वैद्य पक्षद्वारा समानान्तर संगठन निर्माण

काठमाडौं, ५ वैशाख । एकीकृत नेकपा (माओवादी)भित्र वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले नेतृत्व गरिरहेको संस्थापनविरोधी समूह अन्ततः समानान्तर पार्टी संरचना निर्माणमा लागेको छ । सो पक्षले सशस्त्र युद्धमा जानुअघिकै जस्तो समानान्तर सांगठनिक संरचना गठन गर्ने कामलाई तीव्रता दिएको छ । वैद्य पक्षले सबै राज्य समितिका इन्चार्ज, सहइन्चार्ज र सेक्रेटेरी नियुक्त गरिसकेको छ भने जिल्ला तथा जनवर्गीय संगठनमा पनि समानान्तर कमिटी निर्माणको काम चलिरहेको स्रोतको भनाइ छ । केन्द्रमा पनि छुट्टै संरचनाका लागि सो पक्षले गृहकार्य सुरु गरिसकेको छ ।
वैद्यपक्षीय नेताहरूका अनुसार केन्द्रमा वैद्यलाई संरक्षकको भूमिका दिइनेछ । अध्यक्ष भने अहिलेका महासचिव रामबहादुर थापालाई बनाइने भएको छ । सिपी गजुरेल र देव गुरुङलाई उपाध्यक्ष बनाउने सहमति भइसकेको छ । स्रोतका अनुसार, नेत्रविक्रम चन्दले महासचिवको पद सम्हाल्नेछन् भने पम्फा भुसाल र खड्गबहादुर विश्वकर्मा सचिव हुनेछन् ।
वैद्य पक्षले मुलकलाई तीनवटा कमान्डमा विभाजन गरी इन्चार्जसमेत तोकेको छ । सो खेमाले राज्य समितिमा भने अहिलेकै संरचना यथावत् राखी छुट्टै इन्चार्ज र सेक्रेटरी तोकेको छ ।
१ फागुन ०५२ मा सशस्त्र विद्रोहमा जानुअघि माओवादीले समग्र भूगोललाई तीनवटा कमान्डमा विभाजन गरेको थियो । शान्ति प्रक्रियामा आएपछि भने एमाओवादीले भूगोललाई चारवटा कमान्डमा परिणत गरेको हो । वैद्य पक्षले पूर्वी, मध्य र पश्चिम गरी तीनवटा कमान्ड निर्माण गरेर इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।
समानान्तर संरचनाअनुसार सचिव गजुरेलले पूर्वी कमान्डको इन्चार्ज पाएका छन् । सो राज्य समितिको सहइन्चार्जमा पोलिटब्युरो सदस्य  विश्वकर्मा तोकिएका छन् । संयुक्त संरचनामा पनि गजुरेल पूर्वी कमान्ड इन्चार्ज नै थिए भने विश्वकर्मा भेरी–कर्णाली राज्य समिति इन्चार्ज थिए । वैद्य पक्षले मध्य कमान्डको इन्चार्ज महासचिव  थापालाई र सहइन्चार्ज स्थायी समिति सदस्य गुरुङलाई बनाएको छ । गुरुङ एमाओवादी संसदीय दलका प्रमुख सचेतक पनि हुन् ।
त्यसैगरी, पश्चिम कमान्ड इन्चार्जमा स्थायी समिति सदस्य नेत्रविक्रम चन्द र सहइन्चार्जमा पोलिटब्युरो सदस्य हरिभक्त कडेललाई जिम्मेवारी दिइएको छ । एमाओवादीमा चन्द जनस्वयंसेवक परिचालन ब्युरो प्रमुख र कडेल थारुवान राज्य समिति इन्चार्ज छन् । वैद्य पक्षले आन्तरिक रूपमा समानान्तर संरचना गठन गरी आपूm पक्षधर नेताहरूलाई जिम्मेवारी दिएको भए पनि औपचारिक रूपमा भने संस्थापन पक्षस“गै दलीय बैठक छलफलमा सहभागी भइरहेको छ ।
वैद्यपक्षीय एक पोलिटब्युरो सदस्यका अनुसार सो समूहले लिम्बुवान राज्य समिति सेक्रेटरीमा वाइसिएल पूर्वी ब्युरो संयोजक इन्द्र आङबोलाई खटाएको छ । किरात राज्य समितिका सेक्रेटरीमा दीपेश राई चुनिएका छन् । एकीकृत माओवादीको संरचनामा राई वाइसिएल किरात राज्य समिति संयोजक छन् । कोचिला राज्य समिति सेक्रेटरीमा किरणकुमार राई तोकिएका छन् । किरण वाइसिएल केन्द्रीय सचिवालय सदस्य हुन् ।
त्यसैगरी, मिथिला राज्य समिति सेक्रेटरीमा रोशन जनकपुरी परिचालित छन् । यसअघि उनी जनकपुरी धनुषा जिल्ला इन्चार्ज थिए÷छन् । वैद्य पक्षले सुवास यादवलाई भोजपुरा राज्य समिति सेक्रेटरी बनाएको छ । यादव सप्तरी जिल्ला इन्चार्ज थिए । यस्तै  सो समूहले अवध राज्य समिति सेक्रेटरीमा वाइसिएल सहसंयोजक उमा भुजेललाई खटाएको छ ।
ताम्सालिङ राज्य समितिमा सेक्रेटरी अनिल शर्मा विरहीले जिम्मेवारी पाएका छन् । यसअघि विरही सहसेक्रेटरी तथा चितवन जिल्ला इन्चार्ज थिए । नेवा राज्य समितिको सेक्रेटरी दिलीप प्रजापति भएका छन् । संस्थापन पक्षले झन्डै एक वर्षअघि प्रजापतिलाई सेक्रेटरीबाट हटाएर अध्यक्ष पुष्पकमल दाहालका भाइ पर्ने नारायण दाहाललाई नेवाः राज्य सेक्रेटरी बनाएको थियो । त्यसैगरी, वैद्य पक्षले तमुवान राज्य समिति सेक्रेटरीमा श्रीनाथ अधिकारीलाई तोकेको छ । अधिकारी यसअघि त्यही राज्य समितिका सहइन्चार्ज हुन् ।
वैद्य पक्षबाट मगरात राज्य समितिका सेक्रेटरी पूर्ण घर्ती चुनिएका छन् । संयुक्त संरचनामा पनि घर्ती सेक्रेटरी नै थिए । वैद्य पक्षबाट थारुवान राज्य समिति सेक्रेटरी हरि ज्ञवाली भएका छन् । उनी कैलाली जिल्ला इन्चार्ज पनि हुन् । भेरी–कर्णाली राज्य समिति सेक्रेटरीमा भरत बम खटाइएका छन् । यसअघि बम सह–सेक्रेटरी थिए । त्यसैगरी सेती–महाकाली राज्य समिति सेक्रेटरीमा ओम पुनलाई खटाइएको छ ।
त्यसैगरी, वैद्य पक्षले लिम्बुवान इन्चार्जमा पोलिटब्युरो सदस्य नारायण शर्मा पौडेललाई पठाएको छ । संविधानसभा निर्वाचनलगत्तै पनि एमाओवादीले पौडेललाई लिम्बुवान इन्चार्ज तोकेको थियो । यतिखेर भने उनी प्रचार विभागमा छन् । किरात राज्य समिति इन्चार्ज पदम राई भएका छन् । राई संयुक्त पार्टीमा त्यही राज्य समिति सहइन्चार्ज हुन् । कोचिला राज्य समिति इन्चार्जमा सावित्री काङ्खले चुनिएका छन् । काङ्खले त्यही राज्य समितिको सेक्रेटरी थिए ।
मिथिला राज्य समिति इन्चार्जको जिम्मेवारी कृष्णदेवसिंह दनुवारले पाएका छन् । दनुवार संयुक्त पार्टीमा त्यही राज्य समितिका सेक्रेटरी थिए । मिथिलाका सह–इन्चार्ज महेन्द्र पासवानलाई भने वैद्य खेमाले भोजपुरा राज्य समितिको इन्चार्जमा सरुवा गरेको छ । त्यसैगरी, भोजपुरा राज्य समितिका सह–इन्चार्ज चन्द्रहरि सुवेदीलाई अवध राज्य समितिको इन्चार्ज बनाएको छ । अवधका सह–इन्चार्ज किसान शर्मालाई नै सो राज्य समितिको इन्चार्ज बनाउने सोच बनाएको थियो वैद्य खेमाले तर उनी १५ चैतमा भएको संस्थापन पक्षको केन्द्रीय समिति बैठकमा सहभागी भएपछि सुवेदीलाई अवधको जिम्मेवारी दिइएको हो ।
ताम्सालिङ राज्य समितिको इन्चार्ज सूर्य सुवेदी भएका छन् । सुवेदी यसअघि सह–इन्चार्ज थिए । यही राज्य समितिका सुवेदीभन्दा वरिष्ठ सह–इन्चार्ज दिनेश शर्माले भने मजदुर–किसान फाट हेर्ने जिम्मेवारी पाएका छन् । नेवा राज्य समितिको इन्चार्जमा हितमान शाक्य नै यथावत छन । त्यसैगरी तमुवान राज्य समिति इन्चार्ज श्रीराम ढकाल चुनिएका छन् । थारुवान राज्य समितिको इन्चार्जको जिम्मेवारी कुलबहादुर केसीले पाएका छन् । सो राज्य समितिका इन्चार्ज हरिभक्त कडेलले भने पश्चिम कमान्ड सह–इन्चार्जको जिम्मेवारी पाएका छन् । सेती–महाकाली राज्य समितिको इन्चार्ज धर्मेन्द्र बा“स्तोलालाई नै बनाइएको छ ।

प्रतिक्रिया