इन्जेक्सन लगाएका एनजीओले नसिकाउ

काठमाडौं, १० वैशख । एमाले नेता केपी शर्मा ओलीले एमाओवादी संविधानसभाको कार्यकाल गुजारेर सरकार टिकाउने खेलमा लागेको आरोप लगाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टीले आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा ओलीले संविधानसभाको कार्यकाल छंदै सरकार हटाउने चेतावनी पनि दिए ।
‘वार्ता गर्दा अव त होला, होला कि जस्तो पार्छ, अनि नेताहरु निस्केर अव सहमति हुनैलाग्यो भन्छन्’ ओलीले भने, ‘भोलिपल्ट पनि भुल्याउछ पर्सिपल्ट भएपछि अर्कै निहु खोज्छ ।’
अरु सबै दललाई अल्मल्याएर संविधानसभा सिध्याउने र संविधान जारी नगरी सरकार मात्र टिकाउने तयारीमा एमाओवादी लागेको ओलीको आरोप थियो ।
‘संविधान जारी नगरी संविधानसभाको म्याद सिध्याउन र सरकार जारी राख्न एमाओवादीले अरुलाई अल्मल्याएको हो’ ओलीले भने, ‘संविधानसभा छंदै सरकार हटाउछौं, नहटे जनता सार्वभौमसत्ता सम्पन्न छन् त्यसपछि भए पनि हटाउछौं ।’
उनले १४ जेठमा संवधान जारी गर्नै पर्ने र त्यसका लागि एमाले लागेको पनि वताए ।
उनले जात सापेक्ष राज्य साम्यवादी दर्शनविरोधी भएको पनि वताए । ‘साम्यवाद भनेको सवैलाई बराबरीको सिद्धान्त हो, धर्म निरपेक्षता हटाएर जाती सापेक्ष राज्य बनाउने होइन’ उनले भने, ‘यो कम्युनिस्ट सिद्धान्त होइन समाजमा घृणा सिकाएर सत्तामा बसिरहने सिद्धान्त हो ।’
जातीय राज्यको पक्षमा रहेका गैरसरकारी संस्थाहरुले समानताका लागि लडेको एमालेलाई समानताको कुरा सिकाउन नसुहाउने पनि ओलीले दावी गरे । ‘पोहोर खुलेका एनजीओले सीमानापारीको इन्जेक्सन लिएर ६३ वर्ष समानताका लागि संघर्ष गरेको कम्युनिस्ट पार्टीलाई समानताका कुरा सिकाउने ?’ ओलीले भने, ‘जात जाती डाडा वारी पारीमा झगडा गराउने इन्जेक्सन लिएर आएकाहरुले मुलुकमा सामनता चाहेका छैनन् ।’
१७ सालमा नेपालको कम्युनस्ट आन्दोलन दक्षिणपन्थीहरुको प्रहार र गएको १० वर्षमा उग्रवामपन्थीको प्रहारको निशाना भएको उनको भनाई थयो । एमाओवादीको १० वर्षे युद्धले समस्या मात्र ल्याएको र त्यसको प्रभाव मुलुकमा लामो समयसम्म पर्ने उनको आरोप थियो ।
‘१० वर्षको उत्पातले परिवर्तन ल्याएको होइन, त्यसले ल्याएका समस्या समाधान गर्न अझै धेरै वर्ष लाग्नेछ’ ओलीले भने, ‘वमपन्थी आन्दोलनलाई बेइज्जत गर्ने माओवादी कम्युनिस्ट हो भने म कम्युनिस्ट होइन, म कम्युनिस्ट हो भने त्यो कम्युनस्ट होइन ।’

प्रतिक्रिया