वैद्य समूहको प्रतिकार गर्नुसः अध्यक्ष दाहाल

काभ्रे, ६ वैशाख । एकीकृत माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समुहले गाउँ तहमा समेत कमिटी गठन गर्न लागेपछि संस्थापन पक्षले आज काभ्रेमा आफू निकटका नेता कार्यकर्ताको राजनीतिक प्रशिक्षण चलाएको छ ।

काभ्रेको बनेपामा निर्माणाधिन कार्टुन कारखानामा आज संस्थापन समूहले गोप्य राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको  छ । अध्यक्ष पुष्पकमल दाहाल, ताम्सासलिङ्ग राज्य समिति इन्चार्ज अग्नि सापकोटा, राज्य समिति सेक्रेटेरी शमसेर राइ, केन्द्रिय सदस्य प्रमाना, उर्जा राज्यमन्त्री सूर्यमान दोङ्ग लगायतले राजनीतिक प्रशिक्षण दिएका छन् । प्रशिक्षणमा वैद्य समुहले बनाएका समानान्तर कमिटीको प्रतिकार, नयाँ जिम्मेवारी, कार्यकर्ताको सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिईएको छ ।

प्रशिक्षणमा सेना समायोजनमा नपरेका पूर्व लडाकुहरुलाई दिने जिम्मेवारी र भूमिका, संविधान जारी भए लगत्तै हुने निर्वाचनमा कब्जा जमाउन अपनाउनुपर्ने रणनीतिका विषयमा समेत अध्यक्ष दाहालले प्रशिक्षण दिएको सहभागीहरुले बताएका छन ।

शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति राख्ने सहमति भएको भन्दै अध्यक्ष दाहालले पार्टीले राष्ट्रपतिको निर्वाचनमा कब्जा गरेरै भएपनि जित हासीले गर्ने योजना कार्यकर्तालाई सुनाएका छन् । उनले राष्ट्रपतिमा माओवादीले जितेपछि मात्रै द्वन्द्वका सपना पुरा हुने आश्वासन दिएका छन् ।

अत्यन्तै कडा सुरक्षा घेरा भित्र भएको प्रशिक्षणमा भाषण रेकर्ड, टिपोट, दुई जनावीच कुराकानी, शौचालय जाँदा २ जना लाई एक साथ जान दिईएको थिएन ।

गेटबाट प्रशिक्षण हलमा प्रवेश गर्दा शरीर खानतलासी र झोला जाँच गरेर मात्रै सहभागी गराइएको थियो । प्रशिक्षणमा पार्टी फुटिसकेको तर घोषणा हुन बाँकी भएकाले कमिटीहरुमा सोही अनुसारको संगठनात्मक संरचना तयार गर्न दाहालले निर्देशन दिएका छन् ।

संस्थापनले प्रशिक्षणमा सहभागी नगराएपछि बैद्य समूहले रोशीको कटुञ्जेमा र कोशिपारीको पोखरीचौरीमा सांस्कृतिक कार्यक्रम मार्फत संस्थापनको भण्डाफोर गर्ने जनाएको छ ।

प्रतिक्रिया