पूर्वमा दैनिक १८ घन्टा लोडसेडिङ

विराटनगर, १० वैशाख । भारतको कटैयाबाट आयात गरिएको ८० मेगावाट विद्युत् यही मंगलबारदेखि कटौती भई ४० मेगावाटमा झर्ने भएको छ ।
विद्युत् कटौतीसँगै यस क्षेत्रमा लोडसेडिङ १८ घण्टा हुने भएपछि पूर्वका उद्योगपति उबद्योग बन्दहुने त्रासमा रहेका छन् । लोडसेडिङले उत्पादन कटौती गरेर उद्योग सञ्चालन गर्दै आएका व्यवसायीले केन्द्रीय प्रसारणबाट विद्युत् नदिए शतप्रतिशत उद्योग बन्द हुने बताएका छन् ।
भारतको कटैया प्रसारण लाइनमा टावर मर्मत थालिएकाले आपूर्ति हँुदै आएको बिजुली आधा कटौती गर्ने भारत सरकारले बताएको छ । सरकारले थप विद्युत् आपूर्ति नगराए मंगलबारदेखि कम्तीमा पनि एक महिनासम्म दैनिक १८ घण्टासम्म सुनसरी मोरङ औद्योगिक करिडोरमा लोडसेडिङ हुने प्राधिकरणले बताएको छ ।
उद्योग संगठन मोरङका द्वितीय उपाध्यक्ष शिवशंकर अग्रवालले सरकारलाई यसबारे चासो लिनु त परैजावोस् जानकारीसम्म नराखेको प्रतिक्रिया दिए । उनले उद्योगी आफैंले स्थलगत अध्ययन गरेर जानकारी गराउँदा पनि कानमा तेल हाली बसेको आरोप लगाए । उद्योगी सुयस प्याकुरेल भने यसलाई गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए ।
भारतको कटैयाबाट आपूर्ति हुँदै आएको विद्युत् टावर मर्मतले गर्दा कटौती हुने जानकारी पाएपछि उद्योग संगठन मोरङका ऊर्जा संयोजक राकेश सुरानाको टोलीले शुक्रबार र शनिबार कटैया सबस्टेसन क्षेत्रमा गएर स्थलगत अध्यन गरी भारतीय अधिकारीसँग जानकारी लिएर फर्किएको छ ।
टोली सदस्यका अनुसार कटैया प्रसारण लाइनअन्तर्गत पलासी अररीया र गडीया भन्ने स्थानमा रहेका टावर मर्मत थालिएको छ । यसैगरी सिपोलदेखि कटैयासम्मको एकस्थान मधेपुरादेखि कटैयासम्म दुई स्थानमा गरी पाँच स्थानमा विहार विद्युत् प्राधिकरणले टावर मर्मत गर्दैछ । सडक किनारामा रहेका टावरको उचाइ बढाउनुपर्ने भएकाले भारतले मर्मत गर्न लागेको हो । भारतीय अधिकारीलाई उद्धृत गर्दै ऊर्जासंयोजक सुरानाले भने, ‘मर्मतका लागि कम्तीमा एक महिनाको समय लाग्ने छ ।’
उनले एक महिनासम्म सरकारले केन्द्रीय प्रसारणबाट विद्युत् आपूर्ति नगराए करिडोरमा हुँदै आएको ६ घण्टे लोडसेडिङ दैनिक १८ घण्टा हुने जानकारी पनि दिए ।
उद्योग संगठन मोरङका अनुसार  सुनसरी मोरङ औद्योगिक करिडोरअन्तर्गत पाँच सयभन्दा बढी उद्योगहरू छन् । विद्युत् समस्याले गर्दा ९५ प्रतिशत उद्योगले उत्पादनमा कटौती गरेका छन् । उत्पादन कटौती हँुदा उद्योगले दैनिक ३० देखि ५० करोड रुपियाँ बराबर घाटा बेहोर्दै आएको उद्योग संगठन मोरङका कार्यकारी सचिव सोमप्रसाद अधिकारीले बताए ।
करिडोरमा रहेको सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल, सोनपुरमा रहेको अरिहन्त मल्टिफाइबर्स उद्योग, मोरङको टंङकिसिनवारीमा रहेको आरती स्ट्रिपलगायतका ठूला उद्योगहरूले बेग्लै फिडर राखेर उद्योग सञ्चालन गरिरहेका छन् । तर, साना उद्योग भने जेनतेन डिजेल जेनेरेटरको भरमा रहेका छन् । ‘उसै पनि जेनेरेटरबाट उद्योग सञ्चालन गर्दा लागत दोब्बर हुने गरेकाले कारोबारमा घाटा छ तर त्यो पनि सरकारले आपूर्ति गराउन सकेको छैन,’ उद्योगी प्याकुरेलले भने ।
उद्योगीहरूले सरकारले आपूर्ति गराउन नसक्ने भए सोझै उद्योगीलाई डिजल आयात गर्न दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया