विद्युत चोरी गर्ने ४२ जना पक्राउ

चितवन, ११ वैशाख ।  नेपाल विद्युत्त प्राधिकरण चितवनको भरतपुर वितरण केन्द्रले विद्युत चोरी गर्ने ४२ जनालाई आज बिहानै पक्राउ गरेको छ ।
प्राधिकरणको टोलीले पश्चिम चितवनका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । टोलीले मेघौली गाविसबाट–३४, दिव्यनगरबाट सात र गुञ्जानगरबाट एक जनालाई पक्राउ गरेको सुपरभाइजर देबराज पराजुलीले जानकारी दिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । कानून बमोजिम उनीहरुलाई कारबाही हुने छ ।
अनुगमन टोलीमा प्राधिकरणका २० कर्मचारी, १५ सशस्त्र प्रहरी र ७ जना नेपाल प्रहरी खट्टिएको थियो ।
विद्युत चोरीमा अग्रणी मानिने चितवनमा केन्द्रले पछिल्लो पटक थालेको नियन्त्रण अभियानमा तीन सय ८४ जनालाई पक्राउ गरी कारबाही गरिसकेकोे छ । दण्ड जरिवानाबाट केन्द्रलाई मासिक २५ लाख आम्दानी भईसकेको छ ।
विद्युत चुहावट नियन्त्रण अभियान तीब्र बनाइएपछि ३१ प्रतिशत चुहावटको अवस्थालाई २६ प्रतिशतमा झारिएको छ ।

प्रतिक्रिया