सिन्धुपाल्चोक, ५ वैशाख । सरकारले दुई वर्षअघि सिन्डिकेट खारेजको घोषणा गरे पनि अरनिको राजमार्गमा नेपाल ट्रक कन्टेनर व्यवसायी संघको एकलौटीपन कायमै रहेको छ ।
संघले तातोपानीदेखि काठकमडौ सम्मको एक सय १४ किलोमिटर दुरीमा माल ढुवानी गरेबापत तीन लाख ५० हजार रुपियासम्म भाडा असुली गर्छ । यो भाडादर दुरीका हिसाबले विश्वकै सबैभन्दा महंगो हो । यो सडकखण्डमा कन्टेनर सञ्चालन गर्न नेपाल ट्रक कन्टेनर व्यवसायी संघमा आबद्ध हुनै पर्दछ । जसका कारण अन्य कन्टेनर व्यवसायी, साना ठूला व्यापारी तथा सर्वसाधारण मर्कामा परेका छन् ।
कन्टेनर व्यवसायी संघ स्थापना हुनुपूर्व कन्टेनरको भाडा सात हजार पाच सय रुपिया मात्रै थियो । दुई वर्षअघि तीन लाख ५० हजार भाडा निर्धारण गरेको संघले व्यापारीसग चरम भाडा विवाद भएपछि ९० हजारमा झारेको थियो तर अहिले पुनः पुरानै मूल्य कायम गरेको छ । संघमा अहिले १५ सय वटा कन्टेनर आबद्ध छन् ।
संघको एकाधिकारकै कारण राजस्व संकलनमा समेत असर परेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत निर्मलहरी अधिकारी बताउछन् । ‘कन्टेनरको भाडादर महंगो भएकै कारण व्यापारी विस्थापित भएका छन्,’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको छ ।’
कन्टेनरलाई व्यवस्थित गर्ने भन्दै संघले आलोपालो प्रणाली बनाएको छ । उसले बनाएको प्रणालीअनुसार एउटा कन्टेनरले माल बोक्न तीन महिना कुर्नुपर्छ । संघका अध्यक्ष राजकुमार पौडेलका अनुसार साघुरो सडक, पार्किङ अभाव, पहरो चिरेर बनाएको जोखिमपूर्ण सडकमा कन्टेनर व्यवस्थापन गर्न पनि आफूहरूले अन्य कन्टेनरलाई खुला प्रतिस्पर्धामा आउनदिन नसकेको बताए । तर, एकै व्यवसायीको ५० भन्दा बढी कन्टेनरसमेत रहेका छन् ।
प्रतिक्रिया