‘ब्रिक्सका पर्यवेक्षक चाहियो’

दमास्कस, १० वैशाख । सिरियामा युद्धविरामको अनुगमनका लागि पुगेका राष्ट्रसंघीय पर्यवेक्षकलाई सहयोग गरिने सिरियाले जनाएको छ । तर, अधिकांश पर्यवेक्षक ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह) जस्ता तटस्थ राष्ट्रका हुनुपर्नेमा सिरियाले जोड दिएको छ ।
राष्ट्रसंघ र अरब लिगको समर्थनप्राप्त शान्तिदूत कोफी अन्नानले अघिसारेको शान्ति योजना कार्यान्वयनप्रति पनि सिरियाले प्रतिबद्धता व्यक्त गरेको छ । सिरिया भ्रमणमा रहेका भारतीय पत्रकारको टोलीसँग कुरा गर्दै सिरियाली सूचनामन्त्री अद्नान महमुदले यस्तो बताएका हुन् । ‘ब्रिक्स राष्ट्रबाट आउने राष्ट्रसंघका पर्यवेक्षकलाई हामी स्वागत गछौँ, उनीहरूले मात्रै सिरियामा विद्यमान अवस्थाको वस्तुपरक मूल्यांकन गर्न सक्छन्,’ उनले भने ।
गत महिनाको अन्त्यमा भारतको राजधानी नयाँदिल्लीमा भएको ब्रिक्सको शिखर सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रले वार्तामार्फत सिरियाली संकट समाधान गर्नुपर्नेमा जोड दिएका थिए । सिरियाली संकट समाधानका नाममा वैदेशिक हस्तक्षेप हुन नहुने मत उनीहरूले जाहेर गरेका थिए । ‘हामी अन्नानको योजनाअनुसार चल्न तयार छौँ तर यस्तो योजना सार्वभौमिकताको सिद्धान्तअन्तर्गत रहनुपर्छ । हामी वैदेशिक हस्तक्षेपको विरोधमा छौँ,’ विदेशमन्त्री महमुदले भने ।
सरकारविरुद्ध द्वन्द्वरत विद्रोहीहरूलाई ‘सशस्त्र आतंकवादी’ को संज्ञा दिँदै उनले पश्चिमी राष्ट्रले उनीहरूलाई सहयोग गरेको दाबी गरे । अन्नानको शान्ति योजना कार्यान्वयन हुन नदिन पश्चिमी जगत् कम्मर कसेर लागेको आरोप पनि उनले लगाए ।
राष्ट्रसंघीय पर्यवेक्षक सिरिया प्रवेश गरेपछि पनि सिरियामा भिडन्त जारी छ । विद्रोही र सैनिकबीच आइतबार भएको भिडन्तमा दुईजनाको मृत्यु भएको बताइएको छ । सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति बसार अल–असदको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन अझै जारी छ । आन्दोलनमा नौ हजारभन्दा बढीको मृत्यु भइसकेको राष्ट्रसंघले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया