पैसा छैन बझाङको रावा बैंकमा

कैलाली, ६ वैशाख । बझाङस्थित राष्ट्रिय वाणिज्य बैंकमा करिब दुई सातादेखि रकमअभाव चर्किएको छ । बैंकमा पैसा नभएपछि टा–टाढाबाट पैसाका लागि सदरमुकाम आउने सेवाग्राही रित्तोहात फर्कन बाध्य छन् ।
२३ चैतमा बैंकमा रकम सकिएको भए पनि नेपालगन्जस्थित नेपाल राष्ट्र बैंकले दुई साता बित्न लाग्दासमेत पैसा नपठाएपछि सेवाग्राही मर्कामा परेका हुन् । बैंकमा पैसा नभएपछि जिल्लावासीले नया वर्षसमेत राम्रोसग मनाउन पाएनन् । रकमको अभावमा सेवाग्राहीले दैनिक जम्मागरेको पैसाले दुई हजार रुपिया सम्मको चेक मात्र साट्ने गरेको बैंकका प्रबन्धक अर्जुनदेव गिरीले बताए । गिरीले दुई तीन दिनभित्र पैसा नआए बैंक नै बन्द गर्नुपर्ने अवस्था रहेको बताए ।
राष्ट्र बैंक केन्द्रीय कार्यालयमा पैसा सकिएको जानकारी गराएको भए पनि बैंकले बझाङको समस्यालाई गम्भीर रूपमा नलिएकामा प्रबन्धक गिरीले दुखेसो व्यक्त गरे । उनले जिल्लाका
लागि रकम पठाउने नेपालगन्जस्थित राष्ट्र बैंकमा सम्पर्क गर्दा ‘आज आउछ, भोलि आउछ’ भनेर टार्ने गरेको बताए ।
बझाङमा भरपर्दो मोटर बाटो नभएकाले नेपालगन्जबाट हवाई जहाजमा पैसा ल्याउनुपर्छ । जिल्लाभरका लागि यो नै एउटा मात्रै बैंक हो । जिल्लाको ग्रामीण भेगबाट एक सातासम्म हिंडेर पैसाका लागि आएका सेवाग्राहीले चेक नसाटिएर आफूहरूलाई मर्का परेको बताएका छन् ।

प्रतिक्रिया