विद्युत चोरी गर्ने २४ जना पक्राउ

चितवन, ८ वैशाख । देशैभर उपभोक्ताले लोडसेडिङको चरम मार खेपिरिहेका बेला चितवनमा विद्युत चुहावट नियन्त्रण अभियानलाई तीब्र पारिएको छ ।

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले पछिल्लो समयमा विद्युत चोरी गर्नेहरुलाई लगातार कारबाही गर्दै आएको छ ।

प्राधिकरणको टोलीले आज बिहानै पश्चिम चितवनका विभिन्न स्थानबाट २४ जना विद्युत चोरीमा संलग्नहरुलाई पक्राउ गरेको छ ।

बिहान साढे तीन बजे छड्के जाँचमा निस्किएको सुरक्षाकर्मी र प्राधिकरणका कर्मचारीको टोलीले विद्युत चोरी गर्नेलाई रंगेहात समातेको भरतपुर वितरण केन्द्रका प्रवक्ता शुरेस पण्डितले जानकारी दिए ।

छड्के अनुगमनमा निस्किएको टोलीले पश्चिम चितवनको जगतपुर गाविसबाट १३, पटिहानी गाविसबाट ७ र पार्वतीपुर गाविसबाट ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यलय चितवनमा राखिएको छ ।

विद्युत चोरीमा संलग्नहरुलाई प्राधिकरणले तोकेको न्यनूतम जरिवाना तीन हजार छ सय रुपियाँ सम्म लिने प्रावधान छ ।

विद्युत चुहावट नियन्त्रण अभियानले दिउँसोमा छड्के जाँच गरिरहेका बेला रातिमा चोरी बढेको जनगुनासो आएपछि अभियानलाई रातिमा पनि परिचालन गरिएको वितरण केन्द्रले जनाएको छ ।

छड्के जाँचका क्रममा विद्युत चोरीगरि सञ्चालन गरिएका पाँच थान मोटर, दुईथान फ्रिज, एक थान टिभी र केहि पंखाहरु बरामद गरिएको प्राधिकरणका प्रवक्ता पण्डितले जानकारी दिए ।

प्राधिकरणले पछिल्लो समयमा चुहावट नियन्त्रण अभियान थालेपछि बिद्युत चोरी गर्ने क्रम कम भएको दाबी गरेको छ ।

प्रतिक्रिया