जुम्ला, ५ वैशाख । अर्को यातायात व्यवसायीले काउन्टर राखेको विरोधमा कर्णाली यातायात व्यवसायी समितिले एकसातादेखि कर्णाली राजमार्ग अवरुद्ध गरेको छ ।
मध्यपश्चिमाञ्चल यातायात व्यवसायी समितिले १ वैशाखमा काउन्टर राखेर सेवा सुरु गरेपछि कर्णालीले २ वैशाखदेखि राजमार्ग अवरुद्ध गरेको हो ।
बन्द यातायात सुचारु गर्न छलफल भए पनि निष्कर्षमा नपुगेको जुम्लाका सहायक सिडिओ पूर्णप्रसाद न्यौपानेले बताए । उनले दुई यातायात व्यवसायी कम्पनीको विवाद मिलाउन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघलाई अनुरोध गरिएको बताए । उनले प्रशासनले कानुनी कारबाही अगाडि बढाउदै यातायात सुचारु गर्ने तयारी गरेको जानकारी दिए ।
कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष मीनबहादुर थापाले मध्यपश्चिमका कर्मचारीले हतियार प्रदर्शन गरेर सवारीसाधनमा तोडफोड गरेको तर प्रशासनले कारबाही नगरेकाले चक्काजाम र राजमार्ग अवरुद्ध गरेको बताए ।
दुई समितिको विवादका क्रममा कर्णाली यातायातका मजदुरले कुडारी नजिक पुलका काठ झिकेर यातायात अवरुद्ध गरेको इन्स्पेक्टर योगेन्द्रबहादुर हमालले बताए । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मध्यपश्चिमाञ्चल यातायातको बस चलिरहेका बेला कर्णाली यातायातका मजदुरले लाम्रानजिक बाटामा बस तेस्र्याएर अवरोध गरेका थिए । यसै क्रममा मध्यपश्चिमका मजदुरले कर्णालीको ना ४ ख ४९७० नम्बरको बसमा तोडफोड गरेका हुन् ।
मध्यपश्चिम समितिका काउन्टर इन्चार्ज महेश महतले कर्णालीस“ग वार्ता गर्न तयार रहेको बताए । उनले काउन्टर खोलेर यातायात सेवा सुचारु गरिसकेकाले सहमतिमा यातायात सुचारु गर्न तयार रहेको बताए । तीन साताअघि दुई समितिबीचको विवादमा झडप हुदा तीन प्रहरी घाइते भएका थिए भने कर्णालीका दुई र मध्यपश्चिमको एउटा बस तोडफोड भएको थियो । राजमार्गमा एकलौटी गरिरहेको कर्णाली यातायात व्यवसायी समितिले गरेको बन्दका कारण कर्णाली राजमार्गका यात्रु मारमा परेका छन् भने स्थानीय प्रशासनले पनि वार्ताका नाममा एक सातादेखि यात्रुलाई अलपत्र पार्नेलाई कारबाही गर्न सकेको छैन ।
प्रतिक्रिया