन सय ५० कायम गरिएको छ । पहिले तोकेकोभन्दा आधा घटाएर त्रिवि कार्यकारी परिषद्ले ०६६ मंसिरमा सो शुल्क कायम गरेको थियो । त्यसैगरी, परीक्षासँग सम्बन्धित विभिन्न शीर्षकमा पनि पाँच सय प्रतिशतसम्म वृद्धि गरिएको थियो ।

प्रतिक्रिया