सडक विस्तारले बढायो ‘करेन्टको खतरा’

काठमाडौं, ६ वैशाख । विरोध र समर्थनका बीच काठमाडौं उपत्यकामा सडक विस्तार अभियान चलिरहेको छ । बढ्दो सवारी साधनलाई व्यवस्थित गर्न थालिएको विस्तारलाई सकारात्मक मानिए पनि सडक विस्तारसगै विद्युत् लाइन अव्यवस्थित हुदा ‘करेन्टको खतरा’ बढेको छ ।
घर भत्काइएका स्थानमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन व्यवस्थित गर्न सकेको छैन । तत्काल विद्युत् र पोल निर्माणमा प्राधिकरणको नियम बाधक बनेको छ भने करेन्टको खतरा बढेको छ । ट्रान्समिटरबाट करेन्ट लाग्ने, आगलागी हुने र कतिपय सडकका बीचका पोलमा सवारी साधन ठोक्किएर दुर्घटना हुने खतरा बढेका छन् । ‘११ हजार भोल्टको विद्युत् लाइनमा हावाले छोए मात्र करेन्ट लागेर धेरैको ज्यान जान सक्छ, साना भोल्टका लाइनमा पनि खतरा उत्तिकै छ, तर सडक विस्तार अधिकांश ठाउमा पूरा नहुदा करेन्टको खतरा बढेको छ ।’–प्रँधिकरण काठमाडौं क्षेत्रीय कार्यालयका निर्देशक जुजुभाइ रञ्जितले थपे–‘सडक विस्तारपछि तुरुन्तै विद्युत् प्रसारण लाइन व्यवस्थित गर्न नसक्दा करेन्टले धेरैको ज्यान जान खतरा उत्तिकै छ ।’
सडक विस्तारलगत्तै विद्युत्को पोल र लाइन व्यवस्थित गर्न टेन्डर प्रक्रिया पनि समस्या बनेको छ । टेन्डर आह्वानमा एक महिना र प्रक्रिया पुर्‍याएर अघि बढ्दा दुई महिनाभन्दा बढी लाग्छ । ‘टेन्डर प्रक्रियामा जादा समस्या देखिएको छ, त्यसकारण सरकारले सडक विस्तार गरेका क्षेत्रका लागि पोल र लाइन व्यवस्थित गर्न विशेष खर्च स्वीकृतिमार्फत बजेट बाडफाड गरी तुरुन्त काम अघि बढाउनुपर्छ,’–प्राधिकरणका एक कर्मचारीले भने, ‘जति बनाउन ढिलाइ गरियो, त्यति करेन्टबाट हुने क्षतिको खतरा बढ्छ ।’ एक लाख रुपियाभन्दा बढीको काम गर्न टेन्डर गर्नुपर्ने नियम छ । सर्वसाधारणले वरिपरिका अस्तव्यस्त विद्युत् लाइन बनाउन प्राधिकरणमा आग्रह गरेका छन् तर लागत स्वीकृति गर्ने र टेन्डर गर्ने प्रक्रिया तथा सडक विस्तार पूर्ण नहुदा छिटो काम गर्न सक्ने अवस्था छैन ।
काठमाडौंका ३० स्थानमा सडक विभागले सडक विस्तार गरिरहे पनि चार ठाउमा मात्र विस्तार पूरा भएको छ । ती स्थानमा प्राधिकरणले पोल र तार व्यवस्थित गरिसकेको छ । आंशिक सडक विस्तार सकिएका ठाउमा पनि प्राधिकरणले पोल गाड्ने काम सकेको छ तर अधिकांश ठाउमा सडक विस्तार नसकिएकाले विद्युत् लाइन व्यवस्थित भएको छैन । प्राधिकरणका अनुसार, सडक विस्तारस“गै एक हजार दुई सय ५७ पोल गाड्नुपर्नेमा पाच सय २० पोल मात्र गाडिएका छन् ।
सडक विस्तारपछि ढल, खानेपानी, टेलिफोनको अवस्था हेरेर मात्र विद्युत् लाइन प्रसारण व्यवस्थित गर्न सकिन्छ । ‘सडक विस्तारसगै सबै क्लियर भए सात दिनमा विद्युत् व्यवस्थित गरिदिन्छौ,’ रञ्जितले भने । खाल्टाखुल्टी, पोल गाड्ने ठाउको अभावले विद्युत् पोल र लाइन व्यवस्थित गर्न नसकिएको प्राधिकरणले जनाएको छ । ‘घरका झ्यालबाट ११ हजार भोल्टको तार लैजान भएन, घरभित्र लगेर ट्रान्समिसन राख्नु पनि भएन, सडक विस्तारसगै विद्युत् लाइनमा आउने खतराबारे कसैले चासो दिएनन्,’–प्राधिकरणका एक अधिकारीले आक्रोश पोखे–‘विद्युत्बाट करेन्ट लागेर मान्छे मरे, बिजुलीको पोलमा गाडी ठोकिए प्राधिकरण घेराउ गर्छन्, तोडफोड गर्छन्, तर यसबारे कसले सोच्ने ?’ सडक विस्तार सुरुपछि सबै पूरा गरेर मात्र छाडे लाइन विस्तारमा समस्या नहुने उनको तर्क थियो ।
विद्युत् पोल र लाइनको कार्य अगाडि बढाउन बुधबार प्रधानमन्त्री कार्यालयमा प्राधिकरण, भौतिक योजना तथा निर्माण मन्त्रालय र प्रधानमन्त्री कार्यालयका प्रतिनिधिबीच छलफल भएको थियो । छलफलमा दुई दिनभित्र निरीक्षण गर्ने र समस्या समाधानका लागि पहल गर्ने सहमति भएको छ ।
सडक बत्ती सुधार कार्यक्रमअन्तर्गत सडक फराकिलो बनाउने क्रममा विद्युत् लाइन र पोल व्यवस्थित गर्न साढे पाच करोड रुपिया छुट्याइएको काठमाडौं क्षेत्रीय कार्यालयका लेखा प्रमुख सूर्यप्रसाद सिवाकोटीले जानकारी दिए । प्रधानमन्त्री आफैले सडक विस्तारमा चासो दिएकाले तत्काल बजेट कम भए पनि अरु रकम दिने आश्वासन आएकाले उपत्यकाको विद्युत् व्यवस्थित गर्न बजेट भने बाधक हुने देखिएको छैन ।

प्रतिक्रिया