खोजखबर

औलो बोकेर आउँदै छ लामखुट्टे

सौर्य अनलाइन २०६९ वैशाख ११ गते २:२६ मा प्रकाशित

गर्मी मौसमको सुरुआतसँगै तराई तथा पहाडी जिल्लामा औलो रोगको जोखिम बढ्दै गएको छ । केही वर्ष अगाडिसम्म भित्री मधेस र तराईका जिल्लाको रोगका रूपमा परिचित औलो जलवायु परिवर्तन र तापक्रम वृद्धिसँगै पहाडका माथिल्लो भाग हुँदै केही हिमाली जिल्लाका तल्लो क्षेत्रमा पनि देखिन थालेको छ । लामखुट्टेका कारण सर्ने यो रोगको जोखिम बढ्दै गएपछि सरकारले नियन्त्रणका लागि कार्यक्रमहरू बढाउँदै लगेको छ ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिडी ठाकुरका अनुसार गर्मी मौसमको सुरुआतसँगै देशभरका ६५ जिल्लामा औलो रोगको जोखिम बढेको छ । उनले विशेष गरी वैशाखदेखि भदौ महिनामा बढी देखिने यो रोगले समुद्र सतहबाट १५ सय मिटरमाथिका दस हिमाली जिल्लाबाहेक नेपालका ६५ वटा जिल्लामा जोखिम निम्त्याउन सक्ने बताए । ‘तापक्रममा आएको वृद्धिसँगै लामखुट्टेहरू देखिन थालेका छन्, त्यसकारण यो मौसममा देशका मानिसहरू ढुक्क भएर बस्ने अवस्था छैन,’ डा. ठाकुरले भने– ‘नेपालमा कुल जनसंख्याको ८० प्रतिशत अर्थात् करिब दुई करोड ५० लाख नेपालीको स्वास्थ्य औलोको खतरामा रहेको छ ।’ उनका अनुसार नेपालमा अहिले पनि वार्षिक तीन हजारभन्दा बढी मानिसमा औलोको संक्रमण हुने गरेको मेडिकल ल्याबमा देखिन्छ ।
महाशाखाले भारतीय सिमानासँग जोडिएका तराईका १३ जिल्लालाई औलोको उच्च जोखिममा राखेको छ । ती जिल्लामा झापा, इलाम, मोरङ, महोत्तरी, धनकुटा, सिन्धुली, काभ्रे, नवलपरासी, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा र बाँके रहेका छन् । त्यस्तै हालसम्म औलोको संक्रमण देखा नपरेका १० वटा जिल्लामा हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, बाजुरा, रसुवा, सोलुखुम्बू, भक्तपुर र काठमाडौं रहेका छन् । तर तापक्रम वृद्धिका कारण भक्तपुर र काठमाडौंमा केही बिरामी देखिइसकेका छन् भने बाँकी आठ हिमाली जिल्लाका तल्लो भेगमा पनि फाट्टफुट्ट संक्रमित देखिएको महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख डा. ठाकुरका अनुसार उच्च जोखिममा रहेका १३ जिल्लासहित गत वर्षबाट थप गरिएका १८ जिल्ला गरी ३१ जिल्लामा विशेष कार्यक्रमहरू सञ्चालन हुन थालेका छन् । उनका अनुसार औलो नियन्त्रणका लागि गत वर्षबाट थप गरिएका जिल्लामा डोटी, सुर्खेत, दाङ, कपिलवस्तु, रूपन्देही, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, उदयपुर, सप्तरी, सुनसरी, धनकुटा, पाचथर र सिराहा रहेका छन् ।
औलो लाग्ने कारण
औलो एक प्रकारको ज्वरो हो । यो रोग पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाइका कारण हुने गर्दछ । डा. ठाकुरका अनुसार औलोको जीवनचक्रमा दुईवटा प्रवाह हुन्छन् । त्यही जीवनचक्र पूरा गर्ने क्रममा नै यो रोग तीव्र गतिले फैलन्छ । पहिलो चक्रमा यो रोग संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिमा सार्ने गरेको छ । जब संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्छ, आफ्नो र्‍यालमार्फत व्यक्तिको रगतमा औलोको परजीवीलाई पुर्‍याइदिन्छ । टोकेको १० देखि १२ दिनपछि उक्त व्यक्तिमा औलो रोगको लक्षण देखा पर्दछ । दोस्रो चक्र भनेको औलो रोगीबाट असंक्रमित पोथी एनोफिलिस लामखुट्टेमार्फत स्वस्थ व्यक्तिमा सर्नु हो । रोगीलाई टोकेपछि असंक्रमित पोथी एनोफिलिस लामखुट्टेले बिरामीको रगतसँगै औलोको परजीवीलाई समेत चुस्ने गर्छ । जसको १२ देखि १४ दिनपछि यो लामखुट्टे संक्रमित भएर औलो फैलाउन सक्षम हुन्छ र त्यसले जति पनि स्वस्थ व्यक्तिलाई टोक्छ औलोरोग सार्दै जान्छ । औलो रोगीलाई दिनहुं वा एक दिन छाडेर ज्वरो आउने गरेको छ ।
लक्षण
औलो लागेपछि मानिसहरूलाई एक्कासि कामज्वरो आउने, टाउको, हातखुट्टा तथा जोर्नी दुख्ने, अल्छी लाग्ने, मांसपेशी दुख्ने, ओठमा फोका देखिने, भोक नलाग्ने, जाडो भएर कम्पन हुने र नरम वा मन्द ज्वरो आउने गर्दछ । वाकवाकी लाग्ने, बान्ता हुने, खानामा अरुचि हुने, पसिना आएर ज्वरो कम हुंदा शरीर हिउँजस्तै चिसो हुने, रक्तअल्पताका कारण अनुहार फुस्रो देखिने, कब्जियत हुने, फियो र कलेजो सुन्निने, ठूलो हुने र थिच्दा दुख्नेसमेत गर्दछ ।
उपचार तथा रोकथाम
औलो लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । औलोको परजीवीको विकास हुन र फैलन लामखुट्टे र मानिस नै कारक हुन्छन् । तसर्थ यसको रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम हो । यसका लागि घरवरिपरि लामखुट्टेको वासस्थान नष्ट गर्ने, टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउनु लाभकारी हुन्छ ।  उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ । औलोले सताइसकेको अवस्थामा चिकित्सककहाँ पुगिहाल्नुपर्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय