साढे ४ खर्बको बजेट आउने

काठमाडौं : राष्ट्रिय योजनाआयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले चार खर्ब ३९ अर्बभित्र रहेर आगामी आर्थिक वर्ष ०६९/७० को बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले जिल्ला परिषद्बाट पारित भई सम्बन्धित मन्त्रालयले अगाडि बढाएका योजनामा केन्दि्रत रहेर बजेटको तयारी भइरहेको जानकारी दिएका हुन् । बजेट बाँडफाँडमा राजनीतिक तहबाट दबाब आउने गरे पनि प्रचलित नियमकानुनलाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने उल्लेख गर्दै उपाध्यक्ष क्षत्रीले कार्यक्षमताको आधारमा बजेट तर्जुमा गरिने स्पष्ट   पारे ।
रोजगारी र उच्च आर्थिक वृद्धिलाई विशेष ध्यान दिएर कार्यक्रम अगाडि बढाइएका बताउँदै उनले जनचाहनालाई विशेष ध्यान दिएमात्र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने बताए । राष्ट्रिय विकास परिषद्ले स्वीकृति दिएपछि मात्र ठूला र बहुवषर्य योजना अगाडि बढाइने गरेको उल्लेख गर्दै उपाध्यक्ष क्षत्रीले सरकारी तथ्यांक नै देशको वास्तविकता थाहा पाइने आधार भएकाले विज्ञहरूलाई शंका नगर्न अनुरोध गरे ।
अर्थशास्त्री डा. विमल कोइरालाले सरकारले महत्वकांक्षी नीति तथा कार्यक्रम बनाए पनि कार्यान्वयन नगरेकाले जनतामा निराशा छाएको तर्क गरे । सरकारको स्रोत, साधन र सामथ्र्यले गर्नसक्ने कार्यक्रम मात्र ल्याइनुपर्नेमा जोड दिँदै उनले जनताप्रति उत्तरदायी भएर काम गर्न कर्मचारी र राजनीतिकर्मीलाई सुझाव  दिए ।
प्रा. वासुदेव शर्मा पौडेलले विगतका दस्ताबेजमा अत्यन्त राम्रा कार्यक्रम तथा योजना बनेका भए पनि कार्यान्वयन नभएको उल्लेख गरे ।

प्रतिक्रिया