राजासहितको हिन्दु राष्ट्र आवश्यक छः थापा

चितवन, १० वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ बन्ने संविधानमा संघीयता नभई बलियो राजसंस्था सहितको स्थानीय स्वायत्त शासनको राज्य बनाउनुपर्ने बताएका छन् ।

उनले नेपालमा राजासहितको प्रजातन्त्र आवश्यक भएको जिकिर गर्दै पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र बनाउन समेत माग गरेका छन् ।

राप्रपा नेपाल चितवनको चौथो जिल्ला अधिवेशनका क्रममा आज उनले नेपाललाई जातीय संघीयताले हित नगर्ने बताए ।

उनले भने, ‘बलियो स्वायत्त शासन भएको राजासहितको राज्य बनाउनुपर्छ, मुलुकका लागि यो आवश्यक्ता हो ।’

‘एउटा व्यक्तिलाई राजाका रुपमा स्थापना गर्न होइन ।’ राप्रपा नेपालका अध्यक्ष थापाले भने, ‘देशलाई बर्बाद हुनबाट बचाउन हामीले राजा राख्नुपर्छ ।’

दिगो शान्ति, बलियो प्रजातन्त्र, मूलुकको समग्र आर्थिक विकास र संविधान सभाबाट नयाँ संविधानको निर्माण जनताले चाहेपनि देशमा गणतन्त्र स्थापना पछि चार उद्देश्य उल्टो हुँदै गएको उनको भनाई थियो ।

उनले अहिले देश सर्वसत्तावाद र अधिनायकवादको कारण बर्बाद हुने स्थितीमा आएको दाबी गर्दै तीन दलका नेताका कारण संविधान सभा रवर स्ट्याण्डको रुपमा मात्रै रहेको पनि बताएका थिए ।

प्रतिक्रिया