‘जिउदै जलाएर मारे’

महेन्द्रनगर, ७ वैशाख । बिहेमा जान उनी घरबाट निस्किए । सम्धीको छोराको विवाहमा भोजभतेरको कल्पना गर्दै हिडेका उनी सम्धीको घर त पुगेनन् नै, आफ्नै घरसमेत फर्किएनन् । फर्कियो त उनको आधा जलेको मृत शरीर ।
घटना डडेल्धुरा जिल्ला आलिताल–५ का गौरथली निवासी ४९ वर्षीय प्रताप धामीको हो । उनी कुनै भवितव्यमा परेर जलेका थिएनन् । मृतकका परिवारजनको भनाइमा उनलाई जिउदै जलाइएको हो । अचम्म त उनको चित्कार र पुकार सुन्ने कोही भएन । उनको परिवारजन न्यायको पर्खाइमा छ ।
अढाई महिनाअघिको त्यो घटना भित्रभित्रै रह्यो । प्रहरीले नै सार्वजनिक नगर्न भनेको परिवारले बताएका छन् । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न पाचजनालाई हिरासतमा लिएको छ । मृतकका परिवारजनको किटानी जाहेरीका आधारमा २९ माघमा प्रहरीले पाचजनालाई पक्राउ गरेको हो ।
‘आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरेका छौ,’ महाकाली अञ्चल प्रहरी कार्यालयका एसएसपी सुदीप आचार्यले सौर्यसग भने ‘उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा दायर गरेर कारबाही अघि बढाएका छौ ।’
अञ्चल प्रहरीका अनुसार आलिताल–५ सिस्नेका रामदत्त भट्ट, तेजराज भट्ट, अम्बादत्त भट्ट, मानसिंह बोहरा र पदम बोहरालाई पुर्पक्षमा राखेर अनुसन्धान थालिएको हो ।
२५ माघ दिउसो १२ बजे धामीको शव मौरीबजारमा रहेको मानसिंह बोहराको चिया पसलबाट दस मिटर पर नचिनिने गरी आधा जलेको अवस्थामा फेला परेको थियो । घटनाको भोलिपल्ट बिहान खबर पाएलगत्तै घटनास्थल पुगेका उनका परिवारजनले मृतक धामीले लगाएको पाइन्ट, टोपी र चप्पलबाट पहिचान गरेका थिए । ‘कम्मरभन्दा माथिको माग पूरै जलेर नचिनिने अवस्थामा थियो,’ मृतकका भाइ दलबहादुर धामीले भने, ‘उनलाई जलाएर हत्या गरिएको हो ।’
डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेले घटनाको प्रकृतिले हत्या गरेको देखिएको बताए । ‘शवको प्रकृति र अन्य छानबिनको क्रममा पाइएको प्रमाणले हत्या भएको देखिन्छ,’ घिमिरेले भने । उनले मारेपछि जलाइएको  वा जलाएर मारिएको यकिन हुन नसेको बताए । घटनास्थलमा फेला परेका मृतक धामीका कपालका रौ, लुगा, टोपी र अन्य सामाना विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । ‘विधिविज्ञान प्रयोगशालाको रिर्पोटपछि कुन प्रकृतिले मारिएको भन्ने खुल्छ ।’ उनले भने, ‘जिल्ला अस्पतालको पोस्टमार्टम रिपोर्टले ल्याबटेस्टपछि मृत्युको कारण पत्ता लाग्ने जनाएकाले विधिविज्ञान प्रयोगशाला पठाएका हौ ।’
मृतकका भाइ दलबहादुरका अनुसार विवाहमा जान हिडेका धामीलाई रामदत्तले मानसिंह बोहराको चिया पसलमा बोलाएका थिए । त्यहा रामदत्त, तेजराज, अम्बादत्त, मानसिंह र पदम मदिरा सेवन गरी राति १२ बजेसम्म तास खेलेका थिए । उनीहरू सोही रात सगै त्यही होटलमा सुतेका थिए । धामी पनि मदिरा सेवन गरेर उनीहरूसगै थिए । राति १२ बजेपछि प्रतापलाई रामदत्तले सगै रहेका आफन्तको सहयोगमा डिजेल छर्केर जलाएर हत्या गरेको दलबहादुरले दाबी गरे । घटनास्थलबाट प्रहरी चौकी एक घन्टाको दूरीमा छ । दुई पसल मात्रै रहेको मौरीबजारबाट धेरै दूरीमा सानो बस्ती छ । त्यसैको फाइदा उठाएर हत्या गरिएको परिवारजनको आरोप छ ।
आलिताल गाविसमा रहेको शान्तिपुर सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तथा काठ व्यापारी रामदत्त र  मृतक धामीको आपसी लेनदेन थियो । सिलाइकटाइ पेसा गर्ने जेठी छोरी देवकीबाट दस हजार सापटी लिएर चार वर्षअघि रामदत्तलाई ऋण दिएका थिए । रकम फिर्ता नदिएपछि धामीले रामदत्तसग रहेका काठ बोक्ने दुई अवैध शक्तिमान ट्रकबारे प्रहरीलाई बताइदिने धम्की दिने गरेका थिए । ‘मदिरा सेवन गरेका बेला दाइले बेलाबेलामा सामान्य रूपमा त्यसरी नै उस (राम) लाई धम्क्याउने गथ्र्यो,’ दलबहादुरले भने, ‘प्रहरीलाई बताए ज्यान मार्ने धम्की दिने रामदत्तले ज्यान लिएरै छाड्यो ।’
चुरे काण्डमा छानबिनमा आएको अख्तियार दुरुपयोग आयोग अनुसन्धानको टोलीले काठ व्यापारी रामदत्तका ती ट्रक अवैध भएको ठहर गर्दै नियन्त्रणमा लिएको थियो । जुन अहिले डडेल्धुरा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् । घटना भएका दिन रामदत्तले ट्रकको इन्जिनमा नम्बर लेखाउन महेन्द्रनगरबाट सुरेन्द्र सिंह नाम गरेका भारतीय मिस्त्रीलाई  बोलाएका थिए । प्रहरीले सिंहलाई पक्राउ गरे पनि संलग्नता नदेखिएकाले बोलाएका बखत हाजिर हुने गरी छोडेको छ ।
अभियुक्त तेजराज काठ व्यापारी रामदत्तका भाइ हुन् । अम्बादत्त साला हुन् भने पदम मृतक अध्यक्ष रहेको शान्तिपुर सामुदायिक वनका चौकीदार हुन् । अभियुक्तहरूले आपूmहरूले हत्या नगरेको बताएका छन् । उनीहरूले डडेल्धुरा जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने गरी भएको आदेशविरुद्ध  पुनरावेदन गरेका छन् ।

प्रतिक्रिया