देश एक प्रक्षेपण अनेक

काठमाडौं, ९ वैशाख । चालु आर्थिक वर्षको वृद्धिदर तीन संस्थाले फरकफरक अनुमान गरेका छन् । अन्तर्राष्ट्रिय मुद्राकोषले हालै सार्वजनिक गरेको विश्वअर्थतन्त्र अनुमान ०१२ मा नेपालको आर्थिक वृद्धिदर सन् ०१२ मा चार दशमलव दुई प्रतिशत रहने अनुमान छ । तर, सरकारको केन्द्रीय तथ्यांक विभाग र एसियाली विकास बैंकले साढे चार प्रतिशतले वृद्धि हुने फरकफरक अनुमान सार्वजनिक गरेका छन् ।
एकै अर्थतन्त्र भए पनि तीन फरक संंस्थाले फरक आधार प्रस्तुत गर्दे त्यस्तो अनुमान सार्वजनिक गरेका हुन् । केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणमा निजी क्षेत्रको लगानी घटे पनि कृषिलगायत अन्य केही क्षेत्रको योगदान बढेकाले आर्थिक वृद्धि गत वर्षभन्दा बढी हुने अनुमान गरिएको हो ।
गत वर्ष नेपालको आर्थिक वृद्धि तीन दशमलव ८१ प्रतिशत मात्र थियो । सरकारले प्रस्तुत गरेको बजेटमा साढे पाँच प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखिए पनि मध्यावधि बजेट समीक्षामा त्यसलाई सच्याएर पाँच प्रतिशत गरिएको थियो ।
विभागका अनुसार नेपालको राष्ट्रिय बचत नौ दशमलव आठ प्रतिशत रहने छ भने अर्थतन्त्रको आकार १५ खर्ब ७८ अर्ब रुपियाँ पुग्नेछ । नेपालको राष्ट्रिय आय चालु आवको अन्त्यसम्म १५ खर्ब ७२ अर्ब पुग्नेछ । पुँजी निर्माण पाँच खर्ब १० अर्ब रुपियाँको हुनेछ भने तीन खर्ब ५५ अर्ब रुपियाँ नेपालको व्यापार घाटा पुग्नेछ । उत्पादनमा सेवाक्षेत्रको योगदान ५० दशमलव ३१ प्रतिशत पुग्ने र कृषिक्ष्ाेत्रको योगदान कुल उत्पादनमा ३४ दशमलव ७८ प्रतिशतले रहने विभागको अनुमान छ ।
विभागका अनुसार चैत मसान्तसम्म विकास बजेट ३५ प्रतिशत मात्र खर्च भएकाले लगानीयोग्य रकम पर्याप्त छ । सम्पूर्ण विकासरकम खर्च हुने हो भने आर्थिक वृद्धि अनुमान गरिएभन्दा पनि बढी हुने उसको दाबी छ ।
यता अन्तर्राष्ट्रिय मुद्राकोष -आइएमएफ)ले सन् ०१२ मा नेपालको वृद्धिदर चार दशमलव दुई प्रतिशत मात्र रहने बताएको छ । सन् ०१३ मा यो दर घटेर तीन दशमलव आठ प्रतिशतमा सीमित हुने उसको अनुमान छ । नेपाल राष्ट्र बैंकले मुद्रास्पिmति सात प्रतिशतमा कायम राख्ने बताइरहेका बेला आइएमएफले भने मूल्यवृद्धि सात दशमलव आठ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । चालु अवको माघ महिनासम्मको तथ्यांकअनुसार नेपालको मूल्यवृद्धि सात दशमलव दुई प्रतिशत मात्र रहेको छ । आइएमएफले भने सन् ०१३ मा मूल्यवृद्धि घटेर सात दशमलव दुई प्रतिशतमा झर्ने अनुमान गरेको छ ।
विगत १० वर्षमा नेपालको मूल्यवृद्धि सन् ००९ मा १२ दशमलव चार प्रतिशतसम्म पुगेको तथ्यांक रहेको छ । आइएमएफका अनुसार गत आवमा चालु खाता कुल गार्हस्थ उत्पादनको तुलनामा शून्य दशमलव नौ प्रतिशतले नकारात्मक रहेकामा सन् ०१२ मा भने दुई दशमलव पाँच प्रतिशतले सकारात्मक रहने प्रक्षेपण गरेको छ ।
त्यसैगरी आइएमएफले निकालेको प्रक्षेपणअनुसार विश्वको आर्थिक वृद्धिदर सन् ०१२ मा साढे तीन प्रतिशत मात्र रहनेछ । गत वर्ष चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको भए पनि सन् ०१२ को पहिलो ६ महिनामा भएको सुस्त आर्थिक गतिविधिका कारण वृद्धिदर सुस्त रहने प्रक्षेपण गरिएको आइएमएफले जनाएको छ ।
आइएमएफले समग्र एसियाको वृद्धिदर भने सन् ०१२ मा ६ प्रतिशत र सन् ०१३ मा ६ दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरेको छ । एसियामा ऋणको समग्र अवस्था सकारात्मक रहेका राष्ट्रहरूमा चीन, मलेसिया र थाइल्यान्ड रहेका छन् भने नकारात्मक रहेका राष्ट्रमा नेपाललगायत अन्य देशहरू रहेका    छन् ।
एसियाली विकास बैंक -एडिबी)ले भने सन् ०१२ का लागि नेपालको आर्थिक वृद्धिदर साढे चार प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडिबीले शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुग्ने अनुमानका गरेकाले सो अनुमान सार्वजनिक गरिएको जनाएको छ तर संरचनागत व्यवधानलगायतका कारणले सन् ०१३ मा भने नेपालको वृद्धिदर चार प्रतिशतमा नै सीमित हुने उसको अनुमान छ । उसले नेपालको मूल्यवृद्धि भने आठ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सन् ०१३ मा भने मूल्यवृद्धि घटेर अहिले राष्ट्र बैंकले तोकेकै हाराहारीमा पुग्ने उसको प्रक्षेपणले जनाएको छ । राष्ट्र बैंकले चालु आवका लागि सात प्रतिशत मूल्यवृद्धि लक्ष्य राखेको छ ।

प्रतिक्रिया