कांग्रेस/एमाले समान धारणा बनाउने प्रयासमा

काठमाडौँ, ६ वैशाख । दुई विपक्षी दल कांग्रेस र एमालेले संविधान लेखनका क्रममा देखिएका विवादित बिषयमा समान धारणा बनाएर जाने सहमति कायम गरेका छन् ।

सिंहदरवारमा आज बसेको कांग्रेस र एमालेका प्रमुख नेताहरुको बैठकले राज्यको शासकीयस्वरुप, राज्य पुनर्संरचना, निर्वाचन प्रणाली, न्याय प्रणाली लगायतका विषयमा एउटै धारणा बनाउने निष्कर्षमा पुगेका हुन् । उनीहरुले यस बिषयमा भोलि पुनः बसेर ठोस सहमति गर्ने नेताहरुले बताएका छन् ।

दलहरूबीच ७ देखि ८ प्रदेशका बीचमा राज्य पुनर्संरचना गर्ने र त्यसमा पहिचान तथा सामथ्र्यलाई आधार बनाउने आन्तरिक सहमति भइसकेको छ । बिवादित बिषयमा एकमुष्ठ निष्कर्षमा पुग्न छलफल केन्द्रीत भएपनि पुनः बसेर के गर्ने भन्नेमा सहमति खोजिने एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

शासकीयस्वरूपमा कांगे्रसले संवैधानिक राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा अडिग रहँदै आएको छ भने एमाले भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित राष्ट्रपति हुनुपर्ने पक्षमा रहेको छ ।

कांगे्रस नेता अर्जुननरसिंह केसीले शासकीयस्वरुप, निर्वाचन प्रणाली, राज्य पुनर्संरचनाका विषयमा दुई दलबीच समान धारणा कसरी बनाउन सकिन्छ भन्नेमा छलफल भएको बताए । उनले त्यस बिषयमा अन्तिम टुङ्गो लाग्न नसकेको बताए ।

कांगे्रसले दुई छिमकी मुलुक चीन र भारत जोडिने गरी पुनर्संरचना गर्नुपर्नेमा जोड दिएको छ । एमालेले पहिचानका आधारमा राज्यको नामकरण गर्नु भन्दापनि सामथ्र्यका आधारमा थोरै प्रदेश बनाउनुपर्ने सुझाव प्रस्तुत गर्दै आएको छ ।

प्रतिक्रिया