‘छैटौं राष्ट्रिय खेलकुदमा भ्रष्टाचारको गन्ध’

काठमाडौं, ७ वैशाख । संसदको सार्वजनिक लेखा समितिले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा भएको आर्थिक अनियमितता छानविनगर्न उपसमिति गठन गरेको छ ।

सिंहदरवारमा आज विहान बसेको बैठकले एमाले सभासद भानुभक्त जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानविन उपमिति गठन गरेको सभापति रामकृष्ण यादवले जानकारी दिए ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा भ्रष्टाचार भएको आरोप अधिकांश सभासदले लगाएका थिए । उनीहरुले सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

कांग्रेस सचेतक कमला पन्त, एकीकृत माओवादीका टेकबहादुर बस्नेत, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमोदप्रसाद गुप्ता र राप्रपाका अलाउद्दिन अन्सारी छानविन उपसमितिमा सदस्य छन् ।

समितिले स्थलगत अवलोकन र सम्बन्धित पक्षसंगको छलफल पछि वैशाख मसान्त भित्र आफ्नो छानविन प्रतिवेदन समितिमा बुझाउनु पर्ने छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा बनाईएका भौतिक पूर्वाधार, खेलाडीका लागि खरिद पोसाक, खाना र आवासमा समेत अनियमितता भएको आशंका गर्दै समितिले आफ्नो छानविन अगाडि बढाएको हो ।

खेलकुद राज्यमन्त्री गोपी अछामी, सचिव सुशील घिमिरे तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामासंग समितिले आजपनि स्पष्टिकरण लिएको थियो ।

फागुन–१४ देखि २१ गते सम्म सुदूरपश्चिमको धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अनियमिता भएको भन्दै स्थानीय राजनीतिक दलका नेताहरुले समितिमा उजुरी समेत गरेका छन् ।

प्रतिक्रिया