मधेसी मोर्चा मधेसबाट पतन हुन्छः यादव

काठमाडौं, ५ वैशाख । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस स्वायत्त प्रदेश विपरित संघीयतामा सहमति गरे मधेसी मोर्चा मधेसबाट पतन हुने चेतावनी दिएका छन् ।

राजधानीमा आज आयोजित कार्यक्रममा उनले मधेसी मोर्चा पद र पैसाका लागि मात्रै राजनीति गरेको आरोप लगाए । उनले भने, ‘मधेसी मोर्चा पद र पैसा दिएर नेताहरुलाई प्रयोग गर्ने योजनामा छन् ।’

‘मोर्चाका नेताहरु मधेसको नभई प्रिपेड, व्रिफकेस र डान्सबार मन्त्री भएका छन् ।’ उनले भने, ‘स्वायत्त मधेस प्रदेशको पक्ष मधेसी मोर्चा छैन ।’ अध्यक्ष यादवले जातीयताका आधारमै संघीयता हुनु पर्ने माग गरेका छन् ।

संविधानसभा बाहिर अध्यारो कोठा र रिसोर्टमा बनाएको संविधान नेपाली जनताले स्वीकार गर्ने अध्यक्ष यादवले बताएका छन् । उनले भने, ‘अध्यारो कोठमा बनाएको र भागबण्डामा बन्ने संविधान मान्य हुँदैन ।’

तमलोपा नेपालका अध्यक्ष एवम् सिंचाई मन्त्री महेन्द्र यादवले मधेसी मोर्चा स्वायत्त मधेस प्रदेशको अडानमा कायम रहेको बताए । उनले चार दिन भित्रमा सबै विवादित विषयमा सहमति बन्ने दावी गरे ।

प्रतिक्रिया