म्याद सकिदा पुग्छ औषधि

इलाम, ९ वैशाख ।  सर्वसाधारणका लागि निःशुल्क उपलब्ध गराइएको ४० प्रकारका औषधि इलाममा पुग्दा म्याद सकिने गरेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय इलामले औषधि व्यवस्था विभागले पठाएका औषधि म्याद सकिन लाग्दा इलाम आइपुग्ने गरेको स्विकारेको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, क्षेत्रीय स्वास्थ्य निर्देशनालय तथा क्षेत्रीय मेडिकल स्टोर हुदै जिल्ला स्वास्थ्य कार्यालयमा पुग्दा औषधिको म्याद सकिने गरेको हो ।
कार्यालयमा आइपुगेका औषधि ग्रामीण क्षेत्रमा स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्दा कामै नलाग्ने अवस्थामा पुग्ने गरेका छन् ।
‘धेरैजसो औषधि म्याद सकिएको आउने र थोरैमा मात्र म्याद हुने गरेको छ,’ स्टोरकिपर कुबेर शर्माले भने, ‘गाउसम्म पुर्‍याउन धेरै समय लाग्ने भएकाले त्यस्ता औषधि नष्ट गर्नुपर्ने झन्झट छ ।’
बालबालिकाका लागि वितरित एमोक्सोलिन क्याप्सुल उपभोग म्याद सकिएकै अवस्थामा पुगेका कारण नष्ट गरिएको कार्यालयले जनाएको छ । गत पुसमा झन्डै ५० हजार थान औषधि गुणस्तरहीन भएपछि फिर्ता गरिएको कार्यालयले जनाएको छ ।
इलाममा जिल्ला अस्पतालबाट ४०, स्वास्थ्यचौकीबाट ३५ र उपस्वास्थ्यचौकीबाट ३२ प्रकारका औषधि निःशुल्क वितरण गरिदै आएको छ ।

प्रतिक्रिया