ओलम्पिक दौडमा बेकह्याम

लन्डन, ६ वैशाख । ओलम्पिकका लागि राष्ट्रिय फुटबल टोली तयार गर्ने अभियानमा रहेको इङल्यान्डले डेभिड बेकह्यामको आशा कायमै राखेको छ । बिहीबार छानिएका ८० खेलाडीमा बेकहयामको पनि नाम समावेश गरिएको छ । गत जनवरीबाट टिम निर्माण गर्न सुरु गरेका प्रशिक्षक स्टुआर्ट पर्सले १ सय ९१ खेलाडीबाट ८० जना छानेका हुन् । सन् १९६० पछि ओलम्पिकमा पहिलोपटक फुटबल टोली सहभागी गराउन लागेको इङल्यान्डले जुनमा अन्तिम १८ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्ने जनाइएको छ ।
ओलम्पिक फुटबलमा २३ वर्षभन्दा माथिका तीन खेलाडी मात्र राष्ट्रिय टोलीमा रहने व्यवस्था छ । हाल अमेरिकी क्लब लस एन्जेलस ग्यालेक्सीका लागि खेलिरहेका र आगामी महिना ३७ वर्षमा टेक्ने बेकहयामले आसन्न लन्डन ओलम्पिकमा खेल्ने इच्छा रहेको बताउँदै आएका छन् । हालसम्म राष्ट्रिय टोलीमा रहेर १ सय १५ पटक खेलेका बेकहयामले अन्तिम खेल भने सन् २००९ को अक्टोबरमा खेलेका थिए । स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डले अन्तर्राष्ट्रिय फुटबल महासंघ -फिफा) सँगको स्वतन्त्र मान्यता गुमाउने डरले इङल्यान्डले करिब ६८ वर्षयता ओलम्पिकमा फुटबल टोली नपठाएको हो ।

प्रतिक्रिया