कहाँ गए कांग्रेसले बटुलेका हतियार ?

काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेसले आह्वान गरेको सशस्त्र क्रान्तिको समयमा कति हतियार जम्मा भयो होला ? ती हतियार कहा गए त ? यसको रेकर्ड कांग्रेससग छैन । सशस्त्र क्रान्ति गरेको चार दशक पुग्न लागे पनि कांग्रेसका नेताहरूसग त्यसबेला संकलित हतियारबारे जानकारी छैन ।
पञ्चायती शासन अन्त्यका लागि बिपी कोइरालाले ०२५ सालमा सशस्त्र क्रान्ति आह्वान गरेका थिए । बिपीले बंगलादेशको अन्तर्राष्ट्रिय सम्मेलन दिल्लीमा भएका बेला त्यहा बाटै सशस्त्र क्रान्ति आह्वान गरेको कांग्रेस नेता चक्रप्रसाद बास्तोला बताउछन् । ‘बंगलादेशमा क्रान्ति सुरु भयो, भारतले साथ दिने भएपछि बिपीलाई नेपालमा पनि सशस्त्र क्रान्ति गर्न उपयुक्त समय लाग्यो होला,’ उनी भन्छन्, ‘उहा“ले क्रान्तिको आह्वान गर्नुभयो ।’
त्यसपछि गिरिजाप्रसाद कोइराला, लोकबहादुर गुरुङलगायत नेताले प्रजातन्त्र पुनर्बहालीका लागि हतियार संकलन गरेका थिए । भारतीय नेताको सहयोगमा कांग्रेसले धेरै हतियार संकलन गरेको गुरुङ बताउछन् । ‘हामीसग २००७ सालदेखिका स्टक हतियारसमेत थिए,’ उनले भने, ‘पछि अत्याधुनिक हतियार नै संकलन भएको थियो तर बंगलादेशको आन्दोलनमा पठायौ ।’
बंगलादेशी नेताले एकको दुई हतियार दिने बताएपछि फारबेसगन्जमा रहेको दुई ट्रक र एक जिप हतियार सहयोगस्वरूप बंगलादेश पठाइएको उनी स्मरण गर्छन् । ‘गिरिजाबाबुको असहमतिका बीच भारतीय नेताको आग्रहमा हामीले दुई ट्रक, एक जिप हतियार बंगलादेशको आन्दोलनका लागि सीमासम्म पुर्‍याइदिएका थियौ,’ उनले भने, ‘उनीहरूकै आन्दोलन सफल हुन समय लागेकाले हतियार फिर्ता आएन ।’
बंगलादेशको आन्दोलनलाई सहयोग गर्न भारतका जयप्रकाश नारायणसहितका नेताको आग्रहपछि हतियार दिइएको उनको भनाइ छ । बंगलादेशले धेरै हतियार फिर्ता नगरेको उल्लेख गर्दै उनले भने, ‘पछि भारतले सीमामा कडाइ गरेर हामीसग भएका हतियार पनि सिज गरिदियो ।’ उनका अनुसार बंगलादेशलाई हतियार दिएपछि पनि धेरै हतियार जम्मा गरिएको थियो ।
०३० सालमा विभिन्न ठाउमा आक्रमण गर्ने क्रममा केही हतियार नष्ट भएको र केही हतियार सुरक्षाकर्मीले कब्जा गरेको उनले बताए । टिम्बुरबोटे घटनापछि आफूसग बचेको एक थान पेस्तोल र चार राउन्ड गोली पनि लारुम्बाको भिरबाट फालिएको उनको भनाइ छ । १ पुस ०३१ मा ओखलढुंगाको टिम्बुरबोटेमा सुरक्षाकर्मीको आक्रमणबाट कांग्रेस कार्यकर्ताको मृत्यु भएको थियो ।
उनका अनुसार बिहारका नेता सर्जु मिश्रका छोरा अशोकसग मिलेर उनले ६ सय थान राइफल, चार सय ग्रिनेट र ठूलो संख्यामा माइन मिश्रकै घरमा राखेका थिए । ‘अशोक र म मिलेर सर्जुकै घरमा धेरै हतियार स्टोर गरेका थियौ,’ उनले भने, ‘ती हतियार कहा गए मलाई केही थाहा छैन ।’ उनले बाकी हतियार कहा गयो भन्ने रेकर्ड पार्टीसग नभएको बताए । ‘विगतलाई मूल्यांकन गरेर अघि बढेको भए कांग्रेस यस्तो दयनीय अवस्थामा आउने थिएन,’ उनले भने, ‘हतियार र क्रान्तिको मात्र होइन कांग्रेसमा कुनै पनि कुराको रेकर्ड छैन ।’ टिम्बुरबोटे घटनापछि आफूले हतियार र सो घटनाबारे १८ पृष्ठ लामो प्रतिवेदन बिपीलाई बुझाएको जनाउदै उनले भने, ‘त्यसपछि मैले हतियारबारे चासो राखिन ।’
कांग्रेसको दस्ताबेज संकलन गरेका केन्द्रीय सदस्य गगन थापाले पनि सशस्त्र क्रान्तिका बेला संकलन गरिएका हतियार कहा गयो भन्ने कुनै जानकारी पार्टीसग नभएको बताए । ‘हामीले त्यसबारे धेरै सोधखोज गर्‍यौ,’ उनले भने, ‘तर, पार्टी कार्यालयमा मात्र होइन अन्यत्र पनि औपचारिक र अनौपचारिक दस्ताबेज केही पाइएन ।’
पूर्वमहामन्त्री कुलबहादुर गुरुङ पनि सशस्त्र क्रान्तिका लागि कति र कस्ता हतियार संकलन भएका थिए र त्यो कहा गयो भन्ने रेकर्ड पार्टीमा नभएको बताउछन् । ‘सशस्त्र क्रान्तिको आह्वान भयो,’ उनले भने, ‘हतियार संकलन र केही स्थानमा त्यही हतियारको बलमा आक्रमण पनि भयो तर त्यसबारे पार्टीको कुनै पनि निकायमा आधिकारिक डकुमेन्ट भेटिएको छैन ।’ उनले हतियार संकलन र स्टोर गर्ने जिम्मेवारी बिपीले गिरिजाप्रसाद र लोकबहादुरलाई मात्र दिएको बताए ।

प्रतिक्रिया