आयोगहरु बनाउदा मापदण्डमा ध्यान देउ

काठमाडौं, ५ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको हुनुपर्ने जनाएको छ ।

आयोग अध्यक्ष केदारनाथ उपाध्यायले आज सरकारलाई पत्र पठाई मेलमिलाप र वेपत्ता आयोगको विधेयक सम्बन्धमा बिभिन्न मापदण्डहरुलाई ध्यान दिन आग्रह गरेका हुन् । उनले आयोगहरु अन्तर्राष्ट्रिय मापदण्डअनुरुपकै हुनुपर्नेमा जोड दिएका छन् ।

पत्रमा सेना समायोजन प्रक्रियामा भएको प्रगतिलाई शुभसंकेतको रुपमा लिंदै उपाध्यायले यस्ता प्रयासहरु नेपालको शान्ति र संविधान निर्माणका साथै मानव अधिकार, सुशासन र लोकतन्त्रको लागि कोसेढुंगा सावित हुने बताएका छन् ।

उनले मेलमिलाप र वेपत्ता आयोगको विधेयक प्रमुख राजनीतिक दलहरुको सहमतिको विषयमात्र नरहेको भन्दै मानव अधिकारकर्मी, नागरिक समाज, द्वन्द–पीडित समाज, सञ्चारकर्मीसमेतको छलफल तथा प्रतिक्रियाको विषय भएको जनाएका छन् ।

उनले आयोगहरुका बिषयमा सम्बद्ध पक्षहरुसंग विचार–विमर्श गर्न समेत सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया