केक काट्दा रंगभेदको आरोप

स्कटहोम, ६ वैशाख । स्विडेनकी संस्कृतिमन्त्री लेना एडेलसोनमाथि केक काटेकै कारण रंगभेदीको आरोप लगाइएको छ । उनले अफ्रिकी आदिवासी महिलाको आकृति झल्कने केक काटेर अश्वेत जातिलाई गिज्याएको भन्दै उनको राजीनामा मागिएको छ ।
अश्वेत महिलाको आकृति झल्कने केक मन्त्री एडेलसोनले मुस्कुराउदै काटेको फोटो सञ्चारमाध्यममा प्रकाशित भएपछि उनीमाथि रंगभेदीको आरोप लागेको हो । उनले स्कटहोमस्थित मोर्डन आर्ट ग्यालरीमा केक काटेकी थिइन् । नग्न अफ्रिकी महिलाको शरीरको माथिल्लो भाग झल्किने आकृतिमा केक बनाइएको थियो ।
अफ्रिकामा महिलाहरूको गुप्तांग काट्ने (खतना) संस्कारविरुद्ध जनचेतना जगाउने उद्देश्यले केक काट्ने कार्यक्रम आयोजना गरिएको संग्राहलयले जनाएको छ । तर, अफ्रिकी स्विडिस एसोसिएसनले यसलाई ‘रंगभेदी ठट्टा’ को संज्ञा दिदै मन्त्री एडेलसोनको राजीनामा मागेको छ । एसोसिएसनकी प्रवक्ता किटिमब्बा साबुनीले भनिन्, ‘राम्रो उद्देश्य राखेर केक काटेको उनीहरू बताइरहेका छन् तर खतनाको शिकार भएका महिलामाथि गरिएको यो नराम्रो ठट्टा हो ।’
केक बनाउने कलाकार मेकोड लिन्डे स्वयं अश्वेत मूलका स्विडिस नागरिक हुन् । उनी पनि केक काट्ने कार्यक्रमलाई गलत ढंगले बुझिएको बताउछन् । ‘स्विडेनमा रहेका अफ्रिकी–स्विडिस मूलका मानिसमा कला बुझ्ने क्षमता राम्रो छैन । एसोसिएसनका सदस्यमा पनि यस्तो सुझबुझ देखिएन,’ उनले भने ।
विश्व कला दिवसका अवसरमा केक काट्ने कार्यक्रम आयोजना गरिएको थियो । अश्वेत जातिका मानिसले भोगेका समस्यालाई कलामार्फत प्रस्तुत गर्न कार्यक्रम गरिएको थियो । मन्त्री  एडेलसोनले घटनाले मानिसलाई किन उत्तेजित बनायो भन्ने आफूले नबुझेको बताएकी छन् । एक विज्ञप्ति जारी गरी उनले भनेकी छिन्, ‘विश्व कला दिवसका अवसरमा मलाई कलाको स्वतन्त्रताबारे मन्तव्य राख्न आमन्त्रण गरिएको थियो, मन्तव्य राखेपछि मलाई केक काट्न आग्रह गरियो । म कलाको समीक्षक होइन तर पूरै घटनालाई गलत रूपमा व्याख्या गरिएको छ भन्ने म राम्रोसग बुझ्न सक्छु ।’ (एजेन्सी)

प्रतिक्रिया