व्यक्तिगत श्रम स्वीकृतिमा बिदेसिने घटे

काठमाडौं, १० वैशाख । चालु आर्थिक वर्षको चैतमा व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेको संख्या करिब ३९ प्रतिशतले घटेको छ । सरकारले व्यक्तिगत रूपमा विदेश जानेक्रम न्यूनीकरण गर्ने विषेश योजना बनाएपछि चालु आवको चैतमा यो संख्यामा कमी आएको हो ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आवको चैतमा पाँच हजार नौ सय ३२ जना व्यक्तिगत श्रम स्वीकृतिमा बिदेसिएका छन् । तर, गत आवको सोही अवधिमा भने यो संख्या नौ हजार सात सय २० थियो । व्यक्तिगत रूपमा विदेश गएका बढी जोखिममा पर्ने तथा उनीहरूको बिमा नहुने भएकाले दुर्घटना तथा अन्य कारणले मृत्यु भएमा सरकारले राहत दिंदैन । यस्तै, यसरी रोजगारीमा गएका बढी ठगीमा पर्ने भन्दै विभागले केही महिनायता विषेश योजना बनाएर व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गरेको जनाएको छ ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले गत आवका तुलनामा यस वर्ष व्यक्तिगत श्रम स्वीकृतिमा बिदेसिने घटेको बताए । थुप्रै प्रकारले जोखिम बढ्ने भन्दै सरकारले व्यक्तिगत रूपमा विदेश जानेलाई कडाइ गरेको उनको भनाइ छ । महानिर्देशक भट्टराईले आफू विभागको महानिर्देशक भएपछि व्यक्तिगत श्रम स्वीकृतिलाई कडाइ गरेको र यो संख्यासमेत घटेको दाबी गरे । ‘सरकारले अहिले व्यक्तिगत रूपमा विदेश जानेक्रम रोक्नखोजेको छ,’ उनले भने, ‘यो संख्या बढ्दै गएमा जोखिमसमेत बढ्ने छ ।’
विभागका अनुसार चालु आवको नौ महिनामा एक लाख पाँच हजार सात सय २७ जना व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीका लागि बिदेसिएका छन् । गत आवमा भने यो संख्या एक लाख ११ हजार एक सय ९६ रहेको विभागले जनाएको छ । चालु आवको साउनमा २२ हजार ६ सय ६२, भदौमा १८ हजार ६ सय ५२, असोजमा १३ हजार ६ सय १७ जना व्यक्तिगत श्रम स्वीकृतिमा बिदेसिएका छन् ।
चालु आवको कात्तिकमा सबैभन्दा बढी २५ हजार एक सय ३५ जना व्यक्तिगत रूपमा विदेश गएको महानिर्देशक भट्टराईले जनाए । यो संख्या गत आवको सोहीअवधिका तुलनामा दुई सय ३५ प्रतिशत बढी हो । गत आवको कात्तिकमा सात हजार पाँच सय दुई जना व्यक्तिगत रूपमा विदेश गएका थिए । यस्तै, मंसिरमा तीन हजार सात सय १३, पुसमा पाँच हजार पाँच सय ८३, माघमा पाँच हजार पाँच सय ९८, फागुनमा चार हजार आठ सय ३५ र चैतमा पाँच हजार नौ सय ३२ जना व्यक्तिगत श्रम स्वीकृतिमा विदेश गएको विभागले जनाएको छ ।

प्रतिक्रिया