लक्ष्यहीन गन्तव्य

सात दल र विद्रोही माओवादीबीच भारतको दिल्लीमा १२ बुँदे सहमति भएपछि ठूलै काम भएको ठानिएको थियो । त्यसताका राजनीतिक दलका नेताहरूले नेपालमा चामत्कारिक रूपमा शान्ति स्थापना हुने, दु्रत गतिमा विकास हुने, सम्पूर्ण जनअपेक्षा पूरा हुने जस्ता प्रतिबद्धता नेपाली जनतासामु जाहेर गरेका थिए । अहिले त्यो प्रतिबद्धता जाहेर गरेको ६ वर्ष बित्न लाग्यो । मुलुकको अवस्था दिनानुदिन झन् उकुसमुकुस र अत्यासलाग्दो बन्दै छ । कार्यमा भन्दा भाषणमा रमाउने, राष्ट्रको भन्दा आफ्नो हित सोच्ने र रिमोर्ट कन्ट्रोलबाट सञ्चालित हुने परम्परा स्थापित गरियो । यसले गर्दा हामी अन्योल, अभाव, असुरक्षा र आत्मसमर्पणको अवस्थाबाट गुजि्ररहेका छौँ । हाम्रा सामु काहालीलाग्दो कालखण्ड उपस्थित भएको छ । यसलाई चिर्दै
अगाडि बढ्न राष्ट्रिय भावनाले ओतप्रोत भएको नेपाली मन, नेपाली आस्था,
नेपाली विश्वास र नेपाली जाँगरको आवश्यकता छ ।
विधि, प्रक्रिया, आस्था र विश्वासलाई कुल्चिएर कोही पनि अगाडि बढ्न सक्तैन । समय बडो निर्मम हुन्छ भन्ने कुरा प्रमाणित भएको छ तर हरेश खाने र आत्तिने अवस्थ्ाा छैन । किनभने त्यो निर्मम समयलाई सहज र आफ्नो अनुकूल बनाउन सक्ने क्षमता नेपाली जनतामा छ । ६ वर्षसम्म आफूलाई शीर्ष नेता बताउनेहरूले राष्ट्र र जनतालाई के दिए भन्ने प्रश्न उठ्न थालेको छ । यसको उत्तर ती नेताहरूले दिन सकिरहेका छैनन् । शान्ति, सुशासन, सद्भाव, अधिकार र सहअस्तित्व समाप्त भएको छ । जताततै अशान्ति, अराजकता, बेरोजगारी असहयोग, वैरभाव, भ्रष्टाचार, घुसखोरी र कुशासन मौलाएको छ । जब आफ्नो धर्म, संस्कृति, परम्परा हराउँदै जान्छ तब मुलुकले पहिचान गुमाउने क्रम सुरु हुन्छ । यसतर्फ नेपाली जनता साह्रै चनाखो हुन जरुरी छ । कतै हाम्रो राष्ट्र नै गुम्ने हो कि भन्नेतर्फ ख्याल गर्नु जरुरी छ ।
नेपाली जनता सहनशील र धर्यवान् छन् तर अति भएपछि सहनै पर्छ भन्ने हुँदैन । नेपालका नेतालाई जनताले पत्याउने आधार गुम्दै गएको छ । शान्ति स्थापना र संविधान बन्न नसकेको अवस्था एकातिर विद्यमान छ भने यस्तो बेलामा जनताले कुन व्यवस्था रुचाउँछन् भनेर जनमत संग्रहमा जाने हिम्मत पनि गरिएको छैन । यसरी शासन व्यवस्था कति दिन चल्छ र जनताले कति धैर्य गर्ने ? जे कुराको पनि सीमा हुन्छ तर नेपालका नेताहरूले प्रत्येक विषयलाई सीमाहीन बनाउँदै अनन्तकालसम्म तन्काउने गरेका छन् । यो दुर्भाग्यपूर्ण कार्य हो । संविधान लेख्न तीन/चारजना नेता कस्सिएका छन् । जबकि ६ सय एकजनाको जमात संविधानसभामा छ । यदि तीन/चारजनाले नै संविधान बनाउनु थियो भने ६ सय एकजनालाई किन तलबभत्ता खुवाएर पाल्नुपर्‍यो ? के त्यो भीमकाय संविधानसभा ‘रबर स्टाम्प’ मात्र हो ? नेपाली जनताले खुलेर, छलफल गरेर, जनमत बुझेर संविधान लेख्न त्यहाँ पठाएका थिए ।


तर, सुन्नमा आयो सुनसान स्थान खोज्दै केही व्यक्ति संविधान लेख्न हात्तीवनको जंगलतिर लागे । कस्तो अनौठो ! हात्तीवनको अँध्यारोमा पनि ती तीन/चार व्यक्तिबीच सहमति हुन सकेन । पात्र उनै हुन्, अभ्यास त्यही हो, अब ३५ दिनमा कसरी संविधान बनाउँछन् । पत्याउने अवस्था छैन । यो पाँच वर्षभित्र पत्याउनै नसक्ने गरी ५० अर्ब खर्च भयो । तर उपलब्धि केही भएन । अहिले पनि संविधान लेख्न जोडतोडले वार्ता हुँदैछ भन्ने खबर सुनिँदैछ । वार्तामा तरबार बेचुवा र घिउ बेचुवाको सोच बोकेर उपस्थित हुन्छन् र संविधान बनाउने प्रचार गर्छन् । कोही भन्दै छन् किस्ताबन्दीमा भए पनि संविधान आउँछ । वास्तवमा ठीकै होला ‘रिमोर्ट कन्ट्रोल’ले जे भन्छ संविधान त्यस्तै आउँछ । अर्कातर्फ नेताहरू भन्दै छन् पूर्ण र जनसंविधान आउँदैन । सहमतिको दस्तावेज आउँछ । अनौठा अनौठा तर्क, रुचि र सोच बोकेका नेताहरूले आफ्नो धरातलीय यथार्थ बिर्सिएका छन् । राष्ट्र र जनताप्रतिको दायित्व बिर्सिएका छन् । नेपाली राष्ट्रपति कृतघ्न
बनेर थरीथरीका कुरा गर्दै छन् । यो सरासर बेइमानी हो ।
मुलुकको राजनीति तरल अवस्थामा छ । यस्तो बेलामा समाजलाई अस्वाभाविक लाग्ने, जनतालाई अपाच्य हुने र घृणा गर्न लायक कार्यहरू केही दलका नेताबाट भएको सबैसामु छर्लंग छ । संविधानसभाको निर्वाचन सम्पन्न भएको वर्षौं पुग्न लाग्यो तर गर्छौं भनेको काम नेताहरूले गरेनन् । उनीहरू सत्ता संघर्षमा लिप्त भएर लागे । एकले अर्काको खुट्टा तान्ने र आफू कुर्सीमा विराजमान हुने खेलमै चार वर्ष बिताए । जनताका नजरमा जुन कार्य निन्दनिय र गैरजिम्मेवार ठहरियो नेताहरूले त्यसलाई आफ्ना दैनिकीमा रूपान्तरण गरे । यो मित्थ्या आरोप होइन । चार वर्ष लामो समयसम्म नेताहरूले जे गरे त्यसको वस्तुपरक मूल्यांकन हो । अहिले भर्खरै आएर शान्तिप्रक्रिया टुंगियो भनिँदै छ । साँच्चै टुंगिएको हो भने त्यो राम्रो पक्ष हो । यदि ‘एकातिर टाल्यो, अर्कातिर भ्वाङ’को अवस्थ्ाा छ भने त्यस्तो टुंग्याइको अर्थ र औचित्य रहँदैन । नेपाली जनताले दुःख भोगिसकेका छन् । थुप्रै भाषण सुनिसकेका छन्, नीतिगत तर्क र आश्वासन पनि जनताले सुने र पाए तर कार्यान्वयन भएन । भनाइ र गराइमा ठूलो अन्तर देखियो । ६ महिनामा टुंग्याउने भनिएको शान्तिप्रक्रिया चार वर्षपछि टुंगियो भनिँदै छ । त्यसको पनि विश्वासिलो आधार देखिँदैन ।
दुई वर्षमा सक्ने भनिएको संविधान लेखन कार्य हात्तीवनको अँध्यारो गुफामा विचरण गर्दै छ । पत्याउन नसिकिने र अनौठा अभिव्यक्ति दिएर नेताहरू आफ्नो दुनो सोझ्याउँदै छन् । केही समयअघि छिमेकी मुलुक भारतका एसडी मुनी नाम गरेका प्राध्यापक आएर संविधान आउँछ, राजसंस्था र्फकंदैन र जसरी पनि सबै कुरा मिलाउनुपर्छ भनेर गएछन् । उनी ज्योतिष होइनन् । आउँछ आउँदैन, र्फकन्छ र्फकंदैन र हुन्छ हुँदैन उनले भन्ने कुरा होइन । नेपाली जनताले गर्ने निर्णय हो । नेपालकै नेताको रवैया बुझेर उनले बोलेका होलान् । सबै जनता रिमोर्ट कन्ट्रोलबाट चल्दैनन् । यो कुरा नेताहरूले बुझ्न जरुरी छ । अहिले हाम्रा नेता लक्ष्यहीन गन्तव्यमा छन् । जहाँबाट बर्बादितर्फ पुगिन्छ त्यहाँ पुग्ने लक्ष्य राख्नु हुँदैन । यही लक्ष्यहीनतालाई ठम्याएका विदेशीले रिमोर्ट कन्ट्रोल चलाइरहेका छन् । जुन रिमोर्ट कन्ट्रोलका कारण कठपुतली बनेर नेपालका नेता चलायमान भएका छन् । यस्ता विसंगति बेथितिहरू रोकिनु पर्छ । राष्ट्र र जनताको चाहना बुझेर गरेको काम मात्र टिकाउ, दिगो र भरपर्दो हुन्छ । यही नै अहिलेको आवश्यकता पनि हो ।
-लेखक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष हुन् ।)

प्रतिक्रिया