झन् घट्दै लडाकु

काठमाडौं, ५ वैशाख । अधिकांश लडाकुले स्वैच्छिक अवकाश रोजेपछि अब शिविरमा तीन हजार पाच सय सात लडाकुमात्र बाकी छन् । त्यसमा पनि सातौ डिभिजनको कैलाली तालबन्द मुख्यालयमा पुनःवर्गीकरण बाकी छ । मंगलबारसम्म ६ वटा शिविरमा सकिएको पुनःवर्गीकरणमा अवकाश रोज्ने लडाकुको संख्या ६ हजार दुई सय पुगेको छ ।
शिविरहरूमा रहेका नौ हजार सात सय सात लडाकुमध्ये छ हजार पाच सय लडाकुलाई सेना समायोजनमा लैजाने सहमति दलहरूबीच भए पनि चार दिनयता भएको पुनःवर्गीकरणमा अधिकांशले अवकाश रोजेका हुन् ।
इलाम चुलाचुलीमा रहेको माओवादी लडाकुको पहिलो डिभिजनका पाच सय ४५ लडाकुले स्वैच्छिक अवकाश रोजेका छन् । शिविरका दुई सय ५१ ले मात्र समायोजन रोजेका छन् ।
सिन्धुली दुधौलीस्थित लडाकुको दोस्रो डिभिजनमा पुनःवर्गीकरण प्रक्रिया सकिएको छ । डिभिजनका सिपाहीदेखि सहकमान्डरसम्मले अवकाश रोजेका छन् । सहकमान्डर उत्तम पाण्डे र ब्रिगेड कमान्डरसहित चार सय ४६ लडाकुले स्वैच्छिक अवकाश लिएका छन् । डिभिजनमा आठ सय सात लडाकु बस्दै आएकामा बीचमै दुईले छाडेका थिए भने ३२ लडाकु घरबिदामा रहेका थिए ।
रोल्पा दहवनस्थित पाचौ डिभिजनमा पनि लडाकु पुनःवर्गीकरण सकिएको छ । मंगलबार साझसम्म भएको पुनःवर्गीकरणमा सात सय ६३ लडाकुले स्वैच्छिक अवकाश रोजेर बिदा लिएका छन् । पहिलो समायोजनका एक हजार दुई सय ८७ मध्ये अब पाच सय २४ बाकी छन् । अवकाश रोज्नेमा ८८ महिला छन् ।
यसैगरी, छैटा डिभिजन सुर्खेतमा लडाकु पुनःवर्गीकरणको काम मंगलबार सकिएको छ । डिभिजनमा रहेका एक हजार पा“च सय ५९ लडाकुमध्ये नौ सय ८७ ले स्वैच्छिक अवकाश लिएका छन् । शिविरमा पाच सय ७२ समायोजन प्रक्रियामा जाने भएका छन् ।
अवकाश लिनेहरूको बिदाइ सकिएको र समायोजनमा जानेको प्रक्रिया सुरु हुने सेना समायोजन विशेष समितिका डा.दीपकप्रकाश भट्टले जानकारी दिए ।
यस्तै, कैलालीस्थित सातौ डिभिजनको मुख्यालय तालबन्दमा बुधबार वर्गीकरणको काम सुरु हुने बताएको छ । मंगलबार सहायक शिविरमा भएका वर्गीकरणमा थप तीन सय ३८ ले अवकाश रोजेका छन् । सोमबार सात सय ३८ ले अवकाश रोजेका थिए । एक हजार सात सय ६२ लडाकु रहेको शिविरमा अब ६ सय ८६ लडाकु छन् भने बुधबार मुख्यालयमा गरिने वर्गीकरणमा पनि अधिकांश समायोजन रोज्ने पक्षमा रहेको बुझिएको छ ।
यता, माओवादी तेस्रो डिभिजन शक्तिखोरबाट समायोजनमा जाने लडाकुलाई शिविरभित्र प्रवेश गर्नका लागि छुट्टै गेट पासको व्यवस्था गरिएको छ ।
पहिलो चरणमा समायोजन रोजेर पछिल्लो वर्गीकरणमा स्वैच्छिक अवकाश लिने लडाकु र समायोजनमा जान चाहने लडाकुको पहिचानका लागि सेनालाई चिन्न सहज होस् भनेर मंगलबार गेटपास दिइएको छ ।
समायोजन रोज्ने पनि अधिकांश लडाकु शिविरबाहिर छन् । सेना समायोजन विशेष समिति सचिवालय संयोजक बालानन्द शर्माले समायोजन रोज्ने लडाकुको परिचय यकिन गर्न गेटपास दिइएको बताए ।
(युवराज विवश, झापा, माधव देवकाटा, सिन्धुली, प्रतिमा सिलवाल, चितवन, रीता लामा, दाङ, लक्ष्मण भण्डारी, सुर्खेत र
दीपक ओली, कैलाली)

प्रतिक्रिया