सूचनाको संसारमा रमाउदै नेपाली समाज

एउटा बेला थियो, एक ठाउको समाचार अर्को ठाउमा पुर्‍याउनका लागि चराचुरुंगीको प्रयोग गरिन्थ्यो । देउराली डाडामा चढेर कटुवाल लगाइन्थ्यो अर्थात् ठूलो स्वरमा कराएर सूचना र समाचार प्रसार गरिन्थ्यो । आजभन्दा १५ वर्ष पहिले म झिमु्रकवासीको बिजुली अभियानलाई सहयोग गर्ने सिलसिलामा प्युठानको खैरामा पुगेका बेला आयोजित गाउभेलाको सूचना यसैगरी गरिएको थियो । पहिलोचोटि यस्तो वैज्ञानिक तरिका देखेर म दंग परेको थिए । हुलाकीले छिर्लिङ्छिर्लिङ आवाज निकाल्दै त्रिशूलमुखी लौरो बोकेर डाक बोकेको पनि हामीले देखेकै हो । डाक समयमा पुगोस् भनेर हुलाकीसग बोल्नु हुदैन र उसलाई बाटो छाडिदिनुपर्छ भन्थे । हामी त्यसै गथ्र्यौं । पल्लाघरका छिमेकी नै हुलाकी भए पनि डाक बोकेका बेला उनीसग बोल्न र कुराकानी गर्नु हुन्नथ्यो । बोले पनि उनी टाउको मात्र हल्लाएर आङ्खनै गतिमा हिडिरहन्थे । सुसेलीका भरमा पनि सञ्चार आदानप्रदान गरिन्थ्यो । बाल्यकालको यस्तो मीठो अनुभव तीन दशकमै दन्त्यकथा होला भनेर कल्पना पनि गरिएको थिएन ।
त्यसपछि आयो टेलिफोन र पत्रिकाको जमाना । हामी पञ्चायती निरंकुशतामा हुर्केका पुस्ता भएकाले त्यसबेला स्वतन्त्र पत्रिका र पत्रकारिता भन्ने कुरै थिएन । पञ्चायतविरुद्धको गन्ध आउने लेख वा समाचार देख्नेबित्तिकै पत्रिका जफत हुन्थे, दर्ता खारेज हुन्थे । अनि सिडिओ र अञ्चलाधीशको ठाडो आदेशमा हिरासत र कारागारको बास हुन्थ्यो । तर, अहिले जमाना यति बदलियो कि अहिले पत्रिका नभएको र नपुगेको न सहर छ न गाउ । पत्रपत्रिकाको बग्रेल्ती यस्तो छ कि अब त पार्टी, संस्था र हुनेखाने उद्योग व्यवसायी मात्र नभएर प्रत्येक गुट र उपगुटदेखि तस्करका समेत लस्करै छन् पत्रपत्रिका, रेडियो र टेलिभिजनहरू । कस्तो छलाङ मार्‍यो समयले, थाहै नपाइकन । आवा अर्थात् आकाशवाणीको कुरा झनै रोचक छ । पहिलोचोटि म आफू पढिरहेको आठराई संक्रान्ति बजारमा आवा स्थापना हुदा ठूलै चमत्कार भएझै लाग्थ्यो हामीलाई । आवा पठाउनसक्नेको निकै इज्जत थियो, किनकि यसका लागि अर्को कित्तामा उसको कोही न कोही हुनैपथ्र्यो । मैले संक्रान्तिमा आवा पठाएको ०३५ सालमा काठमाडौं आएपछि पहिलो हो, जसका लागि अहिलेकै त्रिपुरेश्वरस्थित नेपाल दूरसञ्चार संस्थान पुग्नुपथ्र्यो । तैपनि चिठीका तुलनामा धेरै महगो पर्ने भएकाले कमै प्रयोग गरिन्थ्यो ।
पहिलोचोटि टेलिफोन देखेको त काठमाडौंमै हो । अहिलेकै वीर अस्पतालस्थित पुरानो भवनको मूल ढोकैमा झुन्ड्याइएको थियो एउटा बुढो टेलिफोन । त्यसमा २५ पैसा खसाएपछि उतातिर लाग्थ्यो ट्याक्क फोन । पहिलोचोटि फोनको तार कानमा पुर्‍याउदा डरै लागेको थियो । अब त घास काट्दादेखि भारी बोक्दासम्म, भान्साकोठादेखि स्कुल र क्याम्पस कोठोसम्म हातैभरि फोनैफोन । अलिकति बढी पैसा खर्च गर्नेका लागि हातैमा छ, इन्टरनेट । इन्टरनेट भएपछि हातैमा छन् डकुमेन्ट्री र सिनेमाजति सबै । चाहिने पनि छन् र नचाहिने पनि । हेर्नैपर्ने पनि हेरिएका छन् र हेर्नै नपर्ने त झन् कति हेरिएका छन् कति । जे होस्, विश्व सञ्चारजगत्मा उपलब्ध कुनै पनि कुनाको जुनसुकै खबर थाहा पाउनका लागि अब कतै जानुपर्दैन । न बजार न त हुलाक जानुपर्छ । न दूरसञ्चार संस्थान नै दगुर्नुपर्छ । सबै कुरा घरमै बसीबसी । सबै कुरा हिड्दाहिड्दै । त्यस्तै आङ्खनै कुरा पनि भनेजति राख्न सकिन्छ इन्टरनेटमा निःशुल्क विश्वभरि । कति सजिलो भयो दुनिया । उपलब्ध सञ्चारको अत्यधिक उपयोग वा दुरुपयोगले ल्याउने शारीरिक तथा मानसिक समस्या त आङ्खना ठाउमा छदैछन् ।
टेलिभिजन र रेडियोका कुरा पनि त्यस्तै छन् । जति हेरे पनि भो, जति सुने पनि भो, अहोरात्र चाहिएजति सूचना र मनोरञ्जन । टिभी त बरु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसका लागि बिजुली पनि अनिवार्य चाहिन्छ तर रेडियोले त धुमधामै गरेको छ नेपालमा । भर्खरै मात्र दक्षिण एसियामै पहिलो सामुदायिक रेडियो चलाउने नेपाल वातावरण पत्रकार समाजको सामुदायिक रेडियो सेवा केन्द्रका संयोजक रघु मैनालीले युनेस्कोको ठूलै पुरस्कार हात पारे । अहिले देशभरि छन् रेडियो । ज्ञानेन्द्रको निरंकुश शासनकालदेखि ०६३ को जनआन्दोलनसम्म नेपालका सामुदायिक रेडियोले त क्रान्ति नै गरेका हुन् । केही लुक्न र छिप्न दिएनन् । एउटा रेडियो हातमा भएपछि न चाहियो बिजुली न पछि बन्द र हड्तालको कुनै असर । यसैले भनिएको हो आज, सूचनाको क्रान्ति । पत्रपत्रिकाको बिगबिगी त्यस्तै छ । घरघरमा पत्रिका । हातहातमा पत्रिका । गाउ र नगरदेखि सहरसम्म । लेकदेखि बे“सीसम्म । ‘कति धेरै हुन् हउ यी पत्रिकाहरू पनि, जता हेर्‍यो त्यतै पत्रिका, अब त झर्को पनि लागिसक्यो’ भन्ने गृहिणीहरू मैले धेरै देखेको छु ।
किनकि पितृसत्तात्मक समाजको पुरस्कार नै भनौ, घरको सारा सरसफाइ र थान्कोमुन्को सामान्यतः गृहिणीकै भागमा पर्ने भएपछि यसो भन्नु स्वाभाविकै हो । कुरा रह्यो, हामीलाई कति चाहिन्छ सूचना ? कति चाहिन्छ हामीलाई रेडियो र टिभी ? अनि कति चाहिन्छ पत्रपत्रिका, इमेल र इन्टरनेट ? समस्या के भने, यसको कुनै सीमा रहेन । हुने र सक्नेलाई जति भए पनि हुने र यसैले बढायो पनि अल्छीपन र विकृति । यसले पारिवारिक प्रेम र सामाजिक सम्बन्ध घटेको त झन् हिसाबै छैन । उता नहुनेलाई केही न केही, सधै सूचनाको छटपटी । एउटा समय थियो, सूचनै नभएर पागल । के हुदैछ वल्लो गाउ र पल्लो गाउ, के हुदैछ सिमानावारि र सिमानापारि अर्थात् के हुदैछ विश्वमा, थाहा पाउनै गाह्रो । अहिले जताततै सूचनैसूचना, समस्या छ केलाउन, खेलाउन र पचाउनै साह्रो । यस्तै सूचनाको सागरमा उदाएको छ, साझामञ्च र मैदानका रूपमा सूर्यरूपी किरण छर्न भनेर अहिले ‘सौर्य’ पत्रिका ।
मलाई पनि नियमित रूपमा केही हप्ता पढेपछि लाग्यो, यसको रूप, रङ र शैली अलिक फरक छ । यसमा धेरै साझा कुरा र साझा विचार छन् । मानिस पनि साझा छन् । सूचनैसूचनाको यस महासागरमा कस्तो सूचना किन ? कस्ता लेख र सरसामग्री किन ? के राजनीति मात्र हो त समाचार, अनि लेखदेखि सम्पादकीयसम्म ? अवश्य होइन । म पनि नेपाल र नेपालीको विकास र समृद्धिसग सम्बन्धित दैनिक राजनीतिभन्दा अलिक फरक विषय लेख्ने जमर्को गर्नेछु । बेलामौकामा लोकतन्त्रदेखि मानवअधिकारसम्म, संविधानदेखि समाधानसम्म, विकासदेखि वातावरणसम्म, जलस्रोतदेखि ऊर्जासम्म, देशदेखि विदेशसम्म अनि गाउदेखि सहरसम्मका विभिन्न रोचक, खोजमूलक एवं विश्लेणसहितका विचारोत्तजक सामग्री लिएर आउनेछु ।

प्रतिक्रिया