बुद्धको बोइङ अट्ने ह्याङ्गर

काठमाडौं, ६ वैशाख । निजी वायुसेवा कम्पनी बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बोइङ तथा एयरबसका जहाजसमेत अट्ने आधुनिक ह्याङ्गर निर्माण गरेको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को आर्थिक सहयोगमा कम्पनीले अन्तर्राष्ट्रियस्तरको ह्याङ्गर निर्माण सम्पन्न गरेको हो । २५ लाख अमेरिकी डलर अर्थात् करिब २० करोड ५० लाख रुपिया लागतमा निर्माण गरिएको ह्याङ्गरमा बोइङ ७३७ तथा एयरबस ३२० जहाज अट्ने बताइएको छ ।
३७ हजार वर्गफिटमा फैलिएको ह्याङ्गरमा सुरक्षित उडान सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरका करिब ७५ करोड रुपिया बराबरका पार्टपुर्जा भण्डारण गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरले ह्याङ्गर निर्माणका लागि आइएफसीसग सन् ००८ मै सम्झौता गरेको भए पनि नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध नगराएका कारण काम सुरु गरेको थिएन । दुई वर्षअघि शरत्सिंह भण्डारीका पालामा जग्गा उपलब्ध गराउने निर्णय भएपछि ०१० मा निर्माण सुरु गरिएको कम्पनीले जनाएको छ ।
प्राधिकरणबाट जग्गा भाडामा लिएर ह्याङ्गर निर्माण गरेको कम्पनीले प्राधिकरणलाई प्रतिमहिना प्रतिस्क्वायर फिट एक सय ६५ रुपिया बुझाउनु पर्छ । यसअनुसार वार्षिक करिब ६५ लाख रुपिया जग्गाभाडा तिर्नुपर्ने कम्पनीले जनाइएको छ । बुधबार आयोजित कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले ह्याङ्गर उद्घाटन गरे । सो अवसरमा मन्त्री विष्टले हवाई सेवामा निजी क्षेत्र अगाडि आउनु सकारात्मक भएको उल्लेख गर्दै सरकारले सहयोगीको भूमिका निर्वाह गर्ने बताए । साना जहाज ल्याएर दुर्गम क्षेत्रमा पनि सेवाविस्तार गर्न उनले आग्रह गरे । सुगम गन्तव्यमा उडान गर्नुपर्ने वायुसेवा कम्पनीले दुर्गममा पनि उडान गर्नुपर्ने प्रावधान भए पनि बुद्धले सुगममा मात्र उडान गर्दै आएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले नेपालको हवाईक्षेत्रमा बुद्ध एयरले कोसेढुंगा स्थापित गरेको बताउदै लगानी बढे पनि थोरैमात्र सफल भएको बताए । कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत तथा एटिआर र आइएफसीका प्रतिनिधि उपस्थित थिए ।
ह्याङ्गर उद्घाटनसगै कम्पनीले ५०० सिरिजको अर्को एउटा एटिआर ७२ जहाज किन्ने घोषणा गरेको छ । आगामी सेप्टेम्बर पहिलो सातासम्म आइपुग्ने बताइएको सो जहाज खरिदका लागि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत र जहाजनिर्माता कम्पनी एटिआरका सिइओ फिलिपो ब्याग्नोटोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । करिब ६५ करोड रुपिया पर्ने सो जहाजबाट बजारको मागअनुसार सुगम गन्तव्यहरूमा उडान गर्ने कम्पनीले जानकारी दिएको छ । दुर्गम गन्तव्यमा उडान गर्न ट्विनअटर जहाज ल्याउने गृहकार्य सुरु भएको र सन् ०१४ सम्ममा तीनवटा ट्विनअटर जहाज आइपुग्ने कम्पनीले बताएको छ । कम्पनीसग हाल तीनवटा बिचक्र्याºट १९००, तीनवटा एटिआर ४२ र दुईवटा एटिआर ७२ जहाज छन् ।

प्रतिक्रिया