सहमतीय सरकार बनाउन राष्ट्रपतिको सुझाव

काठमाडौं, ६ वैशाख । राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री बावुराम भट्टराईलाई नयाँ संविधान राष्ट्रिय सहमतिको सरकारले जारी गर्दा उपयुक्त हुने सुझाव दिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान भएको भेटबार्ताका क्रममा राष्ट्रपति यादवले सरकारलाई राष्ट्रिय स्वरुप दिन आग्रह गरेको प्रधानमन्त्रीका सञ्चार सल्लाहाकार रामरिझन यादवले जानकारी दिए । राष्ट्रपति यादवलाई उदृत गर्दै उनले भने, ‘शान्ति प्रक्रियामा भएको प्रगति अनुसार संविधान बनाउन लाग्नुस, नयाँ संविधान राष्ट्रिय सहमतिको सरकारले जारी गर्दा अत्यन्तै उपयुक्त हुन्छ ।’

राष्ट्रपति यादवको आग्रह पछि प्रधानमन्त्री भट्टराईले आफू राष्ट्रिय सहमतिको सरकार बनाउन कृयाशिल रहेको बताए । उनले सहमतिका लागि प्रयास गर्दा गर्दै पनि ठोस सहमति नभएको भन्दै यस बिषयमा छिटो टुङगो लाग्ने बताएका छन् ।

शान्ति प्रक्रियामा जस्तै संविधानका बिवादित बिषयमा पनि सहमति खोज्न सुझाव दिएका राष्ट्रपति यादवले भट्टराई नेतृत्वमा भएको शान्ति प्रक्रिया सम्बन्धी निर्णय र प्रयासबाट आफू अत्यन्तै खुशी भएको उल्लेख गरे ।

शान्ति प्रक्रियामा भएका प्रगतिका बिषयमा राष्ट्रपति यादवले प्रधानमन्त्री भट्टराईलाई बधाई समेत दिएका थिए ।

प्रधानमन्त्री भट्टराईले संविधानका बिवादित बिषय राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्यायप्रणाली, नागरिकता लगायतमा सहमतिको नजिक पुगेको भन्दै संविधान तोकिएकै समयमा जारी हुने विश्वास राष्ट्रपति यादवलाई दिलाएका थिए ।  (फाईल तस्बिर)

प्रतिक्रिया