विद्यालय तहमा ३३ लाख पुस्तक अभाव

काठमाडौं, शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय तहमा ३३ लाख पुस्तक अभाव देखिएको छ । विद्यार्थीले पुस्तक नपाइएको गुनासोपछि जनक शिक्षा सामग्री केन्द्रले ३३ लाख पुस्तक छाप्न बा“की रहेको र केही दिनमै अभावपूर्ति गर्ने जनाएको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक रामचन्द्र सिलवालले आवश्यक एक करोड ९७ लाख थान पाठ्यपुस्तकमध्ये एक करोड ६३ लाख थान छापिसकिएको बताए । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले बुधबार शिक्षा मन्त्रालयमा गरेको कार्यक्रममा प्रबन्ध सञ्चालक सिलवालले भने, ‘गत वर्ष एक करोड ५३ लाख थान बिक्री भएका थिए, यो वर्ष अघिल्लो वर्षभन्दा बढी छपाइ भइसकेको छ ।’ बैंकबाट ऋण लिएर केन्द्र सञ्चालन भइरहेकाले धेरै छाप्न नसकिएको उनको भनाइ थियो । विभागले समयमै पाठ्यपुस्तकका लागि रकम निकासा गरे पनि यस वर्ष  सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । शिक्षासचिव किशोर थापाले केन्द्रलाई दिनरात पुस्तक छपाएर काम सक्न निर्देशन दिइएको बताए ।
‘विद्यार्थीको हातमा पुस्तक थमाइदिने काम प्रधानाध्यापकको हो,’ सचिव थापाले भने, ‘समयमै नकिनेर पुस्तक नपु¥याउनु गम्भीर अपराध हो, त्यस्तालाई हामीले निगरानी गरेका छौं ।’

प्रतिक्रिया